• ८ पुस २०८१, सोमबार

मतदाताको परीक्षा

blog

आजबाट पुरानो वर्ष बिदा भई नयाँ वर्ष सुरु भएको छ । नयाँ साल पक्कै पनि नयाँ हर्ष र उमङ्ग लिएर आएको हुन्छ । सबै नेपालीको आशा भनेको देशमा शान्ति र स्थिर सरकारको अपेक्षा नै हो । नयाँ वर्ष सुरु भएसँगै मुलुकमा चुनावको वातावरण पनि तात्तिँदै छ । अब नेपाली जनताले पनि विवेक प्रयोग गरेर देशको माया गर्ने विकासप्रेमी सच्चा नेतालाई आफ्नो अमूल्य मत दिएर विजयी गराउनुपर्छ । आफ्नालाई भन्दा राम्रालाई जिताउनुपर्छ । देश विकासका लागि सच्चा नेताको खाँचो छ । 

राम्रो प्रतिनिधि छान्न नसक्दा मुलुकको पहिचानमा ठेस मात्र पुगेको छैन नागरिकले पनि सास्ती खेप्नुपरेको छ । अब पुरानो गल्ती दोहो¥याउने छुट हामीलाई छैन । मेरो दल, मेरो नेताभन्दा पनि माथि मुलुकको पहिचान हो भन्ने कुरा कसैले नभुलौँ । मुलुकको पहिचान रहे हाम्रो अस्तित्व रहने हो । सुशासन र स्थिरता नहुँदा हामीले धेरै दुःख पाएका छौँ । महँगीले नागरिक आहात भएका छन् । भ्रष्टाचारले मुलुक गाँजेको छ । हाम्रो सानो गल्तीले भोलि फेरि पछुताउन नपरोस् । आशा गरौँ, नयाँ वर्ष हामी सबैका लागि सुखद नै हुनेछ । 

अच्युतमान सिंह प्रधान, बालुवाटार, काठमाडौँ

हाम्रो होइन, राम्रो छानौँ

निर्वाचन नजिकिँदै छ । राजनीतिक दल घरदैलो अभियानमा व्यस्त हुन थालेका छन् । पुरानै ढाँचा र शैलीमा मतदाताको मन जित्ने कोसिस गरिरहेका छन् । अब पनि पुरानै शैलीको पछि लाग्ने हो भने मतदाताको स्वाभिमानमा आँच आउनेछ । कुन दललाई मत दिनेभन्दा पनि कुन व्यक्ति उपयुक्त छ, त्यसलाई छान्नुपर्छ । पछिल्लो पटक स्थानीय तह निर्वाचनमा जिताएका प्रतिनिधिले जनभावनाको प्रतिनिधित्व गरे कि गरेनन् त ? यो प्रश्न मत दिनुअघि मतदाता आफूले आफैँसँग सोध्नुपर्छ । केही अपवाद छाडेर धेरै प्रतिनिधिले जनताको भावनाअनुकूल शासन गर्न सकेनन् । फेरि तिनीहरूलाई नै मत दिने हो भने कस्तो परिणाम आउँला ?

लोकतन्त्र जनमतमा आधारित शासकीय व्यवस्था हो । शक्ति र सत्ताको स्रोत सार्वभौम नागरिक हुन् भन्ने मूल्य र मान्यताबमोजिम शासन सञ्चालन भयो भने मात्रै वास्तविक लोकतान्त्रिक पद्धतिको विकास हुने हो । विश्वव्यापी सन्दर्भ अध्ययन गर्दा सुधारिएको, सुदृढ र समुन्नत लोकतन्त्र नै लोकतन्त्रको विकल्प हो । सबैको सम्मान गरेर शासन चलाउने पद्धति लोकतन्त्र हो । यसअघिको निर्वाचनपछिको पाँच वर्षभित्र यस्तो अभ्यास भयो कि भएन त  ? मतदाताले मूल्याङ्कन गर्नुपर्छ ।

