• २ कात्तिक २०८२, आइतबार

कूटनीतिक विश्वास

blog

नेपाल विश्व समुदायमा शान्तिप्रिय मुलुक हो । गौतम बुद्धको जन्मभूमि नेपालले विश्व शान्ति कायम गर्न संसारका धेरै मुलुकमा योगदान पु¥याउँदै आएको छ । संयुक्त राष्ट्रसङ्घीय शान्ति मिसनमा सहभागी भएर नेपाली सेनाले सेवा गर्दै आएको छ । विश्व शान्तिमा योगदानकर्ता स्वयम्ले भने आर्थिक विकासमा लय समाउन सकेको छैन । मूलतः देशलाई समृद्धिको मार्गमा अगाडि बढाउन भ्रष्टाचार मूल बाधक भयो । सार्वजनिक कोषको दुरुपयोगले आर्थिक विकासका आधार खडा हुन सकेन । चार/पाँच दशकअघि नेपालकै हाराहारीमा रहेका एसियाकै कतिपय मुलुक अहिले आर्थिक तथा सामाजिक विकासको उचाइतिर अग्रसर छन् । बेरोजगारी, अभाव र न्यून आर्थिक वृद्धिको चक्रमा नेपाल परिरहेको छ । यसको मूल कारण भ्रष्टाचार र कुशासन नै हो । सुशासन र पारदर्शिताको अभावले आमसर्वसाधारणमा निराशा फैलिँदै जानु स्वाभाविक थियो । यो अवस्थालाई नवपुस्ता अर्थात् जेनजीले विद्रोहका रूपमा आकार दियो । भदौ २३ र २४ मा घुसपैठबाट आगजनी, तोडफोडका कतिपय अस्वाभाविक परिघटना देखिए पनि जेनजी विद्रोहको सार्थक उद्देश्य देशलाई भ्रष्टाचारमुक्त गर्दै आर्थिक विकासको नयाँ युगमा प्रवेश गराउनु हो । विद्रोहपछि स्थापित सरकार निर्धारित मितिमा निर्वाचन गरी देशलाई सही मार्गमा अग्रसर गराउने दिशामा क्रियाशील छ । यसै सिलसिलामा परराष्ट्र मन्त्रालयसमेतको कार्यभार समाल्नु भएका प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौँस्थित विदेशी कूटनीतिज्ञलाई शुक्रबार सरकारको कार्यदिशाबारे ब्रिफिङ गर्नुभयो । स्वतन्त्र र निष्पक्ष आमचुनाव सम्पन्न गराउने सरकारको दायित्व सुस्पष्ट पार्नुभयो ।

सरकारको प्रमुख दायित्व स्वतन्त्र र निष्पक्ष निर्वाचन सम्पन्न गरी नयाँ जनदेशप्राप्त सरकारलाई सत्ता हस्तान्तरण गर्नु नै हो । यो दायित्वप्रति सरकार क्रियाशील छ । निर्वाचन आयोगले सरकार बनेको पहिलो दिनबाटै निर्वाचनको आधार तयार गर्दै छ । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री कार्कीले राजनीतिक दलका साथै जेनजी पुस्तासँग आगामी निर्वाचनलाई लोकतान्त्रिक मूल्य र मर्म अनुरूप बनाउने वातावारणका निम्ति पटक पटक बैठक बस्नुभएको छ । निर्वाचनको तयारीसँगै सरकार भ्रष्टाचार निरूपणका निम्तिसमेत क्रियाशील छ । भ्रष्टाचार गरी अकुत सम्पत्ति आर्जन गर्नेविरुद्ध सम्बद्ध निकायको अनुसन्धान प्रक्रिया अगाडि बढ्न थालेको छ । भ्रष्टाचार र कुशासनले निराश आमजनताको विश्वास आर्जन गर्ने दिशामा सरकारले गहन ढङ्गले काम गरिरहेको छ । निर्वाचनलाई विश्वसनीय बनाउन शान्ति सुरक्षाको अवस्थामा सुधार गर्नु जरुरी हुन्छ । कानुनी संरचनाको अभाव परिपूर्ति गर्नुपर्ने हुन्छ । आगामी निर्वाचनमा नयाँ पुस्ताको मत समावेश गर्न अध्यादेशमार्फत कानुन ल्याई मतदाता नामावली सङ्कलन भइरहेको छ । मतदाता नामावलीमा नवपुस्ताको सहभागिता बढ्दो क्रममा छ । प्रधानमन्त्री कार्कीले सरकारले सम्पादन गरिरहेको कामको सविस्तार अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउनुभयो । आगामी निर्वाचनबाट शान्तिपूर्ण र लोकतान्त्रिक ढङ्गले निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्ने दिशामा सरकार लागिरहेको विश्वास दिलाउनुभयो । 

नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संवैधानिक संरचना अनुसार अगाडि बढिरहेको छ । लोकतन्त्रमा जनमत अनुरूपको शासन सरकारका निम्ति प्राण हो । आगामी २१ फागुनमा तोकिएको प्रतिनिधि सभा निर्वाचन नयाँ जनादेश लिने महान् अवसरसमेत हो । निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउँदै नयाँ पुस्ताले बढीभन्दा बढी प्रतिनिधित्व गर्न सक्ने दिशामा अग्रसर हुनु पर्छ । भ्रष्टाचारका पैसाले फेरि जनमत आफ्नो पक्षमा पार्ने विगतका कतिपय निर्वाचनको कुरूप स्वरूप आगामी निर्वाचनमा देखिनु हुन्न । जेनजी विद्रोहको मर्म र भावनाको मूल ध्येय स्वच्छ जनादेश हो । प्रधानमन्त्री कार्कीले अनिश्चित समयमा आफूलाई सरकारको कार्यभार आइपरेको र सो कार्यभार सम्पन्न गर्न अग्रसर रहेको विश्व समुदायलाई स्पष्ट पार्नुभएको छ । नेपालको परराष्ट्र नीति असंलग्नतामा आधारित छ । संयुक्त राष्ट्रसङ्घको बडापत्र, पञ्चशीलका सिद्धान्त र असंलग्नताका मूल्य र मर्मको विदेश नीतिका आधारभूत मान्यताप्रति नेपाल अडिग रहेको प्रधानमन्त्रीले सुस्पष्ट पार्नुभयो । शान्ति सैनिकको माध्यमबाट नेपालले विश्वशान्तिमा पु¥याएको योगदान सामान्य भए पनि अर्थपूर्ण भएको उहाँले अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउनुभयो । विश्वका लोकतान्त्रिक मुलुकको निर्वाचनलाई देशभित्रै र बाह्य पर्यवेक्षणबाट स्वतन्त्र र निष्पक्ष बनाउन आवश्यक पर्ने छ । यस दिशामा कूटनीतिक संवादले अनुकूल अवस्था सिर्जना गर्ने विश्वास व्यक्त गरिएको छ । सरकार विदेशमा बस्ने नेपालीको मत निर्वाचनमा समावेश गर्न आवश्यक तयारीसमेत जुटिरहेको छ । यी यावत् सन्दर्भमा प्रधानमन्त्रीको कूटनीतिक नियोग प्रमुखसँग गरिएको संवादले निर्वाचन र सुशासनको दिशामा आयामिक सन्देश दिएको छ ।