• ८ पुस २०८१, सोमबार

टिकटकको बढ्दो मोह

blog

यलुु जोशी 

काठमाडौँ, वैशाख ९ गते । नेपालमा हाल हरेक चोक गल्लीदेखि खुला सडकमा टिकटक बनाउनेको भीड लाग्ने गरेको छ । बालबालिकादेखि युवापुस्ता, वृद्धवृद्धामा टिकटकको मोह बढ्दै गएको छ । हनुमानढोका दरबार संरक्षण क्षेत्रमा त दिनहुँ टिकटक बनाउनेको भीड नै लागिरहेको पाइन्छ । 

एउटाको हातमा मोबाइल र अर्कोले नृत्य वा अभिनय गरी भिडियो बनाइरहेको देख्न सकिन्छ । ‘रोल्पा बक्सियो मलाई रुकुम’ बोलको गीतमा नृत्य गरिरहनुभएका अस्मि रिजालले आफ्नो साथीलाई भन्दै हुनुहुन्थ्यो, यो सेतो दरबार पनि आउनुपर्छ है । अनि मात्र म रानी जस्तो हुन्छु । 

१५ सेकेन्डको गीतमा नृत्य गर्न भ्याउनुभएका रिजाल अब पोस्ट गरेर भाइरल बन्नुपर्ने अभिव्यक्त गर्दै हुनुहुन्थ्यो । हनुुमानढोका गद्दी बैठकको अगाडिको सडकमा नृत्य गरिरहनुभएको रिजालले भन्नुभयो, “पहिले नृत्य गर्न लाज लाग्थ्यो, अहिले टिकटक बनाउने लत लागेपछि नयाँ ठाउँ देखेपछि भिडियो बनाउँछु ।” टिकटकमा भिडियो पोस्ट गरेकै कारण विभिन्न ठाउँ र मान्छेलाई चिन्न थालेपछि यसको लोकप्रिय बढेको उहाँको अनुभव छ । वसन्तपुरमा विभिन्न सम्पदा हुनुका साथै सवारीसाधनले दुःख नदिने भएकोेले आरामसँग टिकटक बनाउन सक्ने पनि रिजालको भनाइ छ । यसैगरी आफ्नी सात वर्षीया छोरी आराध्या श्रेष्ठको टिकटक बनाउन व्यस्त हुनुहुन्थ्यो आरती श्रेष्ठ । 

वसन्तपुरस्थित कुमारीघरको ढोकामा आफ्नो सानो छोरीलाई यो गर र त्यो गर भन्दै सिकाउनुभएको उहाँ भन्नुहुन्छ, “दैनिक एक दुईवटा छोरीको भिडियो बनाइरहेको हुन्छु । सानो–सानो गीतबाट छोरीमा भएको नृत्य प्रतिभालाई प्रस्फुटन गराउन मद्दत गर्ने श्रेष्ठले बताउनुभयो । हप्ताको एक पटक नयाँ–नयाँ ठाउँमा छोरीलाई घुमाउन लग्दा टिकटक बनाउँछु । ट्राफिक प्रहरीका प्रवक्ता प्रहरी उपरीक्षक सञ्जीव शर्मा दासले टिकटक बनाएकै कारण सवारी दुर्घटना नभएको जानकारी दिनुभयो । 

उहाँले सवारीसाधन गुड्ने ठाउँमा यस्तो क्रियाकलाप नगरेको दाबी गर्दै अहिलेसम्म टिकटककै कारण अप्रिय घट्ना नभएको बताउनुभयो । खुला सडक वा सवारीसाधन व्यस्त नभएको ठाउँमा टिकटक बनाएको होला, त्यसैले ट्राफिकलाई कुनै असर नगरेको दासको भनाइ छ । टिकटकको अत्यधिक प्रयोगले टिनएजरमा विभिन्न मानसिक समस्या पनि उत्पन्न हुनसक्ने अध्ययनले देखाएका छन् । त्यसैले टिकटकको प्रयोग नियन्त्रित हुनुपर्ने सुझाव मनोविद्हरूको छ । यता मनोविश्लेषक वासु आचार्य भन्नुहुन्छ, “केटाहरूमा पब्जीको जस्तै केटीहरूमा टिकटक लत बढेको देखिन्छ । यसमा एकोहोरो भएर लाग्दा मानसिक रूपमा असर पर्छ । 

उहाँले सबै कुरा बिर्सेर टिकटकमा अत्यधिक समय बिताउनु मानसिक स्वास्थ्यका लागि फाइदाजनक नहुने बताउनुभयो । टिकटकमा आफूले सोचेजस्तो लाइक र कमेन्ट नआउँदा युवापुस्ता दुःखी र निराश हुने समस्या छ । आचार्यले भन्नुभयो, “अहिले धेरैलाई कसरी हुन्छ भाइरल हुनुपरेको छ । भाइरल हुने लोभमा युवायुवती अनेक किसिमका प्रयोग गर्छन् ।” 

टिकटकमा लाइक र कमेन्टको पछि दौडिनुभन्दा यसलाई सामान्य मनोरञ्जनको साधनका रूपमा उपभोग गर्न आचार्यको सुझाव छ । ललितपुरको लुभुको पोखरी, भक्तपुरको गुण्डुलगायतका ठाउँ पनि टिकटककै कारण भाइरल बनेपछि अहिले जान निषेधित गरिएको छ । यसैगरी टिकटक बनाउन आउनेको भीड थाम्न नसकिएपछि कञ्चनपुरको ’भाइरल रोड’मा आवागमन बन्द गरिएको थियो । भीमदत्त नगरपालिका–१२, ओदालीस्थित–६ लेनको सडकमा टिकटक बनाउन आउनेको भीड बढ्न थालेको र दुर्घटना हुन थालेपछि आवागमनमा प्रतिबन्ध लगाइएको हो ।