राजधानी प्रवेश र बहिर्गमनको मुख्य नाका थानकोट नौबिसेबाट दिनहुँ लाखौँ यात्रु तथा दसौंँ हजार सवारी साधन ओहोरदोहोर गर्ने गर्छन् । एक आँकडाअनुसार यस नाकाबाट दैनिक झन्डै २० हजार सवारी साधन निरन्तर चलिरहन्छन् । यति विध्न सवारी साधनको आवतजावत हुने यस क्षेत्रको सडक तुलनात्मक रूपमा फराकिलो भने छैन । फलतः यहाँ घण्टौँसम्म ट्राफिक जामको समस्या देखिनु नौलो विषय होइन । यसबाट यात्रुलाई सास्ती मात्र नभई समयको बर्बादी भइरहेको छ । पेट्रोलियम पदार्थको समेत अनावश्यक खपतमा वृद्धि भएको छ । यसैगरी वस्तु तथा सेवाको मूल्यमा समेत बढोत्तरी भइरहेको यथार्थ हो । देशको यातायात क्षेत्रमा यी साना समस्या होइनन् ।
यातायात क्षेत्रको यस्ता गम्भीर समस्याको समाधानार्थ मुलुकले राष्ट्रिय गौरवको आयोजनाका रूपमा थानकोट (नागढुङ्गा) सिस्ने खोला सुरुङ मार्गको अवधारणालाई प्राथमिकता दिएर काम अगाडि बढाएको छ । विगत केही समयदेखि सुरुङ निर्माणको कार्य निकै जोडतोडले चलिरहेको छ । यसअन्तर्गत नागढुङ्गामा सुरुङ खनेर सिस्ने खोला क्षेत्रसम्म सुरुङ मार्गबाट सवारी साधन सञ्चालन गरिनेछ । यसबाट विशेषगरी सवारी साधनहरूलाई राजधानी प्रवेश तथा बहिर्गमनमा निकै सहजता हुने अपेक्षा छ । चन्द्रागिरी नगरपालिकाको टुटीपाखा काठमाडौँतर्फको सुरु बिन्दु हो भने धादिङको सुरु बिन्दु धुनिबँेसी नगरपालिकाको सिस्ने खोला हो । यस सुरुङमार्ग कुल लम्बाइ दुई दशमलव सात किलोमिटरको छ । चालीस वर्षमा भुक्तान गर्नुपर्ने गरी जापान सरकारको झन्डै साढे १६ अर्ब रुपियाँ ऋण सहयोगमा सुरु भएको यो सुरुङ निर्माणको झन्डै ५० प्रतिशत सम्पन्न भइसकेको खबर सार्वजनिक भएको छ । यसले राम्रो आशा र उत्साह जगाएको छ ।
सवारी साधन सञ्चालन हुने नेपालकै पहिलो यो सुरुङ मार्ग जापानी अन्तर्राष्ट्रिय सहयोग निकाय (जाइका) मार्फत अत्याधुनिक जापानी प्रविधिको प्रयोग गरी निर्माण भइरहेको छ । यसअन्तर्गत हालसम्म नागढुङ्गा (पूर्व) र नौबिसे (पश्चिम) तर्फबाट सुरुङ खन्ने कामले तीव्रता पाइरहेको सम्बद्ध पक्षको भनाइ छ । मुख्य सुरुङको लम्बाइ झन्डै दुई दशमलव सात किलोमिटर तथा आपत्कालीन घटनाका बखत प्रयोग गरिने सहायक सुरुङ (इभयाकुयसन टनेल ) झन्डै दुई हजार छ सय मिटर लम्बाइ रहेको छ । यस संरचनाको हालसम्म मुख्य तथा सहायक सुरुङको लगभग ५० प्रतिशत कार्य सम्पन्न भइसक्नु पक्कै पनि खुसीको विषय हो ।
अहिलेसम्मकै गतिमा सुरुङ निर्माणको कार्यले निरन्तरता पाइरहेमा राजधानीवासीले वर्षौंदेखि भोगिरहेको नागढुङ्गाको सवारी सास्तीबाट चाँडै मुक्ति पाउने छन् । दैनिक तीन चरणमा छ सय जनशक्तिले पसिना बगाइरहेको यस सुरुङ निर्माणअन्तर्गत काठमाडौंँतर्फ ‘ओभरपास’ निर्माण सम्पन्न गरी बलम्बुमा ‘फ्लाई ओभर’को निर्माण गरिनेछ । यो संरचनाको निर्माण जसको थालनी भइसकेको छ । यस्तै थप सहजताका निम्ति धादिङतर्फ निर्माण गरिनुपर्ने ‘अण्डरपास’ समेत बनिसकेको छ । प्रकाश व्यवस्थाका लागि विभिन्न खण्डमा जेट पङ्खाहरू जडान गरिनेछ । यस सुरुङ मार्गका मुख्य र सहायक खण्डमा सहजता एवं सुरक्षाका दृष्टिकोणबाट सहायक बाटो (क्रस प्यासेज) का व्यवस्था गरिनु अन्तर्राष्ट्रिय मान्यता एवं मापदण्ड नै हो । यसै आधारभूत मान्यतालाई आधार बनाएर यस सुरुङ मार्गमा पनि प्रत्येक ३७५ मिटरको दूरीमा सातवटा क्रस प्यासेजको निर्माण सम्पन्न गरिनेछन् । सबै अन्तर्राष्ट्रिय मापदण्डको पालना गरेर गुणस्तरीयता दृष्टिबाट नेपालको यो पहिलो सुरुङमार्गलाई सुरक्षित तथा स्तरीय बनाउन कुनै कमी नराखिएको प्रष्ट हुन्छ ।
कोरोना (कोभिड–१९) महामारीको सङ्क्रमण तथा यसबाट सिर्जित बन्दाबन्दीका कारण साढे तीन वर्षको निर्धारित समयभन्दा थप तीन महिना समय लाग्नेछ । सुरुङ मार्गले राजधानी तथा वरिपरिको सामाजिक आर्थिक पक्षमा निकै सकारात्मक प्रभाव पार्ने सम्भावनालाई अभिवृद्धि गरेको छ । जापानको आर्थिक तथा प्राविधिक सहयोग रहेका कारण नेपाली प्राविधिकहरूका लागि नयाँ ज्ञान र अनुभव सिक्ने यो अवसरसमेत हुनेछ । विश्वमै उच्च गुणस्तरीय मानिने जापानी सुरुङ मार्ग प्रविधिको ज्ञान नेपाली प्राविधिकका लागि उपयोगी हुनेछ । यस किसिमको प्रविधि नेपालजस्तो पहाडै पहाडको मुलुकका लागि निकै लाभप्रद हुनेछ । आउँदा दिनमा नेपाली पुँजी, ज्ञान र प्रविधिले सुरुङ मार्ग निर्माण गर्ने राष्ट्रिय उद्देश्य हुन सक्ने देशहितमा समेत हुनेछ ।