ललितपुर, वैशाख ११ गते। नेपाली काँग्रेसले स्थानीय तहको निर्वाचन घोषणापत्र जारी गर्दै ‘अबको यात्रा र एजेण्डा : समुन्नत नेपालको राष्ट्रिय सङ्कल्प’ अगाडि सारेको छ। काँग्रेसले संविधान सभामार्फत् जारी भएको संविधानप्रति पूर्ण प्रतिबद्धता जनाउँदै अबको नयाँ यात्राको खाका सार्वजनिक गरेको हो।  
८८ पृष्ठ लामो घोषणा-पत्रमा लेखिएको छ, ‘यसलाई जनताको भावना र राजनीतिक शक्ति सन्तुलन अनुसार संशोधन र परिमार्जन गरी समृद्ध र प्रगतिशील दस्तावेजको रुपमा रुपान्तरण गर्न नेपाली काँग्रेस वचनबद्ध छ।’
अग्रगामी र प्रगतिशील रुपान्तरण
नागरिकको परिवर्तनलाई घोषणापत्रमा भनिएको छ, ‘‘हामी नागरिकको निराशामा अन्तर्निहित परिवर्तनको चाहना र वेगलाई अग्रगामी, लोकतान्त्रिक तथा प्रगतिशील ऊर्जा र शक्तिमा रुपान्तरण गर्न चाहन्छौं।’’
यसैगरी, समुन्नत नेपालको मार्गचित्रमा नागरिकले प्रत्यक्ष अनुभूत गर्ने परिवर्तन र रुपान्तरण नै काँग्रेसको सङ्कल्प रहेको छ। काँग्रेस पार्टीको जन्म केवल सत्तामा जान मात्र भएको होइन, लोकतान्त्रिक र संवैधानिक प्रक्रियाद्वारा जनताको भावना अनुसार अग्रगामी र प्रगतिशील आर्थिक-सामाजिक रुपान्तरण गर्न पार्टीको स्थापना भएको काँग्रेसले जनाएको छ।
‘‘पार्टीको गौरवशाली इतिहास र आदर्शलाई स्मरण गर्दै हामी तपाईंहरुको समक्ष सङ्कल्प गर्छौं कि संविधानले जनतासँग वाचा गरेको समुन्नतिको आधार निर्माण गर्नेछौं, समुन्नत नेपालको जग बसाल्ने छौं’’, काँग्रेसको समुन्नत नेपालको मार्गचित्रमा उल्लेख छ।
झण्डै ७५ वर्षअघि नेपाली काँग्रेसको प्रारम्भिक लक्ष्य तय गर्दै जननायक बीपी कोइरालाले लेख्नुभएको थियो, ‘‘हामी जनता जनार्दनको बलमा नेपालमा कोही पनि भोका, नाङ्गा वा अशिक्षित नरहन, देशमा सडक, बाटोघाटो, अस्पताललगायत जीवनलाई सुन्दर र सुखी बनाउने अरु कुनै कुराको अभाव नरहोस्, त्यस्तो उत्तरदायी शासन व्यवस्था ल्याउने प्रयत्नमा छौं।’’
समुन्नत नेपालको यही सुन्दर कल्पनाको गुणात्मक आधुनिक रूप नै काँग्रेसको अद्यावधिक विकासको सोच हो। वास्तवमा समुन्नत नेपाल जननायक बीपी कोइरालाको प्रजातान्त्रिक समाजवादमा आधारित समतामूलक समाज निर्माणको सिद्धान्त र परिकल्पनाको विस्तारित स्वरूप हो, थप व्याख्या हो। जसको अर्थ पुँजी सङ्ग्रह र आर्थिक वृद्धि महत्त्वपूर्ण साधन हुन्। तर, विकासको साध्य भनेको नागरिकको स्वतन्त्रता, सक्षमता र सबलीकरणको विस्तार नै हो।
काँग्रेस पार्टीले अवलम्ब गर्ने नीतिमा अबको दशक नेपालको समुन्नति र सम्पन्नताको दशक हुनेछ। काँग्रेस प्रस्ट मार्गचित्रका साथ समुन्नतिको यही राष्ट्रिय सङ्कल्पको कार्यान्वयनमा आफूलाई समर्पित गर्ने जनाएको छ। काँग्रेसलाई कहाँ पुग्ने र कसरी पुग्ने भन्ने विषयमा अब कुनै द्विविधा नरहेको घोषणापत्रमा उल्लेख छ।
मुहारमा खुसी र आशा
काँग्रेसको समुन्नतिका आर्थिक-सामाजिक आधारमा सुशासनको शर्त उदार लोकतन्त्रसँग जोडिन्छ। समुन्नत नेपाल एउटा निश्चित गन्तव्य नभएर राष्ट्र निर्माणको निरन्तर प्रयत्न रहेको काँग्रेसले जनाएको छ। काँग्रेसले आजभन्दा भोलि झन् उन्नत बनाउँदै लैजाने निरन्तर अभियानको नेतृत्व गर्ने उल्लेख छ।
नागरिकको ज्ञान, सीप र क्षमतामा वृद्धि गरेर तिनको जीवनस्तर उकास्ने, अन्ततः तिनका मुहारमा खुसी र आशाको उज्यालो ल्याउने साझा प्रयत्नले नै समुन्नत हासिल हुने काँग्रेसले जनाएको छ। सबै नागरिकलाई कुनै न कुनै उद्यममा जोडेर नतिजाको असमानताभन्दा पनि अवसरको असमानतामा काँग्रेसले विशेष ध्यान दिने घोषणापत्रमा उल्लेख छ।

