• १२ साउन २०८१, शनिबार

कोरोनाप्रति फेरि सतर्कता

blog

भनिन्छ, रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु बेस हो । स्वास्थ्य सतर्कता अपनाउन सक्यो भने निरोगी भइरहिन्छ भन्ने सन्देशमूलक यो भनाइले मानिसलाई आहारबिहार तथा स्वास्थ्य सचेतनामा सतर्क रहन सुझाइरहन्छ ।  कतिपय अवस्थामा एकाएक महामारी फैलिएर विश्वलाई नै तहसनहस पारेका घटना धेरै छन् । मानव अस्तित्व नै समाप्त पार्ने झैँ गरी फैलिने महामारीविरुद्ध वैज्ञानिकहरूले जुध्ने सामथ्र्य विकास गर्दागर्दै पनि अनेक सङ्क्रमण फैलिएर इतिहासको काखण्डमा लाखौँ मानिसको दुःखद मृत्यु भएका घटना लिपिबद्ध छन् । वैज्ञानिक खोज अनुसन्धानका कारण अनेक क्षेत्रमा चामत्कारिक उपलब्धि हासिल भएसँगै स्वास्थ्य क्षेत्रमा पनि थुप्रै उपलब्धि हासिल भएका छन् । पछिल्लो चरणमा वैज्ञानिकहरूले हासिल गरेको कोरोना भाइरसविरुद्धको खोपलाई विश्वजगत्ले चमत्कार नै मानेको छ । लाखौँ मानिसको ज्यान लिइसकेको कोरोना भाइरसविरुद्धको खोपको विकास सम्भव नहुँदो हो त यतिबेलासम्ममा विश्वमा मानव अस्तित्वको अवस्था कस्तो भइसकेको हुन्थ्यो ? कल्पनासम्म गर्दा पनि त्रास उत्पन्न हुने छ ।

सन् २०१९ मा छिमेकी राष्ट्र चीनको वुहानमा उत्पत्ति भएर विश्वव्यापी महामारीको रूप लिएको कोभिड–१९ (सार्स कोभ–२) बाट फैलिएको कोरोना भाइरसको सङ्क्रमणका कारण विश्वमा भएको मानवीय क्षति, पछाडि धकेलिएको भौतिक विकास एवं आर्थिक मन्दीले अद्यापि नियमित लय समात्न सकिरहेको छैन । अनेक प्रकारका खोपको विकासले मुख्य सङ्क्रमण नियन्त्रणमा आएको भए पनि पूर्ण रूपमा निर्मूल हुन भने सकिरहेको छैन । बेला मौकामा नयाँ प्रजातिका रूपमा देखा पर्ने सङ्क्रमणका कारण पुनः ठुलै सङ्क्रमण त फैलिने होइन भन्ने त्रास कायमै छ । जसले गर्दा स्वास्थ्य सावधानी अपनाइरहन छोड्न नहुने भएको हो ।    

पछिल्लो समयमा कोभिड–१९ को नयाँ प्रजातिका रूपमा विकास भएको ओमिक्रोमले त्रस्त बनाएको थियो । छिमेकी मुलुक भारत र चीनसहित विश्वका विभिन्न देशमा देखिएको कोभिड–१९ को नयाँ उपप्रजाति ‘जेएन–१’ नेपालमा पनि देखिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको स्मरणीय छ । मन्त्रालयले स्वास्थ्य सतर्कता अपनाउन अनुरोधसमेत गरेको थियो । यद्यपि खोप लगाएकाहरूमा यसको गम्भीर असर देखिएको थिएन । खोप नलगाएका र अन्य स्वास्थ्य समस्या भएकालाई भने यसले ठुलै असर गरेको पाइएको थियो । स्वरूप परिवर्तन भएर नयाँ प्रजाति विकास हुँदै रहने कोरोनाको पछिल्लो चरणमा आएर ‘केपी–१’ र ‘केपी–२’ नामकरण गरिएका दुई उपप्रजाति विश्वका विभिन्न मुलुकमा फैलिँदै गरेकोमा नेपालमा समेत देखा परेका छन् । यसले गर्दा कतै ठुलै महामारीको रूप लिने त होइन भन्ने त्रास आमजनसमुदायमा देखिएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ताका अनुसार, ओमिक्रोनकै नयाँ उपप्रजाति ‘केपी–१’ र ‘केपी–२’ उति असरदार नदेखिएकाले आत्तिहाल्नुपर्ने अवस्था भने छैन । मन्त्रालयले नआत्तिन भने पनि स्वास्थ्य सतर्कता अनपाउन भने आवश्यक छ ।  

सामान्यतः सङ्क्रमितमा देखापर्ने लक्षणमा ज्वरो आउने, खोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने, थकान, मांसपेसी वा शरीर दुख्ने, टाउको दुख्ने, स्वाद वा गन्ध नमिल्ने, चिसो अनुभव हुने जस्ता समस्या देखिने चिकित्सकको भनाइ छ । अधिकांश मानिसलाई खोप लगाइएकाले कोरोना सङ्व्रmमणका कारण गम्भीर रोगको जोखिम भने कम रहेको देखिएको हो । सङ्क्रमणको फैलावट रोकथाम गर्नका लागि मन्त्रालयले सर्वसाधारणलाई जनस्वास्थ्यका मापदण्ड पालना गर्दै भिडभाडमा नजान, भौतिक दुरी कायम गर्न, मास्कको प्रयोग गर्न र साबुनपानीले हात धुन अपिल गरेको छ । मन्त्रालयको अपिललाई सामान्य रूपमा नलिई सबैले पालन गर्दा जोगिन नसकिने भन्ने हुँदैन । खोप लगाउन बाँकी भए खोप लगाउँ र दुई पटक मात्र खोप लगाएकाले सहायक मात्रा खोप लगाउन पहल गरौँ । 

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले पनि कोभिड–१९ को नयाँ प्रजातिको सङ्व्रmमण बढिरहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ । डब्लुएचओले कोरोना सङ्कटकाल अन्त्य भएको घोषणा गरे पनि जोखिम भने रहिरहेको जनाएको छ । पछिल्ला प्रजाति घातक नभए पनि अनेक स्वरूपमा देखा परिरहेका छन् । खास गरी विदेशबाट आउनेलाई परिवार र समुदायमा जानुभन्दा पहिले नै स्वास्थ्य परीक्षण गर्नेतर्फको व्यवस्था गर्न सरकारले ढिला गर्न नहुने देखिएको हो । मौसम परिवर्तनसँगै देखापर्ने रुघाखोकी, ज्वरो, फ्लु देखिन थालेको अवस्थामा कोरोना भाइरस पनि मिसिन आउँदा र लक्षण छुट्याउन गाह्रो हुँदा जोखिम बढ्न सक्ने देखिएको हो । मौसमी बिरामी भनेर हेलचेक्य्राइँ गरिँदा परिवार हुँदै समुदायमै फैलिन सक्ने खतराप्रति सचेत रहन जरुरी छ ।