• ९ वैशाख २०८३, बुधबार

बागलुङमा ‘नागरिक सहजकर्ता प्रहरी’ खटाइयो

blog

जिल्ला प्रहरी कार्यालयमा खटाइएका नागरिक सहजकर्ता प्रहरी । तस्बिर : जिप्रका बागलुङ

रामकृष्ण बोहरा

बागलुङ, वैशाख ७ गते ।जिल्ला प्रहरी कार्यालय बागलुङ तथा मातहतका प्रहरी कार्यालयमा आउने सेवाग्राहीलाई सहज रूपमा, छिटोछरितो, बिना कुनै हैरानी प्रभावकारी रूपमा सेवा प्रदान गरी न्यायको अनुभूति गराउने उद्देश्यले नागरिक सहजकर्ता प्रहरी खटाइएको छ ।

नागरिक सहजकर्ता प्रहरीमार्फत सेवाग्राहीहरूले आवश्यक जानकारी, निवेदन दर्ता प्रक्रिया, सेवा लिने तरिका लगायतका विषयमा तुरुन्तै सहयोग प्राप्त गर्न सक्ने जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक वसन्तजङ्ग पाण्डेले जानकारी दिनुभयो ।

नागरिक सहजकर्ता प्रहरीबाट कार्यालयमा आउने सेवाग्राहीहरूको भीड व्यवस्थापन, सही शाखा वा फाँटमा मार्गनिर्देशन तथा सेवा प्रक्रियालाई थप व्यवस्थित र पारदर्शी बनाउने कार्यमा समेत सहयोग पुग्ने प्रहरीले विश्वास लिएको छ ।

यो व्यवस्थाले सेवाग्राहीमा देखिने अन्योलता कम गर्ने, सेवा लिन लाग्ने समय घटाउने तथा प्रहरीप्रतिको नागरिक विश्वास अझ मजबुत बनाउने लक्ष्य छ ।

साथै, सेवाग्राहीमैत्री वातावरण सिर्जना गर्दै सुशासन, पारदर्शिता र उत्तरदायित्व अभिवृद्धि गर्ने दिशामा समेत महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको प्रनाउ पाण्डेले बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय बागलुङले आगामी दिनमा पनि नागरिक केन्द्रित सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउँदै लैजाने योजना बनाएको प्रनाउ पाण्डेले जानकारी दिनुभयो ।