• १३ साउन २०८१, आइतबार

सन्दर्भ :विश्व सम्पदा दिवस

फर्काइँदै विदेशिएका प्राचीन सम्पदा

blog

दीपक श्रेष्ठ

काठमाडौँ, वैशाख ५ गते । नेपालबाट गैरकानुनी रूपमा विदेशिएका लिच्छवि र मल्लकालीन मूर्ति फिर्ता गर्ने कार्यले पछिल्लो समय गति लिएको छ । अमेरिका, फ्रान्स, बेलायत, जर्मनलगायत देशबाट ७९ वटा मूर्ति फिर्ता ल्याइसकिएको छ ।  बेलायतका एक नागरिकको निजी सङ्ग्रहमा रहेका तीन मूर्ति फिर्तासम्बन्धी सम्झौतापत्रमा विश्व सम्पदा दिवसकै दिन सोमबार हस्ताक्षरसमेत हुँदैछ । यद्यपि पद्मपाणि लोकेश्वेर, शाक्यमुनि बुद्ध र नागराजको मूर्ति कहाँबाट कहिले चोरिएको थियो भन्ने विषयचाहिँ अध्ययन र खोजमै रहेको छ । 

पुरातत्त्वअधिकृत सरिता सुवेदीका अनुसार मूर्तिको बनोट, शैलीका आधारमा नेपालकै हो भन्ने पुष्टि भएर फिर्ता ल्याउन लागिए पनि कुन ठाउँबाट चोरिएको थियो भन्ने जानकारी हुन सकेको छैन । सन् १९५० पछिको तीन दशक नेपालबाट मूर्ति चोरीका घटना अत्यधिक भएको र सोही समय नेपालका महìवपूर्ण सम्पदा विदेशिएको उहाँले बताउनुभयो ।

नेपालबाट लिच्छवि तथा मल्लकालीन मूर्ति कति विदेशिए भन्ने यकिन तथ्याङ्क पुरातत्त्वसँग छैन । कहिले, कहाँबाट चोरी भयो ? त्यसको पर्याप्त विवरणसमेत छैन । नेपालमा पुरातात्त्विक सम्पदा के कति छन् ? त्यसको खास विवरण पनि छैन । 

पुरातत्त्वका प्रमुख संरक्षण अधिकृत सुभद्रा भट्टराईले भन्नुभयो, “यसको विस्तृत अध्ययन हुन सकेको छैन । योजनाबद्ध रूपमा पर्याप्त बजेट व्यवस्था गरी हराएका र देशभरका सम्पदाको विस्तृत तथा व्यवस्थित अभिलेख आवश्यक छ ।” नेपालबाट हराएका र विश्वका विभिन्न निजी तथा सरकारी सङ्ग्रहालयमा रहेका नेपाली मूर्ति फिर्ता ल्याउन पुरातत्त्वले पछिल्लो समय सक्रियता बढाएको छ । यसमा सम्पदा संरक्षण अभियन्ताको भूमिका महìवपूर्ण रहँदै आएको बुझाइ उहाँको छ ।

हराएका नेपाली मूर्तिको खोजी गर्ने पुरातत्त्वको आफ्नै कुनै संयन्त्र नभए पनि सम्पदा अभियन्ता र विदेशमा रहेका नेपालीको सूचनाका आधारमा खोजी अभियान थाल्दै आएको छ । सामाजिक सञ्जाल, पत्रपत्रिका, मूर्तिसम्बन्धी विदेशीले लेखेका पुस्तकका आधारमा पुरातŒवले मूर्ति खोजी गर्दै आएको छ । 

स्विट्जरल्यान्डको वासेलमा लिलाममा राखिएकै स्थानबाट समेत नेपाली मूर्ति फिर्ता ल्याउने पहल थालिएको छ । भक्तपुरस्थित हनुमानघाटबाट सन् १९८० तिर चार टाउके महेश्वरको मूर्ति हराएको थियो । प्रमुख संरक्षण अधिकृत भट्टराईले भन्नुभयो, “वुरेड वेल्ली विड्मर अक्सनमा राखिएको चार टाउके महेश्वरको मूर्ति कूूटनीतिक पहलबाट तत्काल रोकिएको छ । त्यस मूर्तिलाई नेपाल ल्याउन पहल थालिएको छ ।”

