• १९ असार २०८१, बुधबार

उत्साहपूर्वक मनोनयन दर्ता

blog

लुम्बिनी ब्युुरो

लुुम्बिनी, वैशाख १३ गते  । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि दलहरूले लुम्बिनी प्रदेशमा उत्साहपूर्वक मनोनयन दर्ता गरेका छन् । आइतबार र सोमबार दुुई दिन मनोनयन दर्ताको समय निर्वाचन आयोगले तोकेको थियो । आइतबार लुम्बिनी प्रदेशमा न्यून मात्र मनोनयन दर्ता भएको थियो । सोमबार दलहरूले बजागाजा र -यालीसहित उम्मेदवारी दर्ता गराएका हुुन् । 

प्रदेशका बाह्र जिल्लामध्ये केहीमा सत्तारूढ पाँच दलीय गठबन्धनले साझा रूपमा उम्मेदवारी दिएका छन् भने केही जिल्ला र स्थानीय तहमा छुुट्टा छुुट्टै उम्मेदवारी दिएका छन् । प्रदेशमा नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नेकपा समाजवादी (एस) तथा स्वतन्त्रबाट उम्मेदवारी परेको छ । जिल्लास्थित हाम्रा समाचारदाताका अनुुसार मनोनयन दर्ता शान्तिपूर्ण र उत्साहका साथ भएको छ । 

दसवटै पालिकामा मनोनयन दर्ता 

घोराही समाचारदाताका अनुसार दाङका दसवटै पालिकामा विभिन्न राजनीतिक दलका उम्मेदवारले मनोनयन दर्ता गर्नुभएको छ । जिल्लामा सोमबार पाँच दलीय गठबन्धन, नेकपा एमाले, राप्रपा, नेकपा माले, मङ्गोल नेसनल अर्गनाइजेसन, विवकेशील साझासहित स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । जिल्लाका घोराही, तुलसीपुर उपमहानगरपालिका, बङ्गलाचुुली गाउँपालिकामा मात्रै गठबन्धनबाट उम्मेदवारी दिइएको छ । अन्य पालिकामा भने गठबन्धनबीचका दलहरूको उम्मेदवारी मनोनयन गरिएको छ । 

बबई गाउँपालिकामा नेपाली काँग्रेसबाट अध्यक्षमा कुलबहादुर खत्री र उपाध्यक्षमा बमकुमारी खडका, दङ्गीशरणको अध्यक्षमा शम्भु गिरी र उपाध्यक्षमा पिमाकुमारी खड्का, राप्तीको अध्यक्षमा जगदम्बाकुमारी चौधरी र उपाध्यक्षमा हरि भुसाल, गढवामा अध्यक्षमा सर्वजित डाँगी र उपाध्यक्षमा शारदा चौधरी, राजपुरमा अध्यक्षमा शरद बुढाथोकी र उपाध्यक्षमा धनपति यादवले उम्मेदवारी दर्ता गराउनुभएको छ । जिल्लाका दुई गाउँपालिकामा गठबन्धनबाट उम्मेदवारी परेको छ । शान्तिनगरमा नेपाली काँग्रेसबाट अध्यक्षमा प्रमोद बस्नेत र उपाध्यक्षमा प्रेमा केसीले दर्ता गराउनुभएको छ । बङ्गलाचुली गाउँपालिकामा अध्यक्षमा माओवादी केन्द्रबाट सुवास पुन र उपाध्यक्षमा नेपाली काँग्रेसबाट भक्तबहादुर जीसीले मनोनयन दर्ता गराउनुभएको छ ।  

नेकपा एमालेको तर्फबाट बबई गाउँपालिकाको अध्यक्षमा भुवनेश्वर पौडेल र उपाध्यक्षमा सावित्रा विश्वकर्माले मनोनयन दर्ता गराउनुुभएको छ । पौडेल र विश्वकर्मा २०७४ स्थानीय तह निर्वाचनमा बबई गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमालेबाट निर्वाचित हुनुभएको थियो । शान्तिनगर गाउँपालिकामा विष्णु केसी र उपाध्यक्षमा कमला भण्डारी, दङ्गीशरण गाउँपालिका अध्यक्षमा एम.एन. शाह र उपाध्यक्षमा बुधनी चौधरी, राप्ती गाउँपालिकामा अध्यक्ष जगत पोखरेल र उपाध्यक्ष कमलापति चौधरी, गढवा गाउँपालिकामा अध्यक्ष सहजराम अहिर र उपाध्यक्षमा सीता चौधरी, राजपुर गाउँपालिकामा अध्यक्ष कुलराज गिरी र उपाध्यक्षमा सीता यादव तथा बङ्गलाचुली गाउँपालिकाको अध्यक्षमा भेषराज खत्री र उपाध्यक्षमा सरस्वता घर्तीमगरले मनोनयन दर्ता गराउनुभएको छ । 

