काठमाडौँ, असोज २७ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जेनजी आन्दोलनमा घाइते भएकाको वर्गीकरण गर्ने भएको छ ।
मन्त्रालयले गत भदौ २३ र २४ गते जेनजी आन्दोलनमा घाइते भएकाको वर्गीकरण गर्न स्वास्थ्य मन्त्रालयका गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा. सरोज शर्माको संयोजकत्वमा प्राविधिक १० सदस्यीय समिति गठन गरेको छ ।
घाइतेको वर्गीकरणको मापदण्ड बनाउने कार्य सुरु गरिएको संयोजक डा. शर्माले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “घाइते भएका व्यक्तिहरुको वर्गीकरण गर्नका लागि गठित प्राविधिक समितिको मिति २०८२।६।२४ र २७ गते बैठक बसी वर्गीकरणको मापदण्डा बनाउने कार्य सुरु भएको छ ।”
उहाँले उपचारमा सम्लग्न अस्पतालबाट वर्गीकरणको कार्यमा सहयोगको अपेक्षा गर्नुभएको छ । स्वास्थ्य मन्त्रालयको तथ्याङ्कअनुसार उक्त आन्दोलनमा दुई हजार ३१६ जना घाइते उपचारका लागि अस्पतालमा भर्ना भएका थिए ।
जसमध्ये दुई हजार २४३ उपचारपश्चात् ‘डिस्चार्ज’ भइसकेका छन् । उपचारको क्रममा ४९ को मृत्यु भएको थियो । हाल २४ जना घाइते विभिन्न अस्पतालमा उपचाररत छन् ।