दसैँपछिको दोस्रो ठुलो चाड तिहार हो । यो पर्व हर्षोल्लासपूर्वक पाँच दिनसम्म मनाइन्छ । तिहारलाई पौराणिक ग्रन्थ र धर्मशास्त्रमा यमपञ्चक भनिएको छ । यो कार्तिक कृष्ण त्रयोदशीका दिन यमदीपदानबाट सुरु भई कार्तिक शुक्ल द्वितीयामा भ्रातृपूजन गरेर सकिन्छ । भाइटीकालाई शास्त्रहरूमा भ्रातृद्वितीया वा यमद्वितीया पनि भनिएको छ । यी पाँच दिन मृत्युका देवता यमराज बहिनी यमुनाकहाँ गएर बसेको र अन्तिम दिन यमराजलाई यमुनाले टीका लगाइदिएका कथाहरू प्रचलित छन् । तिहार प्रकृतिसँग जोडिएको पर्व पनि हो । यसमा चरा र विभिन्न चौपाया अनि पर्वतको पूजा हुन्छ । त्यसले प्रकृतिसँग निकटता दर्शाउँछ । तिहारमा खेलिने देउसीभैलोमा पनि पर्यावरण चेतना प्रतिविम्बित हुने भएकाले यसलाई प्रकृतिसँग जोडेर हेर्नु पर्छ । भाइपूजालाई प्रकृतिसँग नै जोडेर हेर्ने गरिन्छ । पूर्ण आयु बाँच्नु पर्छ भन्ने प्राकृतिक चेतना त्यसमा मिसिएको छ । त्रयोदशीका दिन आयुर्वेदका महर्षि धन्वन्तरीको प्रादुर्भाव भएको ठानिन्छ । पुराणहरूका अनुसार देवता र दानवले मिलेर समुद्र मन्थन गर्दा हातमा अमृत भरिएको कलश लिएर धन्वन्तरी उत्पन्न भएका थिए । अचेल धन्वन्तरी जयन्तीलाई धनतेरस भनेर पनि मनाउन थालिएको छ । तिहार झिलिमिली उज्यालोको चाड, प्रकृति पूजनको चाड, फूलैफूलको चाड, जनावर तथा पन्छी पूजन चाड, दिदीभाइ तथा दाजुबहिनीको चाड, दीपावलीको चाड आदि भनेर पुकारिन्छ । मुख्य गरी पाँच दिनसम्म बृहत् रूपमा मनाइने यो चाडको महिमा, गरिमा र महत्व झन् झन् बढ्दै गएको छ ।
पौराणिक धार्मिक आस्था र विश्वासका आधारमा पाँच दिनसम्म यमराज तथा उनका दूतहरूको पूजा, अर्चना, प्रार्थना तथा आराधना गरिने भएकाले तिहारलाई यमपञ्चक भनिएको हो । सूर्यका यमराज र यमुना दुई छोराछोरी थिए । एक पटक यमुनाले आफ्ना दाजुलाई आफ्नो निवासमा निम्तो गरेकी थिइन् । बहिनीले दिएको आत्मीय निम्तोलाई सहर्ष स्वीकार गर्दै कार्तिक कृष्ण त्रयोदशीका दिन आतिथ्यता ग्रहण गर्नका लागि यमराज बहिनी यमुनाकहाँ गएका थिए । यमुनाले दाजुको आतिथ्य सत्कारमा कुनै कसर बाँकी राखिनन् । यमराज पनि आफ्नो बहिनीको सत्कारमा आनन्दित भई कामको थकान मेटाउन कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीया (पाँच दिन) सम्म बहिनीको निवासमा विश्राम गरे । पाँचौँ दिन कार्तिक शुक्ल द्वितीयाका दिन बहिनी यमुनाको हातबाट टीका लगाएर आशीर्वाद दिई उनी बिदा भए । यही धार्मिक कथनको मूल मर्मलाई आधार मानेर तिहार मनाउन थालिएको किंवदन्ती छ । कार्तिक कृष्ण त्रयोदशीको दिन तिहारको पहिलो दिन हो । यस दिनलाई काग तिहार भनिन्छ । कागलाई यमराजको दूत तथा सन्देश वाहक मानेर पूजा गरिन्छ । पन्छीमा चतुर मानिने सर्वभक्षी प्राणी कागलाई समग्र पन्छीको प्रतिनिधिका रूपमा पनि पूजा गर्ने गरिन्छ । यमपञ्चकको दोस्रो दिन कार्तिक कृष्ण चतुर्दशीलाई कुकुर तिहारका रूपमा पूजा गरिन्छ । कुकुरलाई यमराजको दूत मानिने भएकाले यस दिनलाई नरक चतुर्दशी पनि भन्ने गरिन्छ । यमराजलाई खुसी बनाउन कुकुरलाई पूजा गर्ने गरिएको हो ।
कार्तिक कृष्ण औँसी यमपञ्चकको तेस्रो दिन हो । यस दिनमा माताका रूपमा गाईको विशेष पूजा गरिन्छ । गाईलाई धनधान्य मातादेवी लक्ष्मीको प्रतीक मानिने भएकाले साँझपख मठ मन्दिर तथा घर आगनमा बत्ती बालेर झिलिमिली पार्दै लक्ष्मीपूजा गरिन्छ । महिला पुरुष देउसीभैलो खेल्ने सुरु गर्छन् । यमपञ्चकको चौथो दिन कार्तिक शुक्ल प्रतिपदा जसलाई गोरुतिहार भनिन्छ । यस दिन गोरु, गोवर्धन र बलि राजाको पनि पूजा गरिन्छ । नेवार समुदायले म्हःपूजा गर्छन् । यो दिन नेपाल संवत् अनुसार नयाँ वर्ष प्रारम्भ हुन्छ । यमपञ्चकको पाँचौँ दिन कार्तिक शुक्ल द्वितीया तिहारको प्रमुख दिन हो । जसलाई भाइतिहार अर्थात् भाइटीका भनिन्छ । यस दिन दिदीबहिनीहरूले दाजुभाइलाई श्रद्धा र भक्तिपूर्वक टीका लगाइदिन्छन् । धार्मिक आस्था र विश्वासका आधारमा यस दिन दिदीबहिनीले यम–यमुना, यमराज, यमदूत, सूर्य तथा अष्टचिरञ्जीवीको पूजा गर्ने गर्छन् । दिदीबहिनीले दाजुभाइको चिरायु, सुस्वास्थ्य, सुख, शान्ति, ऐश्वर्यको कामनासहितको प्रार्थना गर्दै निधारमा सप्तरङ्गी टीका, दूबो, मखमली, सयपत्री तथा गोदावरीको माला लगाइदिन्छन् । धार्मिक विधि अनुसार भाइटीका लगाइसकेपछि दिदीबहिनीले दाजुभाइलाई सगुन, प्रसाद, सेलरोटी, मिठाई, फलफूल, मसला आदि प्रदान गर्ने र दाजुभाइले दिदीबहिनीलाई उपहार तथा दक्षिणा प्रदान गर्ने प्रचलन छ । अतः यो मौलिक पर्व तिहारले सबै नेपालीमा सुख, शान्ति र खुसी ल्याउन सकोस् । अहिंसा, आत्मीयता र सहकार्यको यो पर्वले हिंसा, आतङ्क, विध्वंस, बेमेल र बेथिति अन्त्य गर्न सकोस् । सबैमा हार्दिक शुभकामना ।