• २३ वैशाख २०८१, आइतबार

उषा र रविन भलिबलको उत्कृष्ट वर्ष खेलाडी

blog

वर्ष पुरुषको अवार्डसँगै रविन चन्द ।

काठमाडौँ, चैत ३० गते । महिला राष्ट्रिय टोलीकी सदस्य एवं विभागीय टोली नेपाल पुलिस क्लबकी उषा भण्डारी र रविन चन्दले वर्ष–२०८० को उत्कृष्ट भलिबल खेलाडी अवार्ड जित्नुभएको छ ।

नेपाल भलिबल सङ्घले शुक्रबार आयोजना गरेको चौथो संस्करणको एनभीए अवार्डमा उषा महिला र रविन पुरुषतर्फ उत्कृष्ट हुनुभएको हो । अवार्डसँगै दुवैले जनही ५० हजार रुपियाँ पाउनुभयो । 


यस्तै वर्षको उदीयमान खेलाडी अवार्ड महिलातर्फ न्युडायमन्ड युथ स्पोर्टस् क्लबकी प्रगति नाथ र पुरुषतर्फ नेपाल एपीएफ क्लबका हेमन्त मल्ललाई प्रदान गरियो । दुवैले जनही ५० हजार रुपियाँ थाप्नुभयो । वर्ष उत्कृष्ट प्रशिक्षक अवार्ड महिलातर्फ नेपाल पुलिस क्लबका रुपेशकुमार विष्ट र पुरुषतर्फ गण्डकी प्रदेशका रमेश केसीलाई प्रदान गरियो । दुवैले जनही ५० हजार रुपियाँ पाउनुभयो ।

सोही अवसरमा राष्ट्रिय टोलीका पूर्वकप्तान तथा नेपाल पुलिस क्लबका कप्तान इम राना र खेल पत्रकार प्रकाश तिमल्सिनालाई जनही ५० हजार रुपियाँबाट सम्मान गरियो ।सङ्घले वर्ष उत्कृष्ट टिमको सम्मान महिलातर्फ नेपाल पुलिस क्लब र पुरुषतर्फ गण्डकी प्रदेश भलिबल सङ्घलाई दुई दुई लाख रुपियाँसहित प्रदान गरेको छ ।

कार्यक्रममा राष्ट्रिय वाणिज्य बैँकका निवर्तमान प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ, विभिन्न प्रदेश, विभाग, जिल्ला र क्लबलाई पनि कदर र सम्मानपत्रबाट सम्मानित गरिएको थियो । खेलाडी र सङ्घ संस्थालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ, नेपाल भलिबल सङ्घका अध्यक्ष जितेन्द्र बहादुर चन्दलगायतले अवार्ड प्रदान गर्नुभयो ।