• १७ असार २०८१, सोमबार

आचारसंहिता पालनामा दलबीच आशङ्का

blog

ललित बसेल

सुर्खेत, वैशाख ११ गते । स्थानीय तहको निर्वाचनमा आचारसंहिता पालनामा सुर्खेतस्थित राजनीतिक दलले एक अर्काप्रति आशङ्का गर्ने गरेका छन् । साना दलले ठूला दलमाथि आचारसंहिता उल्लङ्घन बढी गर्ने गरेको आशङ्का गरेका छन् भने ठूला दलले निर्वाचनमा खटिएका कर्मचारी, सुरक्षाकर्मी तटस्थ नहुने गरेको भन्दै आशङ्का गरेका हुन् । 

शनिबार जिल्ला प्रशासन कार्यालयमा आचारसंहिता कार्यान्वयनका सम्बन्धमा राजनीतिक दल तथा निर्वाचन अधिकृतबीचको छलफलमा राजनीतिक दलहरूले विगतमा भएका गतिविधि स्मरण गराउँदै एक अर्कालाई आशङ्काको  नजरले हेरे । 

नेपाली काँग्रेस सुर्खेतका सभापति खड्क पोख्रेलले मतदातालाई प्रलोभनमा पार्ने, सार्वजनिक सम्पत्तिको दुरुपयोग बढेकाले यसलाई नियन्त्रण गर्न सुझाव दिनुभयो । उहाँले निर्वाचनमा खटिएका कर्मचारी र सुरक्षाकर्मी पनि निष्पक्ष भएर काम गर्नुपर्ने भन्दै विगतमा त्यसो हुन नसकेको बताउनुभयो । 

नेकपा एमाले सुर्खेतका उपसचिव बलबहादुर नेपालीले सत्ताधारी दलले नै आचारसंहिता उल्लङ्घन बढी गर्ने दाबी गर्नुभयो । उहाँले मतदातालाई कुपन दिएर लोभ देखाउने, खटिएका कर्मचारी पनि पूर्वाग्रही हुने गरेको स्मरण गर्दै आचारसंहिता पूर्ण पालना गर्न÷गराउन आग्रह गर्नुभयो । 

नेकपा माओवादी केन्द्रका इन्चार्ज जितबहादुर रानाले विगतमा शिक्षा लिएर अबको निर्वाचन भयरहित, निष्पक्ष बनाउन सबैको सहयोग आवश्यक रहेको बताउनुभयो । नेकपा समाजवादी सुर्खेतका अध्यक्ष मोहन बडुवालले आचारसंहिता पालना गरी मित्रवत् प्रतिस्पर्धामा उत्रने सुझाव दिनुभयो । उहाँले निर्वाचनमा खटिने कर्मचारी र सुरक्षाकर्मीलाई तटस्थ भएर निर्वाचन प्रक्रियामा लाग्न आग्रह गर्नुभयो । राप्रपा सुर्खेतका अध्यक्ष कविराम पुरीले ठूला दलले नै आचारसंहिता उल्लङ्घन गर्ने गरेको आरोप लगाउनुभयो । राष्ट्रिय जनमोर्चालगायतका साना दलहरूले आचारसंहिता पालनामा ठूला दल बढी जिम्मेवार हुनुपर्ने बताउनुभयो ।

सुर्खेतका प्रहरी प्रमुख एसपी पदमबहादुर विष्टले जनशक्ति अभावमा एक मतदान केन्द्रमा तीन प्रहरी र छ म्यादी प्रहरी गरी नौ जनाको टोली खटिने जानकारी दिनुभयो । उहाँले सबैले आचारसंहिता पालना गरी निर्वाचनलाई निष्पक्ष बनाउन आग्रह गर्नुभयो । उहाँले आचारसंहिता उल्लङ्घनको उजुरी आएर तत्काल कारबाही गर्ने प्रतिबद्धता जनाउनुभयो । 

प्रहरी निर्वाचन कार्यालय प्रमुख दुर्गाप्रसाद चालिसेले सुर्खेतमा २५ दल निर्वाचनमा सहभागी हुने जानकारी दिँदै एक सय ३८ मतदान स्थल र दुई सय ९१ मतदान केन्द्र हुने बताउनुभयो । उहाँले सबै पालिकामा निर्वाचन अधिकृत खटिइसकेकाले सबैले निष्पक्ष निर्वाचन सम्पन्न गर्ने मूल लक्ष्य लिनुपर्नेमा जोड दिनुभयो । 

प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले सुरक्षा समितिले जिल्लाको निर्वाचन स्थल र केन्द्रको अनुगमनको काम गरिरहेको  जानकारी दिनुभयो । जिल्ला न्यायाधीश एवं मुख्य निर्वाचन अधिकृत डा. राजेन्द्रप्रसाद आचार्यले एक अर्काप्रति आशङ्का नगर्न आग्रह गर्दै निर्वाचनमा खटिने कर्मचारीले राजनीति आग्रह वा पूर्वाग्रह गरे एक घण्टाभित्र कारबाही गरिने प्रतिबद्धता जनाउनुभयो । उहाँले आचारसंहिता पालनामा बढी ध्यान दिन पनि सुझाव दिनुभयो ।