• ३० वैशाख २०८१, आइतबार

लगानी सम्मेलनको उत्साह

blog

मुलुकको तीव्रत्तर विकासको अभिप्रायले सरकारले गर्दै आएको बाह्य तथा आन्तरिक लगानीकर्ताको दुईदिने सम्मेलन आज काठमाडौँमा प्रारम्भ हुँदै छ । विसं २०७३ र २०७५ मा गरिएका दुई वटा लगानी सम्मेलनपछि ढिलो गरी आयोजना गरिएको तेस्रो सम्मेलनलाई मुलुकको समृद्धि यात्रामा कोसेढुङ्गा साबित गराउन सरकारले पूर्ण तयारीका साथ ‘सोकेस’ आयोजना सम्मेलनमा प्रस्तुत गरिने छ । एक वर्षअघिदेखि नै तयारीमा जुटेको सरकारले तेस्रो लगानी सम्मेलनलाई सुस्ताएको मुलुकको अर्थतन्त्रलाई माथि उकास्ने अवसरका रूपमा लिएको छ । यसअघिका सम्मेलनमा देखिएका कमीकमजोरीहरूमा सुधार तथा लगानीकर्ताहरूबाट प्राप्त सुझावसमेत मनन गर्दै सरकारका तर्फबाट गरिएको सुधार, ऐन–नियमहरूमा गरिएको परिमार्जन एवं सरकारी प्रतिबद्धताले सम्मेलनमा सहभागी लगानीकर्तामा उत्साह वृद्धि भएको अनुभव गरिएको छ । 

तेस्रो लगानी सम्मेलनका लागि सरकारले विश्व बजारमा लगानी गर्दै आएका विभिन्न मुलुक तथा मुलुक सम्बद्ध लगानीकर्ताहरूलाई आमन्त्रण गरे अनुरूप ६२ मुलुकबाट एक हजारभन्दा बढी लगानीकर्ताहरू आउने अग्रीम जानकारी लगानी बोर्डको सचिवालयले गराएको हो । नेपालमा लगानी गर्न राम्रो वातावरण छ र लगानीकर्ताले आफ्नो लगानीको प्रतिफल सजिलै लैजान सक्छन् भन्ने सन्देश यो सम्मेलनमार्फत सरकारले दिन चाहेको छ । त्यसका लागि कानुनी सुधार, लगानीका प्राथमिकता क्षेत्र निर्धारण, उत्पादित वस्तु तथा सेवाको बजार सुनिश्चिततालगायत महत्वपूर्ण आधारहरू सरकारले तयार पारिसकेको देखिन्छ । विश्वासपूर्ण आधार प्रस्तुत गरेर लगानीकर्ताको मन जित्ने वातावरण निर्माण गर्नु मात्र पनि सम्मेलनको उपलब्धिमूलक हुने अर्थविद्को भनाइ स्वाभाविक देखिन्छ । 

