काठमाडौँ, कात्तिक ४ गते । आधुनिक सङ्गीतका नयाँ स्वर र प्रविधिले बजार ओगट्दै गए पनि पुरानो मादलको धुन अझै नेपाली मनमा गुन्जिरहन्छ ।
मादल नेपालीको पहिचानसँग गाँसिएको परम्परागत लोकप्रिय बाजा हो। मादलबिना लोकगीत अधुरो मानिन्छ। मादल लोकगीत बाहेक देउसीभैलो, झ्याउँरे गीतमा र विभिन्न सांस्कृतिक नाच गानमा प्रयोग गरिन्छ ।
पहिले-पहिले पुरुषले मात्र बजाउने मादल पछिल्लो समय महिला, पुरुष, बालबालिका, युवा जो कोही सङ्गीतमा रुचि राख्ने मानिसमा लोकप्रिय बन्दै गएको छ ।
केही समय अघि मादलको व्यवसाय खस्किएको जस्तो देखिएपनि पछिल्लो समय यसको माग बढेसँगै व्यवसाय पनि बढ्दो छ । काठमाडौँस्थित वसन्तपुरमा मादल व्यवसायी रिबबहादुर कुलुले पहिलेको तुलनमा मादलको माग बढ्दै गएको बताउनुहुन्छ ।
उहाँले वर्षमा २५ सय वटा मादलको व्यापार गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ, “मादल व्यवसाय गर्दै आएको २५ वर्षभन्दा बढी भइसकेको छ । यो अवधीमा मादलको व्यवसायमा लतमाथि हुँदै आए पनि फेरि यसको माग बढ्दै गएको छ ।”
पछिल्लो समय लोकदोहोरी, विद्यालयमा मादल सिकाउने प्रचलन, विभिन्न टोलका क्लबमा मादलको माग बढ्दै गएको मादलको व्यवसाय बढ्दै गएको उहाँको ठहर छ ।
मादलको बिक्री जुनसुकै समयमा भए पनि तिहारमा बढि बिक्री हुने उहाँ बताउनुहुन्छ । समयमा भने अलि धेरै व्यवसाय हुने गर्छ । मादल सबै उमेरका मानिसले किन्न आउने उहाँ सुनाउनुभयो । देशबाट मात्र नभई विदेशबाट मादलको माग बढ्दै गएको उहाँ बताउनुहुन्छ । साइज अनुसार मादलको मूल्य पनि फरक–फरक हुने गर्छ । उहाँले १२ सयदेखि पाँच हजार पाँच सयको हाराहारीमै मादल बिक्री गर्दै आउनुभएको छ ।
उहाँले मादल व्यवसाय राम्रै भए पनि काठ र छाला पाउन गाह्रो हुने गुनासो गर्नुभयो । साथै बजारमा मेसिनले बनेका सस्ता मादलले परम्परागत मादलको मूल्य घटाइरहेको उहाँको गुनासो छ । उहाँले मादल व्यवसाय सुरुआतिदेखि पछाडि फर्किए हेर्न नपरेको बताउनुहुन्छ ।
उहाँका अनुसार नेपालमा मादल व्यवसाय गर्दा खाना लगाउन दु:ख हुँदैन । उहाँले मादलको व्यवसाय गर्दै आउनु भएको २५ वर्षभन्दा बढि भयो । मादल बनाउने सीप उहाँले आफ्ना बुवाबाट सिक्नुभएको हो।
उहाँ भन्नुहुन्छ, “म लगभग २५ वर्षदेखि यो काम गर्दै आएको छु । मादल केवल सङ्गीतको माध्यम होइन, हाम्रो संस्कृतिको चिनारी पनि हो ।” उहाँले २०५९ मा कलेजको पढाइ सकिएपछि बाउबाजेले गर्दै आउनु भएको पेसालाई व्यवसायको रूपमा गर्दै आउनुभएको हो । छोरो पनि यही व्यवसायीमा लागोस भन्ने उहाँको चाहना छ । बादल बनाउने र बिक्री गर्ने उहाँको पुर्खेली पेसा हो ।
पछिल्लो समय मादलको बिक्री वितरणको अवस्थामा केन्द्रित भई गोरखापत्र अनलाइनले मादल व्यवसायी रिबबहादुर कुलुसँग तयार गरिएको भिडियो संवाद :
भिडियो : मनोजरत्न शाही