लोकतन्त्रको आधार सचेत नागरिक, स्वस्थ र भयरहित आवधिक निर्वाचन, सार्वभौम जनता, कानुनी सर्वोच्चता, प्रक्रियामा पारदर्शिता, नतिजामा नागरिक स्वीकार्यता, कार्यमा वैधानिता र जवाफदेहिता हो । यसको अतिरिक्त व्यवस्थापनमा सारभूत सहभागिता, राज्यको स्रोेतको न्यायोचित वितरण, सूचनामा पहँुच र पारदर्शिता, जनतामा निहित सार्वभौमसत्ता, मानव स्रोतबीच सीमासहितको कार्यगत एकता लोकतन्त्रको वास्तविक आधार हो । प्रतिस्पर्धाबाट छानिएको प्रतिनिधिमूलक शासन व्यवस्था, स्वतन्त्र प्रेस, मानव अधिकारको रक्षा, मौलिक हकको कार्यान्वयन, शान्ति, विविधताको सम्मान, सुदृढ न्यायपालिका, सरकारका अङ्गबीच पृथककीकरणसहितको शक्ति सन्तुलनबाट लोकतन्त्र बलियो हुन्छ । 

भ्रष्टाचार शून्यता, मानव विकासको सुदृढ अवस्था, सांस्कृतिक सम्मिलन, धार्मिक सहिष्णुता, दलीय तथा अन्तरदलीय असल राजनीतिक संस्कार, जनता केन्द्रित प्रशासन र शासकीय व्यवस्थापन नै लोकतन्त्र हो । के यो अपेक्षाको सम्मान गर्न सक्ने व्यक्ति चुन्न हामी सक्दैनौँ र ? सक्छौँ । लोकतन्त्रको सिद्धान्त र व्यवहारबीचको रिक्ततामा ध्यान पु-याएर जनताको सर्वोत्तम हक, हित र भलाइ गर्नु नै साँचो अर्थमा सुदृढ र समुन्नत लोकतन्त्र बनाउनु हो । लोकतन्त्रको व्यावहारिक अवस्था मापन गर्ने सूचक तथा मापदण्डअन्तर्गत कानुनी, राजनीतिक, प्रशासनिक सामाजिक, सांस्कृतिक, आर्थिक, नैतिक, भौतिक, वातावरणीय र मानवीय विकासको गति र तालमेललाई हेरिन्छ । लोकतन्त्रको वस्तुगत मापन गर्न सुशासनका सूचकलाई सर्वेक्षण गरिनुपर्छ । कानुनी शासन, भ्रष्टाचार अनुभूत सूचकाङ्क, नागरिकको जीवनस्तर सर्वेक्षण, सन्तुष्टि स्तर, शान्ति र सदाचार, नागरिक र राजनीतिबीचको सम्बन्धमा पछिल्लो पाँच वर्षलाई कति अङ्क दिने भन्ने विषयमा पनि मतदाताले ध्यान पु-याउनुपर्छ ।

समुन्नत र सुदृढ लोकतन्त्र शान्ति, न्याय, एकता, विकास अधिकार रक्षाको कारक, प्रभाव र अन्तर्य हो । यसर्थ जनता, राजनीतिज्ञ, प्रशासक, व्यवस्थापक, विविध पेसाकर्मी, कानुनविद् सबैको अभीष्ट सुशासन प्रवद्र्धन र लोकतन्त्र सुदृढीकरणमा केन्द्रित हुनु आवश्यक छ । यसैको सम्मान गर्न सक्ने प्रतिनिधि चुनौँ । कुनै दल वा व्यक्तिको पछि नलागी योग्य र सक्षम प्रतिनिधि छान्ने अधिकारको सदुपयोग गरौँ । त्यही नै हो वास्तविक लोकतन्त्र । हाम्रो होइन राम्रो छानौँ ।

विकास खनाल, खैरेनीटार, तनहँु