• ८ पुस २०८१, सोमबार

विक्रम संवत्को सान्दर्भिकता

blog

विश्वनाथ खरेल

आजबाट विक्रम संवत् २०७९ शुभारम्भ भएको छ । नेपालमा सर्वमान्य, वैधानिक र संवत्का रूपमा विक्रम संवत्लाई लिइन्छ । यही संवत्का आधारमा नेपालको राष्ट्रिय पञ्चाङ्ग अथवा क्यालेन्डर तयार हुन्छ । प्रत्येक वर्ष वैशाख सङ्क्रान्तिबाट प्रारम्भ भएको नयाँ संवत् चैत मसान्तमा टुङ्गिन्छ । संसारका सबै संवत्मध्ये सर्वाधिक वैज्ञानिक तथा सूर्यको गति र प्रकृतिमा आधारित संवत् नै विक्रम संवत् हो । यसर्थ विक्रम संवत् वैदिककालदेखि प्रचलित तिथि र बारको अवलम्बन गर्दै आएको राष्ट्रिय संवत् हो । विक्रम संवत् पनि शक संवत्, नेपाल संवत्, ईस्वी संवत्, मानदेव संवत्झैँ तिथिका आधारमा चल्दै आएको छ ।

 विक्रम संवत् २०७८ बितेर २०७९ को ५०औँ नल संवत्सर शुभारम्भ भएको छ । यसरी पुरानो वर्ष समाप्त भई नयाँ वर्ष आरम्भ भएको छ । मूलतः ईस्वीको पाँचौँ–छैटौँ शताब्दीतिर अर्थात् प्राचीन नेपालमा शालिवाहनसमेत भनिने शक संवत् प्रचलनमा रहेको थियो जुन संवत् ई. ७८ वा वि.सं १३५ मा आरम्भ भएको थियो । विक्रम संवत्लाई राष्ट्रिय संवत् तथा सरकारी कामकाजका रूपमा अपनाउने विश्वको एक मात्रै मुलुक नेपाल हो । त्यसकारणले गर्दा पनि विक्रम संवत्को उठान नेपालमै भएको हो । एसियाका अधिकांश राष्ट्रमा अङ्ग्र्रेजी साम्राज्यको प्रभावले त्यहाँका आदि संवत् विस्थापित गरेर ईस्वी संवत् लागू गरिएको थियो तर नेपाल साम्राज्यवादी प्रभावबाट जोगिएकाले आफ्नो सार्वभौमसत्ता, मौलिकता र पहिचान बचाउँदै आएको हुँदा विक्रम संवत् यथावत् रहिरह्यो । नेपाल सधैँ सार्वभौम थियो भन्ने कुराको ठोस प्रमाण विक्रम संवत्को निरन्तरता पनि एक उदाहरण हो ।

विक्रम संवत्को प्रचलन कहिलेदेखि सुरु भयो भन्ने यकिन छैन । सरकारी कामकाजमा प्रचलनमा आएको भने नेपाल एकीकरणदेखि नै हो । त्यसअघि विभिन्न राज्यका अलग–अलग संवत् प्रचलनमा थिए । तत्कालीन गोरखा, लमजुङ राज्यमा भने विक्रम संवत् नै प्रचलनमा रहेको अभिलेख पाइन्छ । अतः देशमा सर्वमान्य, वैधानिक र राष्ट्रिय संवत्का रूपमा विक्रम संवत्लाई लिइन्छ । यही संवत््का आधारमा नेपालको राष्ट्रिय पञ्चाङ्ग अथवा पात्रो तयार हुन्छ । तसर्थ विक्रम संवत् सूर्यको गतिका आधारमा चल्दछ । यसमा रहेका वैशाख, जेठ आदि १२ महिना सूर्यको १२ राशि–सञ्चार हो । सूर्य एउटा राशिमा भ्रमण गर्ने समय एक महिना हुन्छ । सौरमानको गणना सूर्यसिद्धान्तका आधारमा गरिन्छ । कलिगत संवत् तीन हजार बितेपछि प्रारम्भ भएको विक्रम संवत् उठान गर्ने राजा विक्रमादित्यका विषयमा मतभेद देखिन्छ । 

मुलुकमा औपचारिक रूपमा विक्रम संवत् १९६० पछि तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेरले यसलाई चलनमा ल्याएका हुन् । त्यसअघि चलेका शक संवत् तथा नेपाल संवत् सरकारी कामकाजमा अव्यावहारिक देखिएकाले तत्कालीन ज्योतिषीहरूको सुझावअनुसार उसबेला सबैभन्दा वैज्ञानिक, व्यावहारिक र ऐतिहासिक विक्रम संवत्लाई व्यवहारमा ल्याइएको इतिहासकारको मत छ । वस्तुतः विक्रम संवत् ग्रेगोरियन क्यालेन्डर (ईस्वी सन्) भन्दा ५६ वर्ष ९ महिना १५ दिनले जेठो छ । वास्तवमा संवत् भनेको समयको मापन तथा घटनाको अभिलेखीकरण गर्ने सूचक मात्रै हो । सूचक त्यति महìवपूर्ण होइन, जति महìवपूर्ण समय हो । 

