• १८ असार २०८१, मङ्गलबार

नागरिकता दिलाउने अध्यक्ष ओलीको आश्वासन

blog

जनार्दन खत्री

सर्लाही, बैशाख ३ गते । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मधेसमा नागरिकता पाउनबाट बन्चित रहेका नागरिकलाई नागरिकता दिलाउने आश्वासन दिनुभएको छ । अब आउने सङ्घीय संसद्को निर्वाचनपछि एमालेको नेतृत्वमा सरकार बन्ने र त्यसले नागरिकता विधेयक पारित गर्ने उहाँले दाबी गर्नुभयो ।

शनिबार सर्लाही सदरमुकाम मलङ्गवामा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले त्यस्तो विचार व्यक्त गर्नुभएको हो । उहाँले स्थानीय तहको निर्वाचनमा एमालेलाई विजयी गराउन आग्रह पनि गर्नुभयो । अध्यक्ष ओलीले आफूलाई मधेसको मसिहा भन्ने मधेस केन्द्रित दलहरुले मधेसको विकासमा अवरोध गरिरहेको आरोप लगाउनुभयो ।

पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका ओलीले मधेसको खानेपानी, सडक, ढल, सिचाइँजस्ता समस्याप्रति आफू जानकार रहेको भन्दै एमालेको सरकार आएपछि ती क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

कार्यक्रममा जनता समाजवादी पार्टी (जसपा) बाट निर्वाचित कविलासी नगरपालिकाका प्रमुख कौशलकिशोर यादव, माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य केशवप्रसाद ढुङ्गानासहित विभिन्न पार्टीका नेता कार्यकर्ताहरु एमालेमा प्रवेश गर्नुभएको छ । जनसभालाई एमालेका मधेस प्रदेश कमिटीका इन्चार्ज रघुवीर महासेठ, स्थायी कमिटी सदस्य प्रभु साह लगायतले सम्बोधन गर्नुभयो ।