काठमाडौँ, कात्तिक १० गते । नवनियुक्त स्वास्थ्य तथा जनङ्ख्यामन्त्री डा.सुधा गौतमले निर्वाचन भाँड्ने प्रयास नगर्न सबै राजनीतिक दलहरुलाई आग्रह गर्नुभएको छ ।
सोमबार काठमाडौँको ट्रमा सेन्टर र शिक्षण अस्पतालमा उपचाररत जेनजी आन्दोलनका घाइतेहरुसँगको भेटपछि उहाँले यस्तो आग्रह गर्नुभएको हो ।
उहाँले अब निर्वाचन भाँड्ने नाममा आन्दोलन नगर्न सम्बन्धित सबैलाई ध्यानाकर्षण गराउनुभयो । सरकार निर्वाचनमा केन्द्रित भएकाले त्यसको विरोध गरिरहन आवश्यक नभएको मन्त्री गौतमको भनाइ छ ।
उहाँले घाइते बिरामीले आफूलाई अस्पतालको विकृति र बेथितिको बारेमा ध्यानाकर्षण गराएको उल्लेख गर्दै उनीहरुले दिएको सुझावको आधारमा अस्पतालको सुधारमा लागिपर्ने प्रतिबद्धता गर्नुभयो ।
मन्त्री गौतमले भन्नुभयो, ‘‘बिरामीहरुको अवस्था हेर्दा निकै गाह्रो भयो । म मुलुक आन्दोलनमा नजाओस् भन्न चाहन्छु । जसले सरकारको विरोध गर्नुहुन्छ, चुनाव भाँड्न खोज्नुहुन्छ उहाँलाई त्यसो नगर्नुस् भनेर अनुरोध गर्न चाहन्छु । हाम्रो जन आन्दोलनको मर्म के थियो भने यी विकृति र बेथिति हटुन् भन्ने थियो । त्यसका लागि आएका सकारात्मक सुझावलाई ग्रहण गर्दै हामी सबैले त्यही दिशामा कार्यरत रहनुपर्छ । मैले गरेका कामहरु कति, के भयो भन्ने कुरा म पारदर्शिता ढङ्गले देखाउनेछु ।’’
मन्त्री गौतमले काठमाडौँको सिनामङ्गलस्थित केएमसी अस्पतालमा रहेका जेनजी आन्दोलनका घाइतेहरुको अवस्थाबारे पनि जानकारी लिनुभएको थियो । त्यस क्रममा उहाँले अस्पतालले घाइतेका उपचारमा कुनै कमी नगरेको बताउनुभयो ।
सोही क्रममा मन्त्री गौतमले जेनजी आन्दोलनका सहिद र घाइतेहरुको बलिदान खेर जान दिन नहुने जिकिर गर्नुभयो ।