• १४ पुस २०८१, आइतबार

नियत [कथा]

blog

हरेक व्यक्तिको कथा, व्यथा एवं गाथाहरू भिन्न–भिन्न ढङ्गले बितिरहेका हुन्छन् । त्यस्तै मेरो पनि । साङ्गोपाङ्गमा भन्ने हो भने ती सबै कुरा एउटै परिधिमा बेग्लै बेगमा चलायमान भएर सौरङ्गी भेषमा छरपष्ट हुन्छन् । मन परेको कलेवरलाई ग्रहण गरी आफू अगाडि बढ्ने हो । नसोचेका र सोचेका दुवै कुरा आउँछन् र जान्छन् तर जीवनको विशिष्टतामा कुनै फेरबदल हुँदैन । मानिसको सोच, नियत र चित्तवृत्ति मात्र अस्थिर भएर भ्रान्त मनमा विचलन भइरहेका हुन्छन् । जसरी अरूको जिन्दगी चलिरहेको छ, उसरी नै मेरो र साथसाथै हामी सबैको । अरूसँग मेरो पनि यो कथा मेल खान्छ कि ?

 ३–४ दिन भो बदली भएको । पानी पर्ला.. पर्लाजस्तो हुन्छ । तर पर्न सकेको छैन । एक त जाडोको याम त्यसमा पनि यस्तो मौसम । समय दौडेको ख्यालै हुँदैन । घडीको जगनीले “किर... किर... किर” गरी कान खाँदा बल्ल निद्रा खुल्यो । ओहो ! ७ बजिसकेछ । हिजो सुत्दा घडी मिलाउन झुक्किएछु । उठ्न खोजेँ तर घुँडा दुखेर सारै भयो । एक मनले आज अफिस नजाऊँ कि जस्तो लाग्यो । अर्को मनले कसरी बस्ने भएभरको सबै बिदा सकिसकेको छ । “ऐया” पाइतला पनि भत् भत् पोल्न थालिसक्यो । “ई... चिया ।” “हँ” म झसङ्ग भएँ । कतातिर हराएँछु । “आज कति ढिलो... ।” मैले बीचैमा बोलेँ, “अँ घुँडा र पैताला ..दुखेर ।” उनी भान्छातर्फ लागिन बड्बडाउँदै... तर के बोलिन् बुझ्न सकिनँ । दराजमा टाँसिएको ऐनामा आँखा घुम्दै पुग्यो । थकावटका बक्र रेसाहरू अनुहारमा सल्बलाइरहेका देखिए । चिया पिउँदै सोचेँ, “आजकाल म एकलकाँटे र अलि अड्बाङ्गे हुँदै गइरहेको छु ।” 

छेउमा रिमोट देखेँ । सहज महसुस भयो । औँला अब रिमोटमा दौडन थाल्यो । समाचारको समय सुरुवातमा रहेछ । वाचिकाले मधुर कटाक्षमा खबर पढ्दै थिइन् । ओहो ! एक जना विराट नेताको अवसान भएछ । छेउकै कोठाबाट आमाको खोकी पटक–पटक सुनिँदै थियो ख्वाङ... ख्वाङ... ख्वाङ । सार्वजनिक बिदाको अपर्झट सूचना प्रवाह हुँदा मन गद् गद् भयो । ध्यान दिएर सुनेँ । दिवङ्गत नेताको स्वेतपाटोको चर्चा टीभीले बढाइ–चढाइ गर्दै रह्यो । हामीकहाँ मरेपछि श्याम पाटाभित्रका सबै कर्तुतहरू तिरोहित हुन्छन् । मरेपछि माथि उसले भोगिहाल्छ भनेर हो कि ? “जे होस् राम्रै भो... घुँडाले सुख पाउने भयो आज ।” घुँडा दुख्न केही कम भएझैँ लाग्यो । भान्सातर्फ फर्केर कराएँ । “सुन त आज बिदा परेछ ।” टीभीको चर्को स्वरले सुन्न सकिनन् । फुच्चे छोरोले सिरक फालेर उठ्यो । आँखा मिच्दै आमाको कोठातिर दौडिहाल्यो । ढोका खोल्दै करायो, “हजुमा... हजुमा... आज बिदा हो ।” आमाले खोक्दै भन्नुभयो, “बिदा हो... मैले पनि सुनेँ ।” 

