• १ कात्तिक २०८२, शनिबार

क्रिकेटले ल्याएको खुसी

blog

नेपाली क्रिकेटले पुनः एक पटक सम्पूर्ण नेपालीको मुहारमा खुसी ल्याएको छ । ओमानमा भएको आइसिसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटमा दुई खेलअघि नै नेपाल सन् २०२६ मा हुने विश्वकपमा चयन भएको छ । नेपालका लागि यो सफलता अत्यावश्यक पनि थियो । हाल राजनीतिक अस्थिरताले मात्र चर्चामा रहने नेपालको चर्चा राम्रो कारणले विश्वमा भयो । यसका लागि नेपाली क्रिकेटलाई धन्यवाद दिनै पर्छ । नेपालले समग्रमा तेस्रो पटक र लगातार दोस्रो पटक आइसिसी टी–२० विश्वकपमा खेल्ने छ । टी–२० विश्वकपको १० औँ संस्करण सन् २०२६ को फेब्रुअरी–मार्चमा भारत र श्रीलङ्कामा संयुक्त रूपमा आयोजना हुँदै छ । नेपाल प्रतियोगितामा अपराजित एक मात्र टिम हो । समूह चरणमा जापान र कुवेतलाई हराएपछि नेपालले सुपर सिक्समा घरेलु टिम ओमान, संयुक्त अरब इमिरेट्स (युएई) र कतारलाई पनि घुँडा टेकायो । अब तुलनात्मक रूपमा कमजोर सामोआलाई शुक्रबार हराएमा नेपाल च्याम्पियन बन्ने छ । त्यसैले भन्न सक्छौँ, नेपाल यस ग्लोबल छनोट प्रतियोगिताको ट्रफीको सँघारमा छ । नेपालले पहिलो पटक सन् २०१४ मा टी–२० विश्वकप खेलेको हो । नेपालले विश्वकपमा पहिलो सहभागितामै अनपेक्षित रूपमा तीन दुई खेल जितेर विश्वलाई प्रभावित पारेको थियो । त्यसपछि नेपाली क्रिकेट समर्थकको हरेक पटक नेपालले अर्को विश्वकप क्रिकेट खेल्ने छ भन्ने अपेक्षा रह्यो तर नेपाललाई अर्को विश्वकप खेल्न १० वर्ष लाग्यो । 

नेपालले सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा भएको पछिल्लो विश्वकप खेलेको हो । सो विश्वकपमा पनि नेपालको चर्चा चुलिएको थियो । नेपाली क्रिकेटले अब पुनः विश्वकपको मञ्चमा आफ्नो क्षमता देखाउने अवसर पाएको छ । जारी विश्वकप छनोटमा गरेको प्रदर्शन र यसअघि दुई पटकको विश्व विजेता वेस्ट इन्डिजविरुद्ध टी–२० शृङ्खला जितेर इतिहास बनाएकाले पनि आगामी विश्वकपमा नेपाल हेर्नलायक टिमको रूपमा रहने पक्का छ । विश्वकप छनोटमा असाधारण प्रदर्शनका लागि घरेलु क्रिकेटको सर्वोच्च संस्था नेपाल क्रिकेट सङ्घ (क्यान) लाई पनि प्रशंसाको हकदार छ । क्यानले विश्वकपको तयारीस्वरूप यस पटक साँच्चिकै उल्लेखलायक तयारी गरेको थियो । विश्वकप छनोटका लागि नेपालले भारतमा प्रशिक्षण गरेको थियो । त्यसपछि करिब एक महिना लामो अस्ट्रेलिया भ्रमणमा नेपाल क्रिकेट टिम रह्यो । सो भ्रमणमा नेपालले विश्वका ११ स्तरीय टिम सहभागी भएको टप एन्ड टी–२० सिरिजमा खेलेको थियो । यही महिना क्यानले विश्वकप छनोटकै तयारीस्वरूप युएईमा दुई पटकको विश्वपविजेता वेस्ट इन्डिजसँगको द्विपक्षीय शृङ्खला आयोजना ग¥यो । नेपालले आइसिसीको पूर्ण सदस्य राष्ट्रसँग द्विपक्षीय शृङ्खला खेलेको यो पहिलो पटक थियो । ठुला राष्ट्रसँगको पहिलो शृङ्खला नै जितेर नेपालले ठुलो उपलब्धि प्राप्त गरेको थियो । यी नतिजाबाटै नेपाली टिम विश्वकप छनोट खेल्न उच्च मनोबलसहित ओमान गएको थियो । विशेष गरी टेस्ट मान्यताप्राप्त वेस्ट इन्डिजविरुद्धको शृङ्खला जितले नेपाली खेलाडीमा जुनसुकै टिमलाई हराउन सकिन्छ भन्ने आत्मविश्वास बढेको छ । नभन्दै नेपालले विश्वकप छनोटमा प्रतियोगिताकै नम्बर एक टिमको रूपमा आफूलाई प्रस्तुत ग¥यो ।

विश्वकपको कठिन बाटो तय गर्न क्यानले जसरी योजना बनायो, त्यसले क्यान सक्षमता र दूरदर्शितालाई पनि देखाएको छ । विगतमा नेपाली क्रिकेटको उपलब्धिमा प्रशिक्षक र खेलाडीहरूको मेहनत, त्याग र तपस्याले मात्र सम्भव भएको हो भन्ने गरिन्थ्यो । नेपालले पहिलो पटक विश्वकप खेल्दा क्यान अस्थिर थियो । सन् २०१६ मा त क्यान आइसिसीको प्रतिबन्धमै परेको थियो तर अहिले क्यान एक नेपालको उदाहरणीय सङ्घ बनेको छ । यसपालिको सफलता खेलाडी र प्रशिक्षकको कारणले मात्र होइन क्यानको व्यवस्थापन चुस्तता, योजना र दूरदर्शिताले सम्भव भएको हो भन्दा फरक पर्दैन । अबको लक्ष्य झन् स्पष्ट छ आगामी विश्वकपमा ठुला क्रिकेट राष्ट्रविरुद्धको जित, जुन पक्कै पनि सहज छैन । यद्यपि क्यानसँग करिब चार महिनाको समय छ । यस समयमा क्यान अझ योजनाबद्ध ढङ्गले अगाडि बढ्न जरुरी छ । नेपाली क्रिकेटलाई आफूभन्दा बलियो राष्ट्रसँगको क्रिकेट शृङ्खला विश्वकपका लागि तयारीको सबभन्दा राम्रो पहल हुन सक्छ । एसोसिएट राष्ट्रले लामो समयसम्म सफलतालाई बनाइ राख्न सकेको इतिहास छैन । विश्वकप खेलिसकेका केन्या, बर्मुडा जस्ता देश यसका ज्वलन्त उदाहरण हुन् तर नेपाललाई विश्वले यस सूचीमा राखेको छैन । विश्व क्रिकेटले नेपाललाई टेस्ट मान्यताप्राप्त गर्न सक्ने टिमका रूपमा लिएको छ । नेपालमा क्रिकेटको संस्कृति छ । त्यसैले अब नेपाली क्रिकेट संस्कृतिलाई जोगाउने र विश्वकपमा थप परिष्कृत बनाउने ठुलो जिम्मेवारी क्यानसँगै सरकारको पनि रहेको छ ।