• ८ पुस २०८१, सोमबार

पथिक (कथा)

blog

मानसी

अचानक छिरेको थियो ऊ रेकर्डिङ स्टुडियोमा । अरू कसैसँग भेट्न तय भएको समय उब्रिएर त्यहाँ छिरेको सत्य आफैँले उजागर गरेपछि प्रेमिल मन कुँडियो ।ऊ भने सङ्गीत दिनुपर्ने गीतका शब्दहरूमा घोत्लिएकी थिई । पृष्ठभूमिमा गुन्जिरहेथ्यो, ‘मर्छु अब त.....।’

“कुटपिट गर्न मिल्ने भए म उहिल्यै गाइसक्थेँ हुँला....” भित्र छिर्दै भन्यो । “गायनसँग कुटपिटको के सम्बन्ध ?” स्क्रिप्ट छोडेर उभिई पाहुनाको सम्मानमा ।  सामाजिक सञ्जालबाट टाढिएर होला, ऊ अचेल पाहुना भएको छ । भेट हुनै मुस्किल ! “कुटपिट भनेको यै होइन र ? चोटपछिको यस्तो गीत धन्न गाउनुपरेको छैन ।” शालीन नजर फ्याँक्यो ।

“अरूलाई यस्तो गीत गाउन बाध्य पारेका छौ कि ?”  ऊ फिस्स हाँस्यो । सायद सोच्तै थियो, ‘म सफल राजनीतिज्ञ हुँ ।’

छोटो समयमै सफल राजनीतिज्ञ भएको छ । नेतृत्व, सङ्गठन, समुदाय, सबैतिर एकछत्र राज ! कुटिल स्वभाव छोप्न चातुर्यपूर्वक तौलिएर लाभहानिको सम्बन्ध तय गर्छ । नाफामा इन्ची घटाउँछ, नोक्सानमा इन्ची बढाउँछ । कमजोर हुँदा दर्शन पढाउँछ । तर्कको बोझले थिचेपछि सहभागीहरू आफैँ अलमलिन्छन् ।  फेरि थप्यो, “वियोगान्त साहित्य पढेर होला, मलाई चोट भरिएको सङ्गीत मनपर्छ । पीडाबाहेक अरूले खासै छुँदैन मलाई । मुटु कोमल छ, प्रायजसो फिल्म हेर्दा रुन्छु म ।” “रुनेले आँसुको मूल्य बुझेको हुन्छ तर तिमी त्यस्तो छैनौ । मेरा हरेक अनुभूतिलाई अपमानपूर्वक बेवास्ता गर्छौ । बेपर्वाह ढङ्गले ।” वास्तविकता ओकली ।“मेरो युनिकनेस बुझ्न नसक्नु मान्छेको कमजोरी हो ।” निर्धक्क भन्यो उसले ।

“तिम्रो मन र व्यवहारबीच अन्तर छ । तिमी जे देखिन्छौ, त्यो हैनौ, जे छौ त्यस्तो देखिँदैनौ । पहिले भनेका थियौ नि, ‘म श्यामश्वेत देखिन्छु तर मन रोमान्टिक छ ।’ परिस्थितिअनुसार तुरुन्तै बदलिन्छौ । यिनै गुणले तिमीलाई क्लिष्ट बनायो !” तिखो जबाफसँगै धैर्य गुमाउँदै थिई ऊ । 

सम्बन्ध साथ हो, मायाको ममत्व । सम्बन्ध घात, प्रतिघात र छाया पनि हो जीवनको । यी सबैको परिमाण र परिणामले सम्बन्धको आयतन तय हुन्छ ।

“सम्बन्धको आयु निर्धारण दुईपक्षीय बुझाइमा निर्भर रहन्छ । त्यसैले कि तिम्रो भनाइ झुटो हो कि मलाई बुझ्ने सामथ्र्य रहेन ।” अनपेक्षित जबाफ दियो उसले । “परीक्षामा प्रश्न नबुझेर त्यसै छोडिन्थ्यो । जीवन पनि त्यस्तै रहेछ । मान्छे चिन्न नसक्ता साथ महसुस गर्न नसकिने ।” विशेष अनुभूतिमा क्षयीकरण सुरु भयो । “कुरो यहीँनिर फरक छ । निर्जीव प्रश्न छोडिन्छ तर मान्छे जति बुझिएन त्यति बुझौँ लाग्छ । सम्बन्धहरू फिजिक्स र म्याथका सूत्र होइनन् ।” प्रतिरक्षामा उत्रियो ऊ पनि ।

“आस्थामाथि घात, अस्तित्वको बेवास्ता अनि अपमानको प्याला पिएपछि मान्छे बाध्य हुन्छ साथ छोड्न, सम्बन्ध तोड्न ।” ऊभित्रको साहसिक अभिमान ब्यूँतियो ।