ढोका खुल्लै छोड्यो । एकछिन सोचेर अड्यो । फेरि सोध्यो, “आज स्चुल छ ।” खोक्दै... छैन बिदा... जा खेल ।” “डेडीको ?” “डेडीको पनि बिदा ।” “ममीको ?” “बिदा” “पप्पीको ?” “हरे... बिदा ।” “भूतको ?” “हे भगवान्... बिदा भयो अब चुप लाग... ।” “भगवानको ?” “बिदा बिदा सबैको बिदा अब... भो, खेल जा... ।” केहीबेर कोठा वरिपरि उफ्रियो । 

 “आज बिदा.... आज बिदा... सप्पैको बिदा ।” उसको सुबोध वाकचपलता एवं चलाचलचञ्चल चेष्टा हेरेर आफैँसँग प्रश्न गरेँ, “बच्चा र बूढाको जस्तो उत्तम मिलाप अरू उमेरका माझ प्रायः किन हुँदैन ?” मैले आफ्नै शैशवकालको मधुर धरातल सम्झेँ, हजुरआमाले घरबुनाको नयाँ कपडा मलाई लगाइदिएको र इच्छित वस्तु पाउँदा म हर्षको उत्कर्षमा तलमाथि कति दौडेको । त्यो अकथनीय वात्सल्यताको प्रारूप अहिले सम्झँदा मनमा हलचल मच्चियो । वास्तवमा यो सबै कुमालेको चक्र रहेछ । जीवन भोगाइका हरपलहरू कति चाँडै  अतीतको आवरणमा लुकेर बस्दारहेछन् । “ख्वाङ... ख्वाङ... ख्वाङ... ख्वाङ” ।  आमाको खोकीले मेरो घुँडा दुखाइको क्रमलाई पुनः फर्कायो । 

उनी भित्र पस्दै बोलिन्, “अझै ओछ्यानमै हो ?” म सुस्तरी बोलेँ, “अँ हेर न... खुट्टा दुखेर ।” उनी एकोहोरो बोलिरहिन् कति ठाउँ भ्याउनु हरे । कस्तो हैरानी छ मलाई... । एकछिन कतै जान पाउने हैन । न रातमा मीठो निद्रा न दिनको आनन्द । रातभरी... । “ख्वाङ... ख्वाङ... ख्वाङ ।” यी खोकेर सुत्नै पाइँदैन । कति औषधिमूलो गर्नु... । “एउटा सङ्कुचन अवस्थामा आफूलाई राखेर मैले उनलाई हेरिरहेँ । उनी लगातार बोल्दै गइन् । “अरूको हेर्छु रहरले मर्छु । आफ्ना जोरीपारी... साथीहरूलाई कति मज्जा छ । लाजै लागेर आउँछ आफ्नो हालत हेरेरे ।” मलाई पनि खपिनसक्नु भइसकेको थियो । तैपनि सुस्तरी बोलेँ, “हैन के हो यो...? के भो र ? सखारै कचकच, यो राम्रो होइन के, करुणा रानी ।” जङ्गिँदै बोलिन्, “एकछिन सास फेर्न पाइन्न । रातोदिन उमेर पाकिसकेकी सासूलाई.. एक्लै स्याहारसुसार र घरको काम कति छ... ।” “उता आमाले सुन्नुहुन्छ, नकराउ न त्यसरी, हामी पनि त भोलि बूढाबूढी हौँला ।” उछिन्दै उनी बोलिन्, “भो... भो... आफूले केही गर्नुपर्ने होइन, बेहोर्नु त मैले हो । सधैँ बिरामी त्यसमाथि दिनभरि कचकच । ओहो ! उमेर धैरै बोकेर बाँच्नु नपरोस् बा । आफूलाई पनि हैरानी... अरूलाई सास्ती ।” “ख्वाङ... ख्वाङ..” “चुप लाग त, उता आमा खोक्दै हुनुहुन्छ । सारो भएजस्तो छ । धेरै कमजोर भैसक्नु भा’छ । राम्रो हेरविचार... ।” उनी अरू चर्केर बोलिन्, “मैले गर्नसम्म गरेकी छु तर जस मैले कहिल्यै पाउँदिनँ ।” 