उता गढवामा नेकपा माओवादी केन्द्रबाट अध्यक्षमा यमनारायण शर्मा पोखरेल र उपाध्यक्षमा एकीकृत समाजवादीका शान्ति चौधरीले मनोनयन दर्ता गराउनुभएको छ । त्यसैगरी राप्ती गाउँपालिकामा माओवादीबाट प्रकाश विष्ट र जनमोर्चाबाट उपाध्यक्षमा केशव खनालले उम्मेदवारी दर्ता गराउनुभएको छ । राजपुरमा अध्यक्षमा चक्रबहादुर खड्का र उपाध्यक्षमा पुष्पा यादव, बबईको अध्यक्षमा भीमबहादुर वली र उपाध्यक्षमा अञ्जु घर्तीले मनोनयन दर्ता गराउनुभएको छ । दङ्गीशरणमा अध्यक्षमा मणिराम चौधरी र उपाध्यक्षमा विनिता चौधरी, शान्तिनगरको अध्यक्षमा मोहन वली र उपाध्यक्षमा राधिका परियारले मनोनयन दर्ता गराउनुभएको छ । यसैबीच दाङ जिल्लामा सत्ता गठबन्धनमा सिट बाँडफाँटमा कुरा नमिलेपछि एकीकृत समाजवादीले केही पालिकामा एकल उम्मेदवारी दर्ता गराएको छ । एकीकृत समाजवादीका तर्फबाट घोराही उपमहानगरपालिकाको प्रमुखमा रामप्रसाद चौधरी र उपप्रमुखमा शोभा शाहले उम्मेदवारी दिनुभएको छ । 

सबै पालिकामा मनोनयन

तम्घास समाचारदाताका अनुसार एमालेबाट रेसुङ्गा नगरपालिकाको प्रमुखमा राजेन्द्र पाण्डे र उपप्रमुखमा रीता पाण्डेले मनोनयन दर्ता गर्नुभएको छ भने नेपाली काँग्रेसका जिल्ला सभापति खिलध्वजि पन्थी प्रमुखमा र उपप्रमुखमा अमृता कुँवरले मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यस्तै मुसीकोट नगरपालिकामा एमालेबाट जीवन खरेल प्रमुख र उपप्रमुखमा गङ्गा श्रेष्ठको मनोनयन दर्ता भएको छ भने गठबन्धनबाट काँग्रेसका हरिनारायण सापकोटा र उपप्रमुखमा समाजवादीका श्रीराम महतको मनोनयन दर्ता भएको छ । कालीगण्डकी गाउँपालिकामा एमालेबाट अध्यक्षका लागि रामजी ढकाल र उपाध्यक्षमा मञ्जु दर्लामी, काँग्रेसबाट बेदबहादुर थापाको अध्यक्षमा मनोनयन दर्ता भएको छ । यस्तै स्वतन्त्रबाट अध्यक्षमा घनश्याम ढकाल र उपाध्यक्षमा रमेश पाण्डेले मनोनयन दर्ता गराउनुभएको छ । सत्यवती गाउँपालिकामा अध्यक्षमा टीकाराम पाण्डे र उपाध्यक्षमा निरमाया राहादीले उम्मेदवारी दर्ता गराउनुभएको भएको छ । काँग्रेसबाट अध्यक्षमा पारिश्वर ढकाल, उपाध्यक्षमा तेजकुमारी थापाले मनोनयन दर्ता गराउनुभएको छ । यस्तै राष्ट्रिय जनमोर्चाबाट ओमबहादुर कुँवर र स्वतन्त्रबाट ठगप्रसाद शर्माले अध्यक्षमा मनोनयन दर्ता गराउनुएको हो ।

चन्द्रकोट गाउँपालिकामा एमालेबाट अध्यक्षमा चेतन बस्नेत र उपाध्यक्षमा राधिका अर्यालले उम्मेदवारी दिनुभएको छ । निवर्तमान उपाध्यक्ष हुनुहुन्छ । गठबन्धनबाट अध्यक्षमा माओवादी केन्द्रका युवराज केशी र उपाध्यक्षमा काँग्रेसबाट विष्णुप्रसाद भण्डारी उम्मेदवार बन्नुभएको निर्वाचन अधिकृत लोकनाथ भुसालले जानकारी दिनुभयो । रुरु क्षेत्र गाउँपालिकामा एमालेबाट अध्यक्षमा हिमाल श्रेष्ठ र उपाध्यक्षमा मिना गौतम उम्मेदवार बन्नुभएको छ । गठबन्धनबाट माओवादी केन्द्रबाट अध्यक्षमा यदु ज्ञवाली र उपाध्यक्षमा काँग्रेसकी दुर्गा ज्ञवालीले मनोनयन दर्ता गराएको निर्वाचन अधिकृत वसन्तप्रसाद भण्डारीले जानकारी दिनुभयो । 

