• ६ जेठ २०८१, आइतबार

आर्थिक वृद्धिदर ४.१ प्रतिशत हुने

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, वैशाख १४ गते । नेपालले ४.१ प्र्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले प्रक्षेपण गरेको छ । एसिया तथा प्रशान्त क्षेत्रका मुलुकको आर्थिक प्रक्षेपण सार्वजनिक गर्दै आईएमएफले सन् २०२२ मा नेपालले सोबराबरको आर्थिक वृद्धिदर हासिल गर्ने अनुमान सार्वजनिक गरेको हो । 

आईएमएफका अनुसार सन् २०२३ मा नेपालको आर्थिक वृद्धिदर ६.१ प्रतिशत पुग्ने अनुमान छ । सन् २०२१ म भने नेपालले २.१ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गरेको आईएमएफले जनाएको छ । 

आईएमएफको प्रक्षेपणअनुसार छिमेकी मुलुक भारतले यस वर्ष ८.२ प्रतिशतको वृद्धिदर हासिल गर्नेछ । यो एसिया तथा प्रशान्त क्षेत्रका मुलुकमध्ये सबैभन्दा उच्च हो । 

त्यस्तै, चीनको वृद्धिदर भने गत वर्षको ८.१ प्रतिशतबाट घटेर ४.४ प्रतिशत पुग्ने प्रक्षेपण छ । दक्षिण एसियाली मुलुक बङ्गलादेश र श्रीलङ्काले यस वर्ष क्रमशः ६.४ र २.६ प्रतिशत वृद्धिदर हासिल गर्ने पनि आईएमएफको प्रक्षेपण छ । 

नेपालीका मुख्य श्रम गन्तव्य मलेसियाको आर्थिक वृद्धिदरमा पनि सुधार आएर सन् २०२२ मा ५.६ प्रतिशत पुग्ने प्रक्षेपण गरिएको छ । समग्रमा एसिया तथा प्रशान्त क्षेत्रका मुलुकको औसत वृद्धिदर सन् २०२२ मा ४.७ प्रतिशत पुग्ने आईएमएफको प्रक्षेपण छ । अघिल्लो वर्ष यस्तो औसत आर्थिक वृद्धिदर ४.२ प्रतिशतमात्र थियो । त्यस्तै, आगामी वर्ष अर्थात् सन् २०२३ मा औसत वृद्धिदर ५.४ प्रतिशत पुग्ने प्रक्षेपण छ ।