राजन रावत
हुम्ला, कात्तिक ११ गते । नेपाल र चीनको सिमाना हिल्सामा निर्माण कार्य पूरा भएको एक वर्ष भइसक्दा पनि मैत्री पुल अझै सञ्चालनमा आउन सकेको छैन । चिनियाँ पक्षले निर्माण पूरा गरेको सो पुल सञ्चालनका लागि आवश्यक प्रक्रिया भइरहेका कारण सञ्चाल आउन नसकेको हो ।
गत वर्ष मङ्सिरमा दुई देशको सिमामा कर्णाली नदीमाथि सो मैत्री पुल निर्माण सम्पन्न भएको थियो । एक वर्ष बितिसक्दा पनि हालसम्म सञ्चालनमा आउन नसकेको यारी नाका भन्सार कार्यालयका प्रमुख रामराज जैसीले बताउनुभयो ।
निर्माण भएको पुल सञ्चालनमा आउन नसक्नुको कारणबारे हिल्साकै चिनियाँ कस्टमका अधिकारीसँग जिज्ञासा राख्दा मैत्री पुल सञ्चालनका लागि आवश्यक प्रक्रिया पूरा गर्न केन्द्रमा लेखी पठाएको उहाँले बताउनुभयो । उक्त पुल सञ्चालनमा नआउँदा हिल्साबाट ताक्लाकोट आवागमनमा पैदलै हिँड्नुपर्ने अवस्था छ । नेपालका तर्फबाट सो मैत्री पुल निर्माण गर्दा समन्वयको जिम्मा पाएको हिल्सा–सिमकोट सडक योजनाका प्रमुख बेलबहादुर नेपालीले पुल सञ्चालनबारे आफूलाई कुनै जानकारी नआएको बताउनुभयो । चिनियाँ पक्षबाट कुनै जानकारी नआएका कारण पुल सञ्चालनबारे केही भन्न नसकिने उहाँले जनाउनुभयो । उहाँले निर्माण गरिएको पुललाई चाँडो सञ्चालनमा ल्याउन पनि चिनियाँँ पक्षसँग आग्रह गर्नुभयो । १२० मिटर लामो सो मैत्री पुल सम्पूर्ण रूपमा निर्माण पूरा भएर पनि त्यत्तिकै छ ।
मैत्री पुल चिनियाँ पक्षले एक वर्षको अवधिमा निर्माण पुरा गर्ने गरी काम सुरु गरिएकोमा छ महिनामै बनाएको हो । पुल निर्माणका क्रममा चिनियाँ पक्षले नेपाली भूमिमा पुलको अन्तिम विन्दुबाट ३५० मिटर लम्बाइ र आठ मिटर चौडाइ कालोपत्रे सडक पनि निर्माण गरिसकेको छ । सो काम गत भदौमा १४ दिनमै गरिएको थियो । हिउँदे मौसम सुरु भइसकेका कारण अब हिउँ परेपछि पुल सञ्चालनमा आउने सम्भावना कमै रहेको स्थानीयले बताएका छन् ।