छत्रकोटमा एमालेबाट अध्यक्षका लागि रामप्रसाद पाण्डे र उपाध्यक्षमा सावित्रा ज्ञवाली उम्मेदवार रहनुभएको छ । गठबन्धनबाट काँग्रेसका अनन्त पौडेलले अध्यक्ष पदमा मनोनयन दर्ता गराउनुभएको निर्वाचन अधिकृत राजेन्द्रबहादुर अर्यालले जानकारी दिनुभयो । गुल्मीदरबार गाउँपालिकामा एमालेबाट अध्यक्षमा कृष्ण भुसाल र उपाध्यक्षमा सुशीला पुनको मनोनयन दर्ता भएको छ । काँग्रेसबाट अध्यक्षमा सरोजकुमार थापा, उपाध्यक्षमा तारा थापा ढेङ्गाको मनोनयन दर्ता भएको निर्वाचन अधिकृत भीमप्रसाद भुसालले जानकारी दिनुभयो ।

यस्तै नेकपा माओवादी केन्द्रबाट अध्यक्षमा शेरबहादुर सर्तुङ्गे र उपाध्यक्षमा शीखा रेश्मीले मनोनयन दर्ता गराउनुभएको छ । नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्षमा नगेन्द्र किरण ठकुरीले पनि मनोनयन दर्ता गराउनुभएको छ । इश्मा गाउँपालिकामा एमालेबाट अध्यक्षमा हीरा एसी र उपाध्यक्षमा यसअगाडिकै विमला खत्रीको मनोनयन दर्ता भएको छ । नेपाली काँग्रेसको तर्फबाट अध्यक्षमा भगतसिंह खड्का र उपाध्यक्षमा पावी कुँवरको मनोनयन दर्ता भएको छ ।

मालिका गाउँपालिकामा एमालेबाट निवर्तमान अध्यक्ष रितबहादुर थापा र उपाध्यक्षमा रनमाया पुन उम्मेदवार बन्नुभएको छ ।  गठबन्धनको तर्फबाट माओवादीबाट देवीराम अर्याल अध्यक्ष र उपाध्यक्षमा काँग्रेसका उपेन्द्र अर्यालले आइतबार नै मनोनयन दर्ता गराइ सक्नुभएको छ । मदाने गाउँपालिकामा एमालेबाट अध्यक्षका लागि प्रेम केसी र उपाध्यक्षमा निवर्तमान उपाध्यक्ष सरिता खड्काले मनोनयन दर्ता गराउनुभएको छ । गठबन्धनबाट महेन्द्र कुँवर अध्यक्ष र उपाध्यक्षमा बेगम चन्दको मनोनयन दर्ता भएको छ । राप्रपाबाट गाउँपालिकाको अध्यक्षमा जनक सेन, स्वतन्त्रबट दिनेश कुँवर क्षेत्रीले मनोनयन दर्ता गराउनुभएको छ । धुर्कोट गाउँपालिका अध्यक्षमा एमालेबाट गोपाल कुँवर, माओवादी केन्द्रबाट भूपाल पोखरेल, जसपाबाट गणेश कुँवर, राप्रपाबाट शेखरनाथ घिमिरे र मङ्गोल नेसनल अर्गनाइजेसनबाट धर्मराज दर्लामीले मनोनयन दर्ता गराउनुुभएको छ । नेपाली काँग्रेसको तर्फबाट महेन्द्र भण्डरीले अध्यक्षमा मनोनयन दर्ता गर्नुुभएको छ । 

प्रमुख दलद्वारा मनोनयन दर्ता

पाल्पा समाचारदाताका अनुसार पाल्पामा प्रमुख दल नेपाली काँग्रेस, एमाले र माओवादीसहितका दलका उम्मेदवारले मनोनयन दर्ता गर्नुभएको छ । जिल्लाको दसवटै पालिकाको प्रमुख, उपप्रमुख वडाध्यक्षसहितका पदमा दलका तर्फबाट अघि सारिएका व्यक्तित्वले उम्मेदवारी दिनुभएको हो । काँग्रेससहित गठबन्धनमा आबद्ध दल माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी र राष्ट्रिय जनमोर्चाका उम्मेदवारले सहमतिको आधारमा उम्मेदवारी दिएका छन् । एमालेले भने छुट्टै उम्मेदवारी दिएको एमाले तानसेनका अध्यक्ष गुराँस आत्रेयले जानकारी दिनुभयो । तिनाउ गाउँपालिकामा नेकपा एमालेका तर्फबाट ११ गते नै उम्मेदवारी दिइएको थियो । जिल्ला निर्वाचन अधिकारी रुक्मागत अर्यालले आइतबार एमालेसहितका दल र स्वतन्त्र गरी ५१ जनाले विभिन्न पदमा उम्मेदवारी दिएको बताउनुभयो । 

सोमबार भने अबेरसम्म उम्मेदवारी दिने क्रम जारी रहेकाले विवरण आउन बाँकी रहेको अर्यालले जानकारी दिनुभयो । पाल्पामा आइतबार र सोमबार शान्तिपूर्ण रूपमा उम्मेदवारी दिने काम सकिएको पाल्पाका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले जानकारी दिनुभयो । सोमबार दलको तर्फबाट सिफारिस भएका उम्मेदवारसहित स्वतन्त्र र केही बागी उम्मेदवारीसमेत दिने काम भएको थियो ।