• १२ साउन २०८१, शनिबार

'पल्पसा क्याफे' मञ्चन हुँदै

blog

काठमाडौं, वैशाख ९ गते । थिएटर भिलेजको नाटक 'पल्पसा क्याफे' को मञ्चन आजबाट मण्डला थिएटरमा सुरु भएको छ । नारायण वाग्लेको मदन पुरस्कार प्राप्त उपन्यास 'पल्पसा क्याफे' मा आधारित भएर बनाइएको उक्त नाटक मण्डलामा वैशाख २५ सम्म मञ्चन हुनेछ । बिहीबार यसको विशेष प्रदर्शन गरिएको थियो ।

सुरज सुवेदीको नाट्य रुपान्तरणमा विमल सुवेदीको निर्देशन र दिलीप रानाभाटको सहनिर्देशनमा बनेको नाटकमा विमल सुवेदी र सृष्टि श्रेष्ठले दृश्य र पल्पसाको भूमिका निर्वाह गर्नुभएकाे छ । 

'पल्पसा क्याफे' उपन्यास नेपालको सर्वाधिक चर्चित उपन्यासमध्ये एक हो । दश वर्ष लामो सशस्त्र युद्धको वरपर रहेर एक पेन्टरको कथा बोल्ने उपन्यासले तत्कालीन परिवर्तनशील समाजको कथालाई सजिलो भाषामा बोलेर प्रसिद्धि कमाएको थियो । सशस्त्र युद्धमा सामेल भएको आफ्नो साथी सिद्धार्थले युद्ध हेर्न भनेर लगेपछि चित्रकार रहेको दृश्यले नजिकैबाट देखेको युद्धको वरपर उपन्यासको कथा घुमेको छ ।

नाटकमा सृष्टि र विमलका साथमा दीपेश राई, सङ्गीता थापा, पूर्णिमा आचार्य, बच्चु हिमांशु, सरगम राई, ङिमा शेर्पा, जेनी सुनुवार, चक्र पुलामी, श्रवण सिंह राना, लगायतका कलाकारको अभिनय रहनेछ ।