“अन्तरङ्ग सम्बन्धको भर्याङ नबनाऊ । धोती, लबेदाको फेरो समाउन छोड । व्यावसायिक राजनीतिले तिमीलाई माथि पुर्याउँछ ।”

प्रतिक्रियामा आक्रोश पोखिन्थ्यो । आक्रोशले ऊप्रतिको सम्मान घटाउँथ्यो । सम्मानमा आँच आउने भयले ऊ मौन बसी तर सम्बन्धबारे अगिल्ला बहस मस्तिष्कमा सञ्चारित भए ।

०००

‘सम्बन्ध साथ हो, मायाको ममत्व । सम्बन्ध घात, प्रतिघात र छाया पनि हो जीवनको । यी सबैको परिमाण र परिणामले सम्बन्धको आयतन तय हुन्छ ।’ ‘ओके, उसो भए हाम्रो सम्बन्ध ?’

‘परिमाण र परिणाम तय हुनुअगावैको अवस्था ।’

‘फेरि गणित ?’‘सम्बन्ध साथ हो, माया ताप हो......’

‘उफ्ँ, फगत शून्य’, थकित सुस्केरा । ‘न परिमाण बुझ्न सकियो, न त परिणाम नै हात लाग्यो । सङ्ख्याको त के कुरा ?’ ‘अन्तिम प्रयास विफल भएपछि मान्छे त के, जनावरले पनि शैली फेर्छ ।’ ‘विवेकी भएरै होला बाटो बदले पनि सम्बन्धहरू छाया बनेर पछ्याइरहन्छन् । बाघले एकछिन न हो बाटो मोड्ने, भोलिपल्ट फेरि त्यही बाटोमा अझ रबाफसाथ घुमिरहन्छ ।’ ‘दर्शनले आनन्द दिन्छ, आदर्शले घमन्डी बनाए पनि आकाशको फलले प्रतीक्षामा बाँच्न सिकाउँछ । तर, व्यवहारमा सबैले दिने अनुभूति कष्टकर हुन्छ ।’

०००

एकछिनको मौनता चिर्दै फेरि थप्यो– “म भएर मात्रै, अरू कोही भए.....” “के हुन्थ्यो ? पहिलो प्रस्ताव अरूलाई नै गरेका थियौ । सहमति नजुटेपछि त्यही कार्ड मतिर फालेका रहेछौ । लाग्यो, तिमीले मेरै लागि प्रस्ताव गर्यौ, पहिलो प्रस्ताव !” वैकल्पिक पात्र उभ्याएकोमा दुःखी थिई ।

दुःख मिश्रित आक्रोशसँगै चेतनाले प्रतिकार गर्यो, “राजनीतिप्रति मेरो लगन, धैर्य, त्याग, समर्पण बिर्सिएर अन्तरङ्ग सम्बन्धको ट्याग लगायौ । तिम्रा हरेक कार्यक्रमको सौन्दर्य साङ्गीतिक प्रस्तुतिले बढाउँछ । फेरि त्यही सङ्गीतलाई किन अवहेलना ?” प्रश्न धेरै थिए उसका तर सोध्ने उपयुक्त ठाउँ थिएन । “आफूलाई परिपक्व बनाऊ, व्यावसायिक बन !” निर्देशनसँगै ऊ स्टुडियोबाट बाहिरियो ।

०००

अधिवेशनको समीक्षाभन्दा योगदानको मूल्याङ्कन बुझ्न कठिन थिएन । व्यावसायिकता पहिलो सर्त थियो । नातागोता, इष्टमित्र, कुलकुटुम्ब, साथीभाइको आडमा व्यावसायिक कमजोरी छोप्ने प्रयास कहिल्यै गरिन ।

‘गल्तीले पनि स्वाभिमान निचो बनाउनु हुन्न’ भन्नेमा दृढ थिई ऊ, ‘अन्तरङ्ग सम्बन्ध ! मेरो प्राथमिकतामा कहिल्यै त्यस्तो भएन ।’ गुनासोको आँधी मनभित्रै मडारियो ।

समय प्रतिकूल थियो । सुरुआती वार्तालाप नै अनपेक्षित भएकाले जबाफ दिनु उचित ठानिन ।  गृहस्थी छोडेर राजनीति रोजेको निकै वर्ष भयो । राजनीतिको अन्तिम गन्तव्य शासनको बागडोर हो । पहिलो महिला प्रधानमन्त्रीको अभिलेख राख्नु एक्लो अभीष्ट ।

तिम्रो जस्तो भ्रमपूर्ण सम्बन्धको भर्याङ प्राथमिकतामा कहिल्यै परेन । फरक ढङ्गले ‘असल पुरुष’ को छवि छोड्न सफल थियौ तिमी । सायद त्यसैले कुनै प्रलोभन र अपेक्षाबिनै तिम्रो सामीप्य स्विकारेको थियो मनले ।

जीवनमा ठोकिन आएका पुरुष र तिमीलाई हेर्ने दृष्टिकोण फरक भयो । मित्रताको दूरी र मनले गर्ने अनुभूति फरक थियो । मस्तिष्कले दिने निर्देशन फरक भएकाले भौतिक सहयात्री मात्र होइन, मेरो मनले तिम्रो साथमा अपनत्व अनुभूत गथ्र्यो ।

किन ? कसरी ? केका लागि ?

