• ७ मंसिर २०८१, शुक्रबार

किशुनजीको सपना (सम्पादकीय)

blog

बढ्दो सहरीकरण तथा जनसङ्ख्याका कारण काठमाडौँ उपत्यका पचासको दशकमा खानेपानीको अभावमा उच्च हुँदै थियो । त्यस बेला नेपाली काँग्रेसका सन्त नेता कृष्णप्रसाद भट्टराई अर्थात् किशुनजीले काठमाडौँमा २०४८ सालको आमनिर्वाचनको प्रचारप्रसारका क्रममा पहिलो पटक सिन्धपाल्चोकस्थित मेलम्ची खोलाको पानी राजधानी ल्याउने घोषणा गरेसँगै मेलम्ची खानेपानीबारेको चर्चा आरम्भ भयो । यस अर्थमा काठमाडौँ उपत्यकामा मेलम्ची खोलाको पानी ल्याएर यहाँको काकाकुल स्थिति हटाउने अवधारणाको श्रेय सन्त नेतालाई दिन कसैले पनि कञ्जुस्याइ गर्न उपयुक्त होइन।

वास्तवमा मेलम्चीको खानेपानी ल्याउने अवधारणाको श्रेय सन्त नेता भट्टराईलाई यस कारणले पनि दिनुपर्छ कि सत्तामा नरहँदा पनि उहाँले मेलम्ची खानेपानी आयोजना अगाडि बढाउन दबाब दिइरहनु भयो । उहाँको यस अवधारणालाई कतिपयले राजनीतिक रङ्ग दिन खोजे पनि अन्ततः उपत्यकावासीले मेलम्चीको पानीले प्यास मेटाउन सफल भएका छन् । कतिपयका लागि मेलम्चीको पानी काठमाडाँैंसम्म ल्याउने अवधारणा नै दुस्साहसपूर्ण थियो भने अरूका लागि उत्साहपूर्ण आशाको बिन्दु रह्यो । अहिले यही उत्साह वास्तविकतामा परिणत भएको छ । 

किशुनजीले मेलम्ची ल्याउन देखेको सपना पूरा हुन तीन दशकको अवधि नै कुर्नुप-यो । यसबीचमा मेलम्ची खानेपानी आयोजनाका सम्बन्धमा विभिन्न राजनीतिक भूकम्प नै गए । ढिलासुस्ती भयो । अनेक समस्या आयो, यिनै उथुलपुथलबीच मेलम्चीको खानेपानी वि.सं. २०७८ मा उपत्यकामा त आइपुग्यो तर विपत्ति पनि सँगसँगै आयो । गत वर्षको असार १ तथा १७ गते आएको बाढीले मेलम्ची खानेपानी आयोजनाका हेडवक्र्सलगायतका संरचनालाई नराम्ररी क्षति पु-यायो । इतिहासमै बिरलै आउने विपत्ति आइप-यो ।

मेलम्चीको खानेपानी वितरण कार्य अवरुद्ध बन्न पुग्यो । यी सबै क्षतिग्रस्त संरचनाको मर्मत छोटो अवधिभित्रै आर्थिक दृष्टिकोणबाट समेत किफायती तरिकाले सम्पन्न गर्नु चानचुनै चुनौती थिएन । नयाँ सरकार आएपछि बर्सात सकिना साथ मेलम्चीको पानी उपत्यका ल्याउन तीव्र महल आरम्भ भयो । फलस्वरूप वर्तमान सरकारले आइतबारदेखि घर घरका धारामा पु-याउने कार्यको थालनी गरेको छ । यो कार्यका लागि सम्बद्ध सबै आमनागरिकका सामु धन्यवादका पात्र बनेका छन् । नेपालमा हरेक ठूला आयोजनामा हुने ढिलाइको ठीक विपरीत मेलम्चीको सरसफाइ तथा मर्मत कार्यका लागि चिनियाँ कम्पनीसँग ९० दिने सम्झौता भए पनि ७५ दिनमा नै कार्यसम्पन्नता सम्भव हुनु आफैँमा सकारात्मक कर्म हो ।

आइतबार काठमाडाँैं नयाँ बानेश्वरमा रहेको पानी वितरण केन्द्रबाट पानीको निकास खानेपानी मन्त्री उमाकान्त चौधरीले खुला गर्नुभएपछि काठमाडौँवासीको फेरि मेलम्चीको खानेपानीको स्रोतमा पहुँच पुगेको छ । अब अपेक्षा गराँैं काठमाडौँवासीको काकाकुलको अवस्था एकादेशको कथा बन्नेछ । विगत इतिहासमा सीमित हुनेछ । फेरि आउने छैन ।

मेलम्ची क्षेत्रमा फेरि पनि यस्ता बाढी पहिरोको सम्भावनालाई नकार्न त सकिँदैन तर विपत्तिविरुद्धका कार्यमा ध्यान पुग्नेछ । आउने जटिल समस्याको दीर्घकालीन समाधानका लागि ठोस तथा सुदृढ कार्य गरिनु अनिवार्य छ । यस सन्दर्भमा मन्त्री चौधरीले यो आयोजनालाई सुरक्षित र दीर्घकालीन बनाउन विस्तृत अध्ययन भइरहेको सम्बन्धमा दिनुभएको जानकारीले उपभोक्ताहरू आश्वस्त हुनसक्ने वातावरण सिर्जना भएको छ । यसका अतिरिक्त आउँदा वर्षायामहरूमा मुहान र तटीय क्षेत्रमा बाढीबाट कम क्षतिका लागि पूर्वसूचना घण्टी जडान गरिनु आफैँमा सकारात्मक कदम हो । 

काठमाडौंँ उपत्यकाको सहरीकरण तथा जनसङ्ख्या हालको स्थितिमा अगाडि बढ्दा कुनै बिन्दुमा गएर रोकिने अनुमान गर्नु असत्य साबित हुन सक्छ । तसर्थ भविष्यमा मेलम्चीको दैनिक १७ करोड लिटर पानी उपत्यकाका लागि न्यून हुने निश्चित छ । तसर्थ वैकल्पिक स्रोतका लागि थप व्यवस्था गरिनु आवश्यक देखिन्छ । यसका निम्ति लार्के र याङ्ग्री खोलाको पानीसमेत मेलम्चीमा मिसाउनुको उपयुक्त देखिन्छ । यसका लागि सरकारले आर्थिकलगायतका स्रोत जुटाउने प्रयास अहिलेदेखि नै सुरु गर्नु राम्रो हुनेछ ।

पानी उपत्यका आएर मात्र हुँदैन, त्यसका समानुपातिक वितरण प्रणाली प्रभावकारी हुनुपर्छ । साधन हुनेले ठूल्ठूला मेसिन लगाएर पानी तान्ने तानेर गाडी धुने र छिमेकी टुलुटुलु हेर्ने अवस्था हुनुहुन्न । न्यायिक वितरण प्रणाली भएन भने फेरि उपभोक्ताका लागि आकाशको फल आँखा तरी मर हुन्छ ।