• १३ साउन २०८१, आइतबार

राप्रपाले सिद्धार्थनगरको प्रमुखमा सागरप्रताप राणालाई उम्मेदवार बनाउने

blog

कपिल ज्ञवाली
सिद्धार्थनगर, वैशाख ९ गते ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सागरप्रताप राणालाई सिद्धार्थनगर नगरपालिकाको प्रमुखको उम्मेदवार बनाउने घोषणा गरेको छ । पार्टीको रुपन्देही जिल्ला अध्यक्षसमेत रहेका राणालाई प्रमुख बनाउने घोषणा गरेको हो ।

राणा २०७४ को निर्वाचनमा पनि नगर प्रमुखमा उम्मेदवार रहनुभएको थियो भने त्यसअघि उहाँ नगरपालिकाका प्रमुख भएर काम गरिसक्नु भएको छ ।

राप्रपाका लुम्बिनी प्रदेश अध्यक्ष प्रदीप उदयले राणासहित जिल्लाका अन्य उम्मेदवारको नाम टुङ्गो लागेको बताउनुभयो । बुटवल उपमहानगरपालिकामा मृगेन्द्र शेरचन, सिद्धार्थनगर नगरपालिकामा सागरप्रताप राणा, तिलोत्तमा नगरपालिकामा भुवन खनाल, देवदहमा माधव रिमाल र रोहिणी गाउँपालिकामा ताहिर अली पालिका प्रमुखका उम्मेदावार तय गरेको उहाँको भनाइ  छ ।

यसअघि सिद्धार्थनगर नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसले संविधान सभा सदस्य इस्तियाक अहमद खानलाई उठाउने भएको छ ।

उम्मेदवार खान केही वर्ष अघि राप्रपामा हुनुहुन्थ्यो । सिद्धार्थनगरमा उपमेयर पद गठबन्धनका दलले लिने भएकाले नाम सार्वजनिक नगरिएको खाणले बताउनुभयो ।

यसअघि सिद्धार्थनगरमा एमालेले मेयर पदका लागि नेताहरु भरतकुमार पोखरेल, नारायणप्रसाद भण्डारी, हितराज पन्थी, डा. रामप्रसाद बस्याल, राजेन्द्रप्रसाद पन्थी, जीवलाल अर्याल, अर्जुनकुमार गिरी र वर्तमान प्रमुख हरिप्रसाद अधिकारीको नाम सिफारिस भइसकेको छ ।

यस्तै, जनता समाजवादी पार्टीले सिद्धार्थनगर नगरपालिकाको प्रमुखको उम्मेदवारमा अर्जुनप्रसाद जैसवाललाई सिफारिस गरेको छ । जसपा सिद्धार्थनगरका अध्यक्षसमेत रहेका जैसवाललाई नगर समितिले सर्वसम्मत सिफारिस गरेको सो पार्टीले जनाएको छ ।

जैसवाल यसअघि २०७४ को स्थानीय तह निर्वाचनमा तत्कालीन सङ्घीय समाजवादी फोरम, नेपालबाट प्रमुख पदका उम्मेदवार हुनुहुन्थ्यो ।