तानसेन समाचारदाता
तानसेन, कात्तिक ११ गते । पाल्पामा स्वास्थ्य बिमा गर्ने बिमित परिवारले उपचारमा सास्ती बेहोर्दै आएका छन् । जिल्लाका सरकारी स्वास्थ्य संस्थाको सेवा गुणस्तरीय र विश्वासिलो बन्न नसक्दा बिमाबाट सेवा लिने सेवाग्राहीले रेफर लिँदै निजी स्वास्थ्य संस्थामा सेवा लिन जान बाध्य भएका छन् ।
बिमाबाट पाउनुपर्ने स्वास्थ्य सेवा सरकारीमा नपाएपछि रेफर लिएर निजी स्वास्थ्य संस्थामा जानुपर्ने बाध्यता बनेको बिरामीको गुनासो छ । पाल्पामा ३७ हजार ८५६ भन्दा बढी परिवारले स्वास्थ्य बिमा गरेका छन् ।
तीमध्ये अधिकांशले सरकारी स्वास्थ्य संस्थाबाट भन्दा रेफर गरिएको स्वास्थ्य संस्थाबाट सेवा लिइरहेका छन् । अधिकांश बिमित परिवारले आँखाको उपचारका लागि रेफर लिइरहेका छन् । त्यसैगरी दाँत, हाडजोर्नी, आकस्मिक सेवा, स्त्री, बालरोगमा पनि रेफर गरेको स्वास्थ्य संस्थाबाट सेवा लिन बाध्य छन् ।
रैनादेवी छहराका बासिन्दा श्रीकृष्ण आत्रेयले सरकारी अस्पतालले राम्रो सेवा दिन नसक्दा बिरामीलाई अनावश्यक झन्झट र सास्ती थपेको बताउनुभयो । उहाँले भन्नुभयो, “स्वास्थ्य बिमाबाट पाउने सेवा सरकारी अस्पतालबाटै पाउन पाए राम्रो हुने थियो तर यहाँ त सरकारी स्वास्थ्य संस्थाको काम उपचार गर्नेभन्दा पनि केवल रेफर गर्ने मात्र भयो ।”
रेफरले बिरामीलाई सेवाभन्दा सास्ती बढी दिएको बिरामीका आफन्तको भनाइ छ । पाल्पाको रामपुर अस्पताल, तानसेनको पाल्पा अस्पताल, ताहुँ स्वास्थ्य केन्द्र, खस्यौली स्वास्थ्य केन्द्रलाई बिमा बोर्डले प्रथम सेवा बिन्दुका रूपमा तोकेको छ ।
तानसेन–भगवतीटोलकी सुनिता अधिकारीले यी संस्थामा कतै चिकित्सक नहुने, कतै आफूलाई चाहिएको सेवा नहुने समस्या हुँदा बिरामीले रेफर लिएर लुम्बिनी मेडिकल कलेज प्रभास र लायन्स लाकौल आँखा अस्पतालमा जानुपर्ने बाध्यता बनेको बताउनुभयो ।
उहाँले सरकारी स्वास्थ्य संस्थाले आफूले दिने सेवा विश्वासिलो र नियमित बनाउन नसक्दा पनि बिरामीले सास्ती बेहोर्नु परेको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “अस्पतालमा नियमित चिकित्सक हुने र विशेषज्ञ सेवा विस्तार गर्ने हो भने बिरामीलाई रेफर गर्नु पर्दैनथ्यो तर सरकारी स्वास्थ्य संस्थाले आफ्नो सेवा सुधार गर्न सकेका छैनन् ।”
रामपुर अस्पतालमा चिकित्सक नियमित नहुने समस्या छ । जिल्ला सरकारी अस्पतालमा चिकित्सक चार÷पाँच जना भए पनि भवन, सेवाका लागि आवश्यक प्रविधि र व्यवस्थापकीय कमजोरीका कारण अधिकांश बिरामी रेफर लिएर लुम्बिनी मेडिकल कलेजमा जाने गरेका छन् ।
जिल्लाका सरकारी स्वास्थ्य संस्थाको व्यवस्थापन र सेवा कमजोर हुँदा बिमा बोर्डले सेवाका आधारमा भुक्तानी गर्ने रकमसमेत निजी स्वास्थ्य संस्थामा दोब्बरले बढी हुने गरेको स्वास्थ्य बिमा बोर्ड पाल्पाले जनाएको छ । बोर्डका प्रमुख विदुर अर्यालका अनुसार पछिल्लो छ महिनाको अवधिमा सरकारी अस्पतालले बिमाको सेवा दिएबापत चार करोड ८४ लाख भुक्तानी पाएका छन् । उहाँले निजी स्वास्थ्य संस्थाले आठ करोड ३४ लाख बढी भुक्तानी पाएको बताउनुभयो ।