• १० भदौ २०८२, मङ्गलबार

बैंक परिवर्तन हुँदा सामाजिक सुरक्षा भत्ता बुझ्न सास्ती

blog

खोटाङ, भदौ १० गते । बैंक परिवर्तन हुँदा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका सामाजिक सुरक्षा भत्ता लिने लाभग्राही समस्यामा परेका छन् । साल्पा विकास बैंकले यसअघि वितरण गर्दै आएको दशवटा वडामध्ये पाँच वटा लाभग्राहीका लागि बैंक परिवर्तन भएपछि उनीहरु समस्यामा परेका हुन् ।

१५ वटा वडा रहेको यस नगरपालिकामा सालपा विकास बैंकले यस आवदेखि ५, ६, ७, ८, १० र ११ वडामा भत्ता वितरण नगर्ने भएको हो । वडा नम्बर ८ दोर्पाबुवालुङमा नबिल बैंक र वडा नम्बर ११ खार्मीमा एनआइसी एसिया बैंकले सामाजिक सुरक्षाभत्ता वितरण गर्ने सहमति गरे पनि सम्झौता गर्न नआएको नगरपालिकाले जनाएको छ । गत साउन १ गते नगरपालिका र बैंकबिच सहमति भएको थियो । 

तर बैंक कार्यान्वयनका लागि नआएपछि भदौ ८ गते लिखितरूपमा बैंकलाई पत्राचार गरिएको प्रवक्ता दिनेश घिमिरेले जानकारी दिनुभयो । राज्यले उपलब्ध गराउँदै आएको सामाजिक सुरक्षाभत्ता वितरण गर्ने बैंक टुङ्गो नलागेपछि लाभग्राही खाता खोल्न भनेर दिक्तेल आए पनि फर्कन बाध्य भएका छन् । भत्ता वितरण गर्ने बैंक टुङ्गो लागेका वडाका लाभग्राहीका लागि पनि नयाँ खाता खोल्न बैंकले अनिवार्य राष्ट्रिय परिचयपत्र लागू गरेपछि झनै समस्यामा परेका छन् ।

राज्यले उपलब्ध गराउँदै आएको सेवा उपभोग गर्न सास्ती भोग्नुपरेको रुपाकोट मझुवागढी नगरपालिका-११ खार्मीका ७८ वर्षीय लाभग्राही ज्ञानबहादुर राईले दुःखेसो सुनाउनुभयो । अपाङ्गता भएका व्यक्ति, ९० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक र १६ वर्षमुनिका बालबालिकाका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको छैन । तर सामाजिक सुरक्षाभत्ता तथा बैंकिङ कारोबारका लागि जिल्लामा सञ्चालित सबै बैंकले राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि लाभग्राही समस्यामा परेका हुन् । रासस