उनले दराज खोलेर लुगा पट्याउँन र यताउता मिलाउन थालिन् । मैले कोठाको चारैतिर हेरेँ । एकछिनको चुपचापले म एक निमेष सुस्ताएँ । उनले लुगा मिलाएर मतर्फ फर्कंदा विस्तारै भनेँ, “हेर, बुझ्ने त कोसिस गर । हाम्रो घर खर्च तिम्लाई थाहै छ । बुबा स्वर्गे भएको पनि सात वर्ष नाघिसक्यो ।” उनले अर्थपूर्ण हेराइका साथ सोधिन्, “अनि के भो र ?” “हेर... बाको पेन्सन पट्टाले घरखर्च आधा धानिरहेको छ । आमाको शेषपछि त्यो सबै हराउँछ । कति गाह्रो होला... भन त । आमाको स्वास्थ्य दिनप्रतिदिन बिग्रिँदै गइरहेको छ । “ख्वाङ... ख्वाङ ।” अब उनको अनुहारमा आन्तरिक उद्विग्नता सम्प्रेषित भएको प्रष्टिँदै थियो । मैले बल दिँदै थपेँ, “बूढाबूढी भएको घर आडिलो... भरासिलो हुन्छ । ऊ हेर... बज्यै नाति कति रमाउँछन् । अरू कुराको साथसाथै फुच्चेलाई पनि हेरिदिनुभएको छ ।” “ख्वाङ... ख्वाङ.. ।” उनी आँत्तिदै बोलिन्, “आमाको खोकी धेरै लामो भो... आजै अलि राम्रो डाक्टरलाई देखाइहालौँ । दुब्लाएर... निकै कमजोर हुनुहुन्छ... बाबा चिन्ता नगर्नुहोस् म भ्याइहाल्छु । खानपिनमा पनि जोड दिनुप¥यो...। फलफूल र दूध टुटाउन भएन है ।” 

उता फुच्चे बाबु हजुरआमासँग बात मार्दैथियो । “हजुमा दशैं कहिले आउँछ, भोलि?” “होइन अर्को साल, धेरै दिन पछि ।” “हजुमा हजुमा हजुरको ममी.. डेड खै ?” “भगवान्को घर ।” बालसुलभ कौतुक र भय अनौठो हुन्छ । उसको तोते बोलीको मुखाकर प्रश्नोत्तर एकछिन रोकियो । “हजुमा भगवान्को घर काँ छ ?” “माथि... आकाशमाथि... टाढा ।” “कहाँ टाढा ?” “ल भो जा ममीसँग गाईबुबु मागेर खा ।” “नाइँ नाइँ, म खान्न, हीँ बस्छु ।” “हरे... ।” हामी दुवै मुसुमुसु हास्यौँ । “सुन्यौँ बज्यै–नातिको संवाद कति रमाइला छन् ।” “अँ हो त नि बूढो र बालक एउटै हुन्छन् ।” 