यसैगरी, काँग्रेसले लिने नीतिले उत्पादन र वितरणलाई समान प्राथमिकता, समावेशी आर्थिक वृद्धि, आर्थिक कूटनीतिमार्फत् वैदेशिक सहयोग अधिवृद्धि र आत्मनिर्भरमुखी अर्थतन्त्रको विकास गर्नेछ। आर्थिक तथा सामाजिक क्षेत्रमा न्याय, राज्यका स्रोत तथा सेवामा सबै नागरिकको समान पहुँच र अधिकारको सुनिश्चतता गर्ने नीतिगत व्यवस्था नै समुन्नत नेपालको अर्थ-राजनीतिक आधार रहेको उल्लेख गरिएको छ।
फराकिलो समुन्नति र आर्थिक सामथ्र्यको काँग्रेसको सोचको नेपाल आगामी दशकमा एउटा उद्यममैत्री, मध्यम आय भएको समन्यायिक मुलुक हुनेछ, जहाँ चरम गरिबी एउटा अङ्कमा सीमित हुनेछ। त्यस्तै, गतिशील समतामूलक समाजको निर्माणमा सबैको पहुँच पुगेको सबल स्वास्थ्य, पोषण, शिक्षा र सामाजिक सुरक्षा सम्मिलित एकीकृत प्रणाली स्थापना आवश्यक रहेको काँग्रेसले जनाएको छ।
नागरिकको कोखदेखि शोकसम्म
‘डिजिटलाइजेसन’ मार्फत नेपालका सबै नागरिकको कोखदेखि शोकसम्मका रेकर्डका आधारमा जहाँ पनि जुनसुकै सेवा प्रदायकबाट स्वास्थ्य परामर्श दिनेसक्ने प्रणालीको विकास गर्नुपर्ने काँग्रेसले उल्लेख गरेको छ।
आन्तरिकरूपमा हाम्रो जनसङ्ख्याको बनोट र यसले दिनसक्ने अर्थ-राजनीतिक सामथ्र्य अनि बाह्यरूपमा कोभिड-१९ पछिको नयाँ विकास रोडम्यापलाई काँग्रेसले नयाँ अवसरका रुपमा लिनुपर्नेमा जोड दिएको छ।
सम्मानजनक रोजगारी सिर्जना
मानव इतिहासमै यो स्तरको उन्नत पुँजी, प्रविधि, नीतिगत र वैज्ञानिक ज्ञान पहिले कहिल्यै उपलब्ध नभएको भन्दै काँग्रेसले कनेक्टिभिटीसँग सम्बन्धित पूर्वाधारहरु (सडक, हवाई, रेल, जल, ऊर्जा र डिजिटल सञ्जाल) मा बहुपक्षीय लगानी जुटाई, झन्झटिला ऐन, तुलनात्मक लाभका क्षेत्रहरुलाई प्रतिस्पर्धी बनाउँदै हरेक वर्ष अधिकतम सङ्ख्यामा सम्मानजनक रोजगारी सिर्जना गर्ने विषयलाई उच्च प्राथकिमता राखेको छ।
जलवायु-अनुकूल उत्पादनको स्रोत तथा गन्तव्यका रुपमा परिचित हुन ऊर्जाका सबै माग जलविद्युत तथा स्वच्छ ऊर्जाका अन्य स्रोतको परिचालनबाट पूर्ति गर्ने काँग्रेसले जनाएको छ।
दुई छिमेकी राष्ट्रका आकार र बढ्दो महत्त्वको सापेक्षिकतामा काँग्रेस सानो देखिए पनि सार्वभौमिक ‘रेसिप्रोसिटी’ को कसीमा परिपक्क तवरले अघि बढ्ने छ। राष्ट्रसङ्घको वडापत्रप्रति प्रतिबद्ध रही साठी वर्षअघि १८ महिनाको छोटो अवधिमै प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपीले आर्थिक कूटनीतिमा अपनाउनु भएको प्रेरणादायी पदचाप पछ्याउने काँग्रेसले प्रण गरेको छ।
अन्तर्राष्ट्रिय ‘बेन्चमार्क’ को सन्दर्भमा काँग्रेस सन् २०२६ मै ‘अतिकम-विकसित’ राष्ट्रबाट विकासशील श्रेणीमा उक्लिने काँग्रेसले जनाएको छ। गुणात्मक ढङ्गले वृद्धि भइरहेको गैरआवासीय नेपाली समुदायको पुँजी, ज्ञान र सीप पनि मुलुकको विकासका लागि उत्तिकै आवश्यक र ठूलो स्रोत रहेको काँग्रेस उल्लेख गरेको छ।
ज्ञानमा आधारित अर्थ व्यवस्था
नेपालमा ‘अनियमित संरचनात्मक रुपान्तरण’ देखिएको छ। कृषि क्षेत्रबाट धेरै जनता बाहिर आएका छन्। त्यसैगरी, काँग्रेस पार्टीले आधारभूत तहदेखि नै ज्ञानमा आधारित अर्थ व्यवस्थाको निर्माणमा विशेष जोड दिँदै आवश्यक नीतिगत व्यवस्था गर्नेछ।
पार्टी कार्यालय सानेपामा आइतबार आयोजित कार्यक्रममा पार्टीका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले निर्वाचन घोषणापत्र सार्वजनिक गर्नुभएको हो।
काँग्रेसले ‘सबल स्थानीय सरकार : समुन्नत गाउँ, समुन्नत नगर’ भन्ने नारा दिएर ‘नेपाली काँग्रेसको सङ्कल्प, स्थानीय तह निर्वाचन २०७९’ जारी गरेको हो।
 
                                 
                                                 
                                                             
                                                                 
                                                                 
                                                             
                                                                 
                                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                -original-thumb.jpg) 
                                                 
                                                 
                                                