मुलुकमा प्राकृतिक स्रोतसाधन पर्याप्त हुँदाहुँदै पनि प्रयोगमा ल्याउन नसक्दा विकासमा पछि पर्नु परेको यथार्थ जगजाहेर छ । यसले आय, उत्पादन र रोजगारीमा प्रतिकूल प्रभाव पारेको छ । जलविद्युत्, उद्योग, पर्यटन, कृषि, सूचना प्रविधि तथा पूर्वाधार विकासमा प्रशस्त लगानी गर्न सकिने अवस्था हुँदाहुँदै पनि भरपर्दो वातावरण निर्माण गर्न नसक्नु आफ्नै कमजोरी भएको विज्ञहरूको भनाइलाई नकार्न सकिन्न । यस पटक भने सरकारले सबै क्षेत्रका विज्ञहरूसँगको परामर्श, बाह्य लगानीकर्ताको चाहना एवं मुलुकको समृद्धिमा महत्वपूर्ण देखिएका आयोजनाको छनोट गरेर १४८ परियोजनालाई ‘सोकेस’ मा राख्ने छ । सरकारले अर्थमन्त्रीको संयोजकत्वमा निर्देशक समिति, मुख्य सचिवको नेतृत्वमा कार्यान्वयन समिति, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवको संयोजकत्वमा प्राविधिक समिति गठन गरेर सम्मेलनलाई उपलब्धिमूलक बनाउनेतर्फ कुनै कसर बाँकी नराख्ने गरी तयारी पूरा गरेको हो । 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयम् लगानी बोर्डको अध्यक्षको हैसियतले सम्मेलनलाई मुलुकको समृद्धिका लागि महìवपूर्ण अवसरका रूपमा लिएर आफू सहभागी विभिन्न मुलुकका सभासम्मेलनमा लगानीकर्तालाई आह्वान गर्ने गर्नुभएको स्मरणीय छ । हालै कतारका अमिरको नेपाल भ्रमणका अवसरमा पनि उहाँले कतारका लगानीकर्तालाई आह्वान गर्नुभएको विदित हुन्छ । यसअघि अर्थमन्त्री तथा निर्देशक समितिका संयोजक वर्षमान पुनले विदेशस्थित नेपाली राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूलाई लगानी सम्मेलनका लागि आफू सम्बद्ध देशका लगानीकर्तालाई सम्मेलनमा भित्र्याउने कार्यलाई प्राथमिकतामा राख्न निर्देशन दिनुभएको थियो । सम्मेलनमा प्रस्तुत गरिएका आयोजनाहरूको ‘सोकेस’ मा सबैभन्दा धेरै ऊर्जा क्षेत्रका ३१ वटा आयोजना रहेका छन् । यसै गरी यातायात क्षेत्रका १९, खानी तथा खनिजजन्य क्षेत्रका १३, पर्यटन क्षेत्रका १३, कृषिका १४, उत्पादन क्षेत्रका पाँच, औद्योगिक पूर्वाधार तथा व्यापारसम्बन्धी सात, स्वास्थ्य तथा शिक्षा क्षेत्रका तीन, सञ्चार तथा सूचना प्रविधि क्षेत्रका दुई, पानी आपूर्तिका चार र सहरी विकास क्षेत्रका छ वटा परियोजना समावेश गरिएको छ ।

यो पटक निजी क्षेत्रबाट प्रस्तुत ३१ वटा परियोजना पनि बाह्य लगानीका निम्ति समावेश गरिएको छ । मुलुकमा तयारी अवस्थामा रहेको १६ औँ आवधिक योजना तथा आगामी आर्थिक वर्षको बजेटको पूर्वसन्ध्यामा भएको लगानी सम्मेलन निकै महìवपूर्ण हुने छ । मुलुकको अर्थतन्त्रका सूचकहरू सुधारोन्मुख देखिँदा देखिँदै पनि निजी क्षेत्र र समग्र अर्थ बजारको अवस्था भने आशातीत चलायमान हुन नसकिरहेको सन्दर्भमा सम्मेलनबाट सहयोग पुग्ने अपेक्षा गरिएको छ । मुलुकको बैङ्किङ क्षेत्रमा पर्याप्त तरलता रहेको अवस्थामा निजी क्षेत्र लगानी गर्न उत्साहित नदेखिएकाले सम्मेलनमार्फत बाह्य क्षेत्रका लगानीकर्तालाई भित्र्याउन सक्दा स्वाभाविक रूपमा आन्तरिक लगानीकर्तामा पनि उत्साह वृद्धि हुने आकलन गरिएको छ । सम्मेलनमा आउने प्रतिबद्धताभन्दा पनि विगतका सम्मेलनको अनुभवका आधारमा वास्तविक लगानीकै रूपमा भित्र्याउन सकियो भने मुलुकको समृद्धि यात्रामा तेस्रो लगानी सम्मेलन कोसेढुङ्गा साबित हुने देखिन्छ ।