यत्तिकैमा झल्यास्स सम्झेँ । आज अफिस बिदा, आहा ! उनी भान्छातर्फ लाग्दैथिइन्... “हेर त... सुन त आज बिदा रहेछ । बल्ल अघि थाहा पाएँ ।” “ए हो र ? राम्रै भो । अहिले म माथि चोक बजार जान्छु टाँक, सियोधागो किन्नुछ । अँ खाना अलि ढिला हुन्छ ल, बाबुलाई दूध तताएर दिनुहोला, आमालाई पनि । म हिँडेँ अब ।” मन चुलबुल तुलबुल हुँदै कता जाऊँ के गरूँ भयो । घुँडाले भने चल्न मचल्न नदिई कक्रक्क बनायो । भनुँ कि नभनुँ भयो । भनिहाल्छु के बिग्रिहाल्ने हो र ? “सुन त, यता हेर... । हैन के हिँडिसक्यौ ?” जोडले बोलेँ । दौडेर भित्र आउँदै बोलिन्, “हैन किन हो ? अघि भन्नुपर्दैन, गेटबाहिर पुगिसक्या थेँ ।” मैले बक्क परेर हेरिरहेँ । “भन्नुस् न किन हो ? के मान्छे होला ।” सकिनसकि बोल्ने साहस गरेँ, “आजको दिन बिदा, सारै चिसो, वेदरले पनि च्यालेन्ज गरेजस्तो... मन बहलाउनुप¥यो ।” “के कस्तो मन बहलाउनु प¥यो त ?” प्रश्नवाचक नेत्रले उनले पनि च्यालेन्ज गरिन् । मैले बडो सावधानीपूर्वक खुसामद गरेँ, “अरू खास केही होइन, तिमी उताबाट फर्कंदा मासु र एक क्वाटर्...।” वाक्य पूरा नहुँदै कराइहालिन्, “मन बहलाउन के रक्सी धोक्नुपर्छ र ? बहलाउन हैन दिल बहुलाउन । हुन्न... हुन्न प्रेसर र युरिक एसिड बढेर कहाँ पुगिसक्यो । डाक्टरले नखानु भन्या बिर्सनुभो । म त ल्याउँदै ल्याउँदिनँ । चाहे रिसाउनुस, खुसाउनुस् ।” 

अब मेरो घुँडाको साथसाथै पैताला पनि भतभत पोल्न थाल्यो । धन्न अझैसम्म हिँडिसकेकी थिइनन् । उनी ठीङ्ग उभिइरहिन् । उनको खप्कीले म बिलखबन्दमा परेँ । उता कोठामा बज्यै नाति गनगन गरिरहका थिए । पैतालाको पोलाइ र घुँडाको दुखाइलाई दबाउँदै म मुस्कुराएँ । वातावरणलाई कसरी सहज बनाउने भन्ने मलाई फिक्री थियो । उनको कपाललाई देखाउँदै भनेँ, “तिम्रो कर्ली कपाल साँच्चै बेजोड छ । अलि मिलाएर राखे झन । फेरि अरूजस्तो धम्मधुस्स पनि छैनौ नि, सधैँ उस्तै सदाबहार, सिलिम एकदम मखमली फूल ।” उनको अपत्यारिलो नजर मतर्फ सोझियो, “के भन्नुहुन्छ के के अलमलाइरहेको होला ।” मैले मौका छोप्दै भनेँ, “उतै जाँदैछौ, चोक नजिकैको पार्लरमा गएर चिटिक्क परेर आउन ।” उनको मुखाकृति उज्यालो हुँदै गयो, “आककक ।” मैले कुरा काट्दै भनेँ, “हुन्छ नि, कहिलेकसो जानुपर्छ, आफूलाई अपडेट राख्नैपर्छ के । अझ अनुहारमा निक्खारता आउँछ, हो के मेन्टेन गर्नुपर्छ । उनले हास्दै बोलिन्, “हप्ता हप्तामा मुख, अनुहार घोटेर, ताछेर, फेसियल हो कि क्या हो मात्रै गरेर हुन्छ । त्यहीअनुसारको लुगा हुनु परेन ? खस्रो चा...मा मलमलको धोती.. भो पर्दैन म जान्न पार्लर.. ।” 

आसन्न जोखिम पललाई टार्दै बोलेँ, “भनेको मान न हेर अब तीन दिनपछि तलब आइहाल्छ । लुगा, जुत्ता सबै मिलाएर एक सेट किनौला ।” “एक जोरले के गर्ने होे र ?” “ल ल दुई तीन, ल ल जति मन लाग्छ किन्नु । यदि नपुगे सञ्चय कोषबाट तनौला । उनले आफ्नो प्रसन्न मुद्रा अप्रकट गर्दै थपिन्, “थोत्रो मोबाइल कति चलाउनु । साथीहरूले कति खिसिटिउरी गर्छन् । सञ्चय कोषको तान्ने भने एउटा गतिलो नयाँ मोबाइल पनि ल । हुन्छ ? हजुर पनि... ।” मैले मौका छोप्दै घेरा साँघुरो पारेर भनेँ “ल ल अब, तिम्रो चित्त बुझ्यो ।” उनी सोचमग्न भइन् । “अब के भो फेरि ।” 

