शंकर केसी
सल्यान, कात्तिक १० गते । सल्यानमा एक युवा दिनभर अफ्ठयारो भिरमा फसेका छन् । बालुवासंग्रही–खलंगा सडकखण्ड अन्तर्गत पर्ने कठिन भिर क्षेत्र कोटभिरमा गएर अड्किनुभएका बनगाड कुपिण्डे नगरपालिका वडा ७ औलागाउँ निवासी २८ वर्षीय रमेश पुनलाई सोमबार बेलुकी मात्र उद्धार गरिएको हो ।
स्थानीयका अनुसार उहाँ मानसिक स्वास्थ्य समस्याबाट ग्रसित हुनुहुन्थ्यो । बनगाड ७ का वडा अध्यक्ष जीवनसिंह ठकुरीले दिएको जानकारीअनुसार भौगोलिक रुपमा जटिल कोटभिरमा फसेका र ज्यानको जोखिम रहेकोमा रमेशलार्इ प्रहरीले सोमबार बेलुका ५–१५ बजेतिर उद्धार गरेको छ । उहाँले भन्नुभयो, ‘कसरी उक्त अनकन्टार भिरमा उहाँ कतिखेर जानुभयो भन्नेबारे अझै थाहा भएको छैन । स्थानीयले भिरमा फसेको थाहा पाएपछि मलार्इ आज दिउँसो साढे एक बजेतिर फोन गर्नुभएको थियो । मैले तुरुन्तै प्रहरीलार्इ जानकारी गराएँ । उहाँको उद्धार भएको जानकारी पाएको छु ।’ भौगोलिक जटिलता र कठिन भूभागका कारण उक्त स्थानमा मान्छे पुग्न जोखिमपूर्ण मानिन्छ ।