• ९ असार २०८१, आइतबार

‘यो मौसम लामखुट्टे नियन्त्रण गर्ने गोल्डेन समय हो’

blog

काठमाडौँ, जेठ २२ गते । सरुवारोग विशेषज्ञ डा.शेरबहादुर पुनले डेंगु फैलिन नदिन बेलैमा सरोकारवाला निकायले ध्यान दिनुपर्ने बताउनुभयो ।

उहाँले यो मौसम लामखुट्टे नियन्त्रण गर्ने गोल्डेन समय भएकोले सबै सरोकारवाला निकायले ध्यान दिन आग्रह गर्नुभएको हो । 

उहाँले भन्नुभयो, ‘‘अब छिट्टै लामखुट्टेको जोखिम बढ्छ । यो समय डेंगु सङ्क्रमण गर्ने लामखुट्टे नियन्त्रण गर्ने गोल्डेन समय भएकाले सबै सरोकारवाला निकाय गम्भीर लाग्नु पर्छ ।’’

उहाँका अनुसार घाम पानी घाम पानी भएको बेला डेंगु बढ्ने सम्भावना बढी हुन्छ । लामखुट्टे बढ्दै गएपछि डेंगु सङ्क्रमितको सङ्ख्या बढ्ने जोखिम बढ्छ ।

बैलैमा नियन्त्रण नगर्ने हो भने आगामी दिनमा डेंगुको जोखिम बढ्ने उहाँको भनाइ छ । उहाँका अनुसार अघिल्लो वर्षमा पोष्ट मनसुन पछि डेंगुका बिरामी ह्वात्तै बढेका थिए ।

६८ जिल्लामा फैलियो डेंगु

सन् २०२४ यता ६८ जिल्लामा एक हजार ४८ जनामा डेंगु पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण केन्द्रअन्तर्गतका किटजन्य शाखाका प्रमुख डा. गोकर्ण दाहालले जानकारी दिनुभयो ।

प्रदेशअन्तर्गत सबैभन्दा बढी बागमती प्रदेशमा ३६० जनामा डेंगु पुष्टि भएको छ । त्यसैगरी, कोशी प्रदेशमा २४९, मधेश प्रदेशमा २७, गण्डकी प्रदेशमा १६४, लुम्बिनी प्रदेशमा १२५ कर्णाली प्रदेशमा १५ र सुदूरपश्चिममा १०८ जनामा डेंगु पुष्टि भएको डा.दाहालले बताउनुभयो । 

जिल्लाअन्तर्गत काठमाडौँमा सबैभन्दा बढी ९९ जनामा डेंगु पुष्टि भएको छ । झापा ९८, चितवनमा ७३, मकवानपुरमा ५६, सिन्धुपाल्चोकमा ४४, तनहुँ ३९, ओखलढुङ्गामा ३८, रुपन्देहीमा २८, डोटीमा २८, भक्तपुरमा २४ जनामा डेंगु पुष्टि भएको छ ।

के हो डेंगु ?

सरुवारोग विशेषज्ञ डा.पुनका अनुसार डेंगु रोग डेंगी भाइरसबाट सङ्क्रमित एडिज जातका लामखुट्टेको टोकाइबाट सर्दछ । एडिस जातको लामखुट्टे पानी जम्मा भएको जुनसुकै भाँडोमा पनि हुर्कन सक्छन् । 

उच्च ज्वरो आउने, टाउको दुख्ने, जोर्नी र मांसपेशीहरू दुख्ने, शरीरमा राता बिमिरा आउने, आँखाको गेडी दुख्ने वाकवाकी लाग्ने डेंगुका प्रमुख लक्षण हुन् । 

डेंगुबाट बच्ने एक मात्र उपाय लामखुट्टेको टोकाई बच्ने हो । डेंगु सङ्क्रमण भएपछि चिकित्सकको सल्लाह बिना कुनै पनि औषधीको सेवन नगर्ने डा.पुनको सुझाव छ । 

सङ्क्रमित भएमा स्वास्थ्य संस्थामा गई चिकित्सक वा स्वास्थ्यकर्मीको सल्लाह लिने, घरमानै बसेर उपचार गर्दा चिकित्सकको सल्लाह बमोजिम घटाउने, जीउ दुख्न कम गर्नका लागि प्यारासिटामोल डा. पुनको सुझाव छ ।

लामखुट्टेको टोकाइबाट बच्न पूरै शरीर ढाक्ने लुगा लगाउने, धूप बाल्ने, मलम लगाउन चिकित्सकको सुझाव छ ।

लामखुट्टे नियन्त्रण गर्न लामखुट्टेले फुल पार्न सक्ने सम्भावित घर, विद्यालय, कार्यालय वरपरका पानी जम्ने सबै ठाउँहरू सफा गर्ने, पानी राख्ने भाँडाहरू बेलाबेलामा सफा गर्ने र लामखुट्टेको फुल नष्ट गर्ने ।

Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।