क्याक्टस–एउटा अन्तरकथा

साँझ झर्दैछ । साँझको छायामा जङ्गली फूलहरूका बिरुवासँगसँग क्याक्टसका साना साना बिरुवाहरू पनि डुब्दै गइरहेका छन् । ती साना साना क्याक्टसले आज लेफ्टिनेस्ट कुर्टको मुर्दा शरीरको स्पर्श पाउने भएका छन् । लेफ्टिनेन्ट कुर्टका रगत–मासु र थेग्राले तिनका नसानसामा ताजापनको रस प्रवाहित हुने भएको छ । उसभित्रको नात्सीपनाले उसलाई सुम्पिदिन लागेको छ क्याक्टसका जरामा सधैँ सधैँका निमित्त । सत्यको निरन्तर बलात्कारले नपुंसक ऊ क्याक्टसका जरामुनि सुतीसुती युद्ध लोलुपताको ऋणशोध गर्नेछ । एउटा मसाने बिरक्तिको झैँ मुस्कान म आफ्नो ओठको डोलमा चिम्लिएको अनुभव गर्न थाल्छु । आश्चर्य । ऊ यसरी यति छिटै मर्न सक्छ भनेर मैले विचारसम्म पनि गरेको थिइनँ । उसका नात्सीपन खेलिरहेका आँखाका चिप्लेँटीलाई एकआध घण्टा पहिलेसम्म पनि मैले आफ्नो शरीरमा अनुभव गरेको थिएँ । उसको अनुहारमा मृत्युको छाया थिएन । एकदम सद्दे थियो, तन्दुरुस्त थियो, जीवनका सारा सपनालाई छातीभरि लिएर उभिएको थियो ऊ मजस्तै । तर उफ् । ऊ कति छिटो म¥यो, कस्तो नपत्याउने किसिमले म¥यो ।