२०५४ सालयता ९७ वटा मूर्ति चोरी भएको तथ्याङ्क पुरातŒवसँग छ । प्रहरीले पक्राउ गरेका, अनुसन्धानमा रहेका र अदालतमा मुद्दा चल्दै गरेका ७३ थान मूर्ति राष्ट्रिय सङ्ग्रहालयमा पठाइएको छ । विदेशबाट मूर्ति फिर्ता ल्याउनसमेत पुरातŒवले आक्रामक रूपमा अभियान थालेको छ । भट्टराईका अनुसार भक्तपुरको वीरभद्रेश्वरबाट २०३५ सालमा हराएको ताराको मूर्ति केही महिनाभित्रै अमेरिकाबाट फिर्ता ल्याइँदैछ । सन् १९६० को मध्यतिर पाटन गाहिटीबाट हराएको उमा महेश्वरको मूर्ति फिर्ता ल्याउन कूटनीतिक पहल भइरहेको छ । यस्तै सन् १९८४ मा पशुपतिबाट हराएको चर्तुमुखी शिवलिङ्ग, सन् १९७० मा भक्तपुरबाट हराएको उमामहेश्वर, पाटन च्यासलबाट हराएको श्रीधर विष्णुको मूर्ति फिर्ता ल्याउनसमेत दाबी प्रमाण पठाइएको छ ।

कानपा–१९, कङ्केश्वरी मन्दिरको पर्खालबाट हराएको दुई साधुको बीचमा उभिएको शिवको मूर्ति, २०२७ सालमा हनुमानढोकाबाट हराएको तलेजु भवानीको गहना कण्ठी, पाटनको तलेजु मन्दिरको तोरणबाट हराएको पाँचवटा मूर्ति (तोरणको १२ वटा मूर्तिमध्ये पाँचवटा हराएको थियो), जर्मनीको बर्लिनबाट ३० वटालगायत दर्जनौँ मूर्ति फिर्ताका लागि पहल भइरहेका छन् । उहाँले भन्नुभयो, “यो वर्ष नेपालबाट हराएका थुप्रै मूर्ति फिर्ता ल्याउने गरी पहल अगाडि बढेको छ । मूर्तिसम्बन्धी तथ्य र प्रमाणसहित कूटनीतिक नियोगमार्फत पहल गरिएको छ ।” विदेशिएका मूर्ति खोजीका लागि राज्यले नै लगानी बढाउने हो भने अझ धेरै मूर्ति फिर्ता ल्याउन सकिने विश्वास उहाँको छ । 

विदेशबाट फिर्ता ल्याइएको वा प्रहरीले पक्राउ गरी प्राप्त भएका मूर्ति पुरातत्त्वले राष्ट्रिय सङ्ग्रहालय छाउनीमा पठाउने गरेको छ । केही मूर्ति पाटनस्थित कला राष्ट्रिय धातु कला सङ्ग्रहालयमा समेत रहेका छन् । राष्ट्रिय सङ्ग्रहालयका अधिकृत एवं सूचना अधिकारी सुवासकृष्ण डङ्गोलका अनुसार भारतको कोलकाताबाट फिर्ता ल्याइएका १३ थान मूर्ति २०४२ सालमा पहिलो पटक सङ्ग्रहालयमा ल्याइएको थियो । त्यसपछि लन्डन, इटाली, अमेरिकालगायत मुलुकबाट फिर्ता ल्याइएका ४९ थान मूर्ति सङ्ग्रहालयमा छन् । 

त्यस्तै जिल्ला प्रहरी कार्यालय काठमाडौँबाट प्राप्त पत्थर, काठ र पित्तलका गरी २०५ थान मूर्ति सङ्ग्रहालयमा सङ्ग्रहित छन् । त्यसमध्ये केही थान मूर्ति सम्बन्धित गुठी र मन्दिरलाई समेत फिर्ता गरिएका छन् । त्यस्तै ललितपुर, भक्तपुर, सिन्धुपाल्चोक र जनसेवा काठमाडौँबाट ७५ थान मूर्ति सङ्ग्रहालयलाई प्राप्त भएको छ । 

अपराध अनुसन्धान महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक वसन्त कुँवरका अनुसार पछिल्ला चार महिनामा मात्रै पाँचवटा मूर्ति चोरीका घटना भएका छन् । त्यसमध्ये सुनाकोठीको बालकुमारी भवानीको मूर्ति, गोदावरी कुण्डको नारायणको मूर्ति, टौखेलस्थित बुद्धको मूर्ति फेला परेको छ । सो घटनामा संलग्न अभियुक्तसमेत पक्राउ गरी कारबाही चलिरहेको उहाँले जानकारी दिनुभयो ।