मुलुकमा बितेका सालको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय घटनाक्रम समीक्षा तथा विश्लेषण गर्ने हो यस्तो किसिमको स्थिति देखिएको छ । राष्ट्रिय घटनामा बाढी, पहिरो, डढेलो, हावाहुरी, चट्याङ र आगलागीका घटनाले देशलाई आक्रान्त नै पारेको थियो । त्यसरी नै हैजा, वर्डफ्लु, स्वाइनफ्लु आदि जस्ता रोगले जनजीवनलाई धराशयी नै पारेको थियो । त्यसरी नै सामाजिक, आर्थिक तथा राजनीतिक परिदृश्यहरूलाई अवलोकन गर्ने हो भने देशमा दैनिक ६/७ जना बलात्कारका घटना भई नै रहेको छ भने अर्कोतिर हेर्ने हो भने प्रत्येक दिन १० जना बालबालिका हराइरहेका छन् । यी कुराहरूलाई मध्यनजर गर्ने हो भने देशमा शान्ति सुरक्षाको आमनचैनबाट जनताले सन्तुष्टि लिन सकेका छैनन् । 

देश विकासको नारा जति घन्काए पनि आर्थिक वर्षको विगत हालसम्म पनि पुँजीगत खर्च हुन सकेको छैन, जसले गर्दा राष्ट्रिय गौरव विकास कार्य हुन सकेका छैनन् । यसले राष्ट्रिय गौरवका आयोजनाको प्रगति सन्तोषजनक रहेको छैन । मेलम्ची खानेपानी आयोजना भने सम्पन्न भई आउँदो वैशाख १५ गतेदेखि उपत्यकाबासीलाई पानी वितरण गर्ने बताइएको छ । त्यसैगरी व्यापार घाटाको खाडल ठूलो छ भने विदेशबाट कृषिजन्यलगायत अन्य वस्तुको निर्यातभन्दा आयात परिमाण उच्च रहेको छ । त्यसैगरी विदेशी मुद्राको सञ्चय पनि ६/७ महिनालाई मात्र धान्ने रहेको बताइएको छ । 

त्यसरी नै अन्तर्राष्ट्रिय घटनाक्रमको समीक्षा तथा विश्लेषण गर्ने हो भने रुस र युक्रेनबीच भएको युद्धले गर्दा नेपाललगायत संसारभरि नै सङ्कट उत्पन्न भएको छ । यसले गर्दा खाद्यान्नलगायत पेट्रोलियम पदार्थको भाउ वृद्धि भई नै रहेको छ । यसका साथसाथै कोरोना भाइरसको सङ्क्रमण अर्को विपत् र विश्व हल्लाउने घटना बनेर आयो । अतः कोरोनाले विश्वको अर्थतन्त्र धराशयी बनायो । यसले पर्यटन, खेलकुद र अन्य व्यवसाय पनि छोटो समयमै ठप्प हुन पुगे । अर्थतन्त्रमा यति तीव्र रूपमा गिरावट आएको सम्भवतः इतिहासमै पहिलोपटक थियो । विश्व पर्यटन व्यवसाय चामत्कारिक रूपमा खस्कियो र कतिसम्म भने कोरोना भाइरसको असरका रूपमा बेरोजगार समस्या सबैभन्दा ठूलो रूपमा देखियो । 

समग्रमा भन्नुपर्दा मुलुकमा बलियो र स्थिर सरकार बहाल भएको छ र आर्थिक समृद्धिको यात्रामा अग्रसर भएको छ । अतः अहिलेसम्म विकास आयोजना अलपत्र अवस्थामा छन् । यसैअनुसार वर्षौं दिनसम्म ती आयोजना कार्यान्वयन नहुँदा सर्वसाधारणले दुःख पाएका छन् । विकास निर्माण तथा आर्थिक गतिविधिका हिसाबले बितेको वर्ष खासै उपलब्धिमूलक वर्षका रूपमा भएको देखिँदैन । विगतका वर्षहरूमा जस्तै विकास बजेट कार्यान्वयनको अवस्था नाजुक देखियो । त्यस्तै भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना, पोखरामा निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थलको काम उत्साहजनक रूपमा अघि बढेको छ । माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको निर्माण पनि सम्पन्न हुने चरणमा पुगिसकेको छ । बाढी तथा पहिरोका कारण कृषि उत्पादन केही घटे पनि निराशाजनक अवस्था छैन । त्यसरी नै कृषि कर्मबाट उपलब्ध उपज भने निराशाजनक नै रहेको छ । 

यसर्थ कृषिजन्य उत्पादन निर्यातभन्दा आयात बढेको छ । देशमा वार्षिक एक खर्बभन्दा बढीको कृषिजन्य उत्पादन आयात हुँदै आएको छ । फलतः विप्रेषणको वृद्धिदर केही घट्दै गएको छ । तर, आयात वृद्धिको तुलनामा निर्यात वृद्धि हुन नसक्दा चालू आर्थिक वर्षको पहिलो आठ महिनामा व्यापार घाटा सात खर्ब रुपैयाँभन्दा बढी नाघेको छ । सेयरको कारोबार पनि घट–बढ भइरहेको छ । राजस्वको वृद्धि लक्ष्यअनुसार हुन सकिरहेको छैन । विदेशी पर्यटकको आगमनमा भने केही आशा पलाएको छ । यद्यपि, बितेको वर्षका राम्रा पक्षहरूलाई आत्मसात् गर्नु र गलत पक्षबाट पाठ सिक्नु अहिलेको आवश्यकता हो । 

वि.सं. २०७९ को नयाँ वर्षले मुलुकमा सुख, शान्ति र खुसी ल्याओस् । यही महिनाको अन्त्यमा स्थानीय तह निर्वाचन हुँदै छ । निर्वाचनमा विकासप्रेमी नेतालाई जिताऔँ । तेरो–मेरो भन्नुभन्दा देश र जनतालाई केन्द्रमा राखेर अघि बढ्ने नेतृत्व आयो भने नयाँ वर्षसँग मुलुकको मुहारमा पनि परिवर्तन आउनेछ ।