सुकृत नेपाल
काठमाडौँ, वैशाख ११ गते । यो मैले कस्तो युद्ध जितेँ ? मैले युद्ध जितेँ कि हारेँ ? हामीले युद्ध जितेर ल्याएको परिवर्तन कसका लागि हो ? यिनै प्रश्नहरूको जवाफ नाटक ‘खत’ भित्र छ । ‘खत’ सुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको नाटक हो । निर्देशक भारतीले १ घण्टा ४५ मिनेट अवधि लामोे नाटकमार्फत नेपाली समाजलाई केही प्रश्न गरेका छन् ।
माओवादी विद्रोहले उब्जाएका दर्जनौँ प्रश्नमा निर्देशक केन्द्रित छन् । आखिरमा कसको जित भयो ? ती सम्पूर्ण बलिदानहरूका असर के भए ? के परिवर्तन सम्भव छ ? नाटकको पृष्ठभूमि माओवादी र नेपाल प्रहरीबीच भएको द्वन्द्वमा आधारित छ ।
दया र फूलमतीको कथा हो नाटक ‘खत’ । यी दुवै जोडी आफ्नो घरबाट भाग्न बाध्य हुन्छन् । उनीहरू घरबाट निकालिएका छन् । कहाँ जाने के गर्ने अन्योलसँगै उनीहरू जङ्गलको एउटा सानो झुपडीमा घर बनाएर बसेका छन् । दया एक उच्च जातको परिवारको सदस्य हुन् भने फूलमतीलाई यो समाजले तल्लो जातको दर्जा दिन्छ तर यति हुँदाहुँदै पनि उनीहरूको मायालाई जातले छेकेन । उनीहरूको मायाको चिनो फूलमतीको गर्भमा हुर्कंदै छ ।
फूलमती गर्भवती छिन् र उसलाई देख्दा यस्तो लाग्छ कि उनीभित्र कुनै समय पनि प्रसव पीडा सुरु हुनसक्छ । गाउँमा बस्न नसक्ने अवस्था भएपछि उनीहरूले जङ्गल नै सुरक्षित देख्छन् । त्यसैले जङ्गलको छेउमा झुपडी बनाएर बसेका हुन्छन् र त्यही जङ्गलभित्र माओवादीहरू पनि परेड खेलिरहेका छन् । उनीहरूको घरमा आएर खाना खाने उनीहरूको दिनर्चाय नै हुन्छ । माओवादी युद्धमा सुरक्षाकर्मीले गरेको मानवीय सहायतालाई पनि नाटकले उजागर गरेको छ । जब फूलमतीलाई प्रसव पीडा सुरु हुन्छ त्यतिबेला सुरक्षाकर्मीले उनलाई सुरक्षित रूपमा बच्चा जन्माउन मद्दत गर्छन् ।
फूलमती र दया घरमा नभएको थाहा पाएपछि माओवादीका कार्यकर्ताहरूले शङ्का गर्न थाल्छन् । त्यति नै बेला उनीहरूले चाल पाउँछन् कि उनीहरूलाई पत्तै नदिई सुरक्षाकर्मीले नयाँ टेलिफोनको टावर जडान गरेको रहेछ । टेलिफोनको टावर नजिकै ब्यारेक पनि बनेको छ । तिनीहरूको लक्ष्य माओवादी विद्रोहीहरूलाई हटाउने वन क्षेत्र काट्ने उक्त क्षेत्रलाई तटस्थ बनाउने हो र यही मुद्दा नै नाटकको मुख्य द्वन्द्व हो । माओवादीले आफ्नो हार स्वीकार्न चाहेका छैनन् अनि सुरक्षाकर्मीले नियन्त्रण गर्न र बाटो जोगाउन जे पनि गर्न तयार छ ।
कथामा तीन गुटको अनौठो सेटअप र अन्तर सम्बन्धले दशक लामो गृहयुद्धको समयमा नेपालमा भएको वास्तविकताको उजागर गर्न खोजेको छ । माओवादी, सेना र प्रहरीले कतै मानवीयता देखाए पनि दमनका घटना अझै रोकिएको छैन । यी र यस्तै परिवेशलाई नाटकले दर्शकमाझ ल्याउन खोजेको छ ।
लेखक तथा निर्देशक भारतीले नाटकमा तीनवटा पक्षलाई सूक्ष्म दृष्टिकोणका साथ लेखेका छन् । भारतीले द्वन्द्व र अराजकतालाई पुनर्निर्माण गर्न सम्भावित स्रोत र साधनको प्रयोग गरेका छन् र उनी यसमा धेरै नै सफल भएका छन् । थिएटरको हावामा बारुदको गन्ध आउँदा दर्शक चकित हुन्छन् । कोहीकोहीलाई त बारुदको आवाजले थिएटरभित्र कान थुन्न बाध्यसमेत बनाउँछ । थिएटर हलको पम्परागत संरचना हेर्ने हो भने त्यसमा एक आधा स्टेज र दर्शकहरू विपरीत दिशामा केन्द्रित रही बीचमा स्पष्ट विभाजन गरिएको देखिन्छ । यस पटक पुरानो घर थिएटरले दर्शकलाई नाटक देखाउन धेरै नयाँ कुराको प्रयोग गरेको छ ।
त्यसैले पनि नाटकले यही परम्परागत शैलीको थिएटरलाई चुनौती दिएको छ । परम्परागत थिएटरको संरचनामा एउटा मात्रै स्टेज हुन्छ तर यो नाटकमा एउटा पूरा कोठा नै स्टेजका रूपमा प्रयोग गरिएको छ र दर्शकलाई भिन्न दिशामा बस्ने व्यवस्था मिलाएको छ, जहाँबाट दर्शकहरूले सम्पूर्ण नाटकका भावहरू अवलोकन र अनुभूत गर्न सक्छन् ।
नाटकमा द्वन्द्वकालको कथा जोडेर अहिलेको अवस्थालाई निर्देशक भारती देखाउन खोजेका छन् । ‘द्वन्द्वमा लडेका जनमुक्ति सेनाले के पाए, उनीहरूको अवस्था कस्तो छ र देशले माओवादी विद्रोहबाट निकास पायो कि पाएन भन्ने कुरा नाटकले देखाउँछ ।’
निर्देशक भारतीको निर्देशकीय पक्ष बेजोड छ, जसलाई दर्शकले अवश्य नै रुचाउने छन् । मञ्च निर्माणमा होम बीसी र खत परिवार धेरै नै मेहिनेत गरेको देखिन्छ । नाटकमा जयराम ढकाल, निशा ब्ल्याक क्याट, आभाष अधिकारी, अरुण पौडेल, रमेश वज्राचार्य, सन्देश कार्की, प्रकाश गुरागाईं, अदि योगी, सागर भट्टराई, श्रवन यादव, चर्चित ढुङ्गेल, प्रितम सागर शर्मा, निशा दाहाल, नुज महर्जन, उत्तम अधिकारी, रितेश कार्की, शिशिर गिरी, भावना उप्रेती, अर्नभ घिमिरे राजकमल र सरिता भुजेलको अभिनयलाई पनि हामीले भुल्न हुँदैन । नाटक सिनामङ्गलस्थित पुरानो घर थिएटरमा मञ्चन भइरहेको छ ।