• १२ साउन २०८१, शनिबार

संविधानले तोकेको जिम्मेवारी पूरा गर्न आयोग तत्पर छ : आयुक्त तुलाधर

blog

अविनाश चौधरी

धनगढी, वैशाख ३ गते । निर्वाचन आयुक्त डा. जानकी तुलाधरले संविधानले तोेकेको जिम्मेवारी पूरा गर्न निर्वाचन आयोग सदैव तत्पर रहेको बताउनुभएको छ । आयोगले आज धनगढीमा आयोजना गरेको मिडिया अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्नुहुँदै उहाँले आयोग आफ्नो जिम्मेवारी पूरा गर्न तत्पर रहेको बताउनुभएको हो ।  

आयुक्त तुलाधरले स्थानीय तहको निर्वाचन सफल रुपले सम्पन्न गर्न आयोग तालिकानुसार अगाडि बढिरहेको बताउनुभयो । ‘सबै एकताबद्ध भएर यो निर्वाचन सफल पार्नुपर्छ’, उहाँले भन्नुभयो ।बदर मत सङ्ख्या घटाउन आयोगले मतदाता शिक्षा कार्यक्रमलाई प्रभावकारी ढङ्गले अगाडि बढाउने उहाँको भनाई थियो । निर्वाचन सफल पार्नमा सञ्चार जगतको भूमिका महत्वपूर्ण रहने आयुक्त तुलाधारले चर्चा गर्नुभयो । 

कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्य हरिप्रसाद जोशीले सञ्चारजगत र पत्रकारले पालना गर्नुपर्ने आचारसंहिता बारेमा प्रस्तुति गर्नुभएको थियो । उहाँले सबै राजनीतिक दलसँग खुला र तटस्थ रहेर सूचना सम्प्रेषण गर्न पत्रकारलाई आग्रह गर्नुभयो । 

यसैगरी, मत बदर सङ्ख्या घटाउन मतदाता शिक्षाको रुपमा काम गर्न पत्रकारलाई आग्रह गर्नु भयो । ‘निर्वाचनमा सञ्चारको भूमिका मतदाता, आयोग र दलबीच पुलको काम गर्ने हो’, उहाँले भन्नुभयो । कुनै पनि दल, नेताका पक्षमा लबिङ गर्नु आचारसंहिताको उलङ्घन रहेको उल्लेख गर्नुहुँदै सदस्य जोशीले त्यस्तो नगर्न पत्रकारलाई आग्रह गर्नुभयो । 

कार्यक्रममा आयोगका उपसचिव सूर्यप्रसाद अर्यालले मतपत्रबारेमा जानकारी गराउनुभयो । स्थानीय तहको निर्वाचन निर्देशिकाअनुसार मतपत्रमा चुनाव चिन्ह राखिएको उहाँले बताउनुभयो । ‘छ नम्बरसम्म राष्ट्रिय मान्यता प्राप्त दलहरुको चुनाव चिन्ह र २४ देखि उपरान्त स्वतन्त्र उम्मेदवारका लागि चुनाव चिन्ह राखेर मतपत्र छफाइ भएको छ’, उहाँले भन्नुभयो ।