सोह्रवर्षे किशोरी थिइनँ म आकर्षणलाई नै प्रेम बुझ्ने । हृदयको कुनाबाट अङ्कुरित अनुभूति नितान्त स्फटिक थियो । दुःखसुखको विश्वासिलो साझेदार माने तिमीलाई । गुणदोष, जातधर्म, लिङ्ग, क्षेत्रीयता..... केही नहेरी ... ।

बीउ छरेपछि उमार्न कर लाग्छ धरतीलाई । फरक अनुभूतिको बीजारोपण तिमीले गराएका थियौ । ठान्थेँ, तिमी त्यही प्यारो गाउँका असल पुरुष ! जीवनको उत्तराद्र्धमा एक हातले लौरो टेक्तै अर्को हातमा कोइरालाको अचार लिएर चौतारीमा पर्खिरहनेछौ । तिमीप्रतिको मेरो विश्वासको उचाइ असीमिति थियो । त्यसैले त योजना सुनाएँ । विगत बिसाएँ । परिवेश देखाएँ । केही बाँकी राखिनँ, पूरै पोखिएँ म । तर तिमीले समालेका रहेनछौ ती कुरा । छताछुल्ल मन समाल्न कठिन हुँदा पो चाल पाएँ । मन पानीमा तैरिएको तेल भएर बगिरहेको रहेछ । मान्छेको अनुभूति यति सस्तो पनि हुँदोरहेछ है ? बेनामे अनुभूतिको खलोमा किन दाइँ गरेँ मैले ? खुसीको भकारी किन दिएँ हुँला तिमीलाई ? कुहिरोभित्र मेरो मनमौजी अनुभूतिको जबाफ तिमीले किन दिनु ? वाहियात !  सायद मेरो मन गलत थियो, बद्मास अनुभूतिले मस्तिष्क दुर्बल बनायो । मेरो मन, विचार, अनुभूति जस्तै तिम्रो पनि हुनुपर्छ भन्ने छ र ? आद्र्र हृदयको मलिलो मझेरी जस्तै तिम्रो पनि हुनुपर्छ भन्ने त छैन नि ! चरित्र र पृष्ठभूमि फरक भएपछि सामञ्जस्य कसरी हुन्छ  ? तर, तिमीसँग खुसी बाँड्दा किन आनन्द महसुस गथ्र्यो कुन्नि मनले !

आखिर मनै त हो पोखिएको तर म किन रित्तो अनुभूत गरिरहेछु ! तनको साक्षात्कार कसले सोचेको थियो र ?

०००

पश्चात्तापको रापमा जल्दा उसका नजर छिमेकीको छतको पश्चिम कुनामा अडिए । हरियो झार मौलाएको छतको पूर्वी छेउका बिरुवा ओइलाएका थिए । गाउँतिर घरको छानोमाथि हरिया झारपात उम्रिएको देखेकी थिई । एक पटक एकैसाथ वरपीपल उम्रिएपछि आमाले नजिकैको चौरमा लगेर चौतारो चिनेकी थिइन् । गाउँमा खर र छ्वालीका छानामा नौलो होइन तर सहरका पक्की घरका छत झारपातले छोपिनु अपवाद थियो ।

“बिनासित्ति कङ्क्रिटको छतमा पनि किन उम्रिनुपरेको होला तिनीहरूलाई ।” नाफाघाटाबिनै आक्रोश पोखियो । हतार हतार मोबाइलको स्क्रिन सारी ।

पछिल्लो भेटमा गहन वार्ता चलिरहेका बेला एउटा सेल्फी खिचेकी थिई ऊसँग । लामो सङ्गत भए पनि सँगै बसेर फोटो खिचाएको पहिलो दिन थियो त्यो । त्यही सेल्फी पनि डिलिट गरी ।

‘कठोर समयको डर हटेको छैन तर जीवन बगेकै छ । पात्रोले कोल्टे फेरेर ३६५ दिनको सारिणी ल्यायो । यस नयाँ सारिणीमा सुस्वास्थ्य र प्रगतिको कामना ! हाम्रो मित्रताले नवीकरणको मौका पाइरहोस् !’

कोभिड–१९ को भयले विश्वमा आतङ्क छाएको बेला झमक्क साँझमा उसले पठाएको शुभकामना सन्देश मेटी । साथ र सहकार्यको झल्को दिने दस्ताबेज एकएक गरी मेट्दै गई– ‘आगामी नयाँवर्ष यो शुभकामना लिएर आउनेछैन !’ आफैभित्र फुसफुसाई ।