झ्वाट्ट सम्झेझैँ गरिन्, “ओहो ! मैले त भुसुक्कै बिस्र्या.. एक डोको धुने लुगा छन् । आज लुगा धुन्छु भोलितिर बजार जानुपर्ला ।” घुँडोदेखि पैताला र दिमाग रन्थनियो । झोँक देखाएँ । “के के आलटाल गरी भाउ खोज्या होला ।” फेरि आफूलाई सम्हाल्दै शान्त संयम भएर बोलेँ, “पर्सि शनिबार, भोलि एक दिनको कुरा त हो । केही फरक पर्दैन । सँगसँगै म पनि लागुलाँ विस्तारै तिमी साबुन लगाउनु, म लुगा निखारम्ला... भएन ।” हास्दै बोलेँ “लुगा धोइवरि सकेपछि गएर बाथरुममा नाङ्गै नुहाऔँला दुवै ।” उनको विनोदपूर्ण मुस्कान बल्ल झल्कियो । “पर्दैन, पर्दैन बरु म आफैँ घुम्छु । कति मात्तेको होला अँ तपाईंको लुगा धुवाइ मलाई थाहा छैन र, छिः झारा टार्ने... ।” 

उनी हिँड्दै... पछाडि फर्किंदै बोलिन् । “धेरै हुरुक्क हुनुपर्दैन के..., ल..ल.. आज एक दिनलाई मात्र नि । केही भो भने मलाई नभन्नु ।” अचानक हजुरआमाको कोठाबाट दौडँदै छोरो पछि लाग्यो । “म पनि जान्छु, जान्छु..जान्छु.. बजार ।” मोटरमा अचानक ब्रेक लागेझैँ उनी टक्क रोकिइन् । “बजारमा लगे हैरान पार्छ... यो किन्देऊ.. ऊ किन्देऊ भनेर । नकिने सडकैमा सुतिदिन्छ । लाजै मर्नु, यसलाई लिएर म बजार जान्न ।” “नाईं म पनि जान्छु..।” लौ अर्को फसाद, दैव दिने पितृ हडप्ने भनेजस्तै । म के गरौँ के गरौँ भएर एकछिन् अलमलमा परेँ । उपाय निकालिहालेँ, “ल बाबु यता हेर.. ई मोबाइल गेम लगाइदिन्छु । त्यति के भनेको थिएँ दौडेर आएर मोबाइल झपडिहाल्यो । उनी हिँडिहालिन् । कष्टसाथ त्यो पल बल्ल ट¥यो घुँडा दुखाइ अलि कम हुँदै गयो । “ख्वाङ् ख्वाङ् ।” आमाको खोकीको रफ्तार पनि अलि कम हुँदै गइरहेको थियो । 

के गर्दा के गर्दा, त्यसै अलमलिँदा २ बजिसकेछ । जाडोको दिन सर्लक्क गएको पत्तो पाइँदैन ।  उनले मुरई, मासु र क्वाटर टेबलमा सजाइन् । आजको दिन चाहिँ मजासँग बित्ने भो । कान्छो भाइ टुप्लुक्क आइपुग्यो । “ल... ल.. मनोहर ठीक समयमा आइस् ।” उसले हाँस्दै भन्यो “आज भने राम्रै साइतमा निस्केँछु ।” भन्दै आमाको कोठामा पस्यो । उता कोठामा आमा देवर, भाउजू र फुच्चे के गन्थन गर्दै थिए । मैले बुझ्न सकिनँ । कुर्दै बसेँ । 

दुई भाइले दुई पेग लगाइसकेपछि हाम्रो गफले गति लियो । सुरुवात उसले ग¥यो, “आमालाई खोकीले हैरान पारेको रहेछ । दाइ भाउजूलाई पनि सधैँ राख्न असजिलो । म पनि त छोरो हँु । वर्षमा ६–६ महिना आलोपालो गरौँ ।” एक घुट्को निलेर मासु चपाउन थाल्यो । मैले हुन्छ नि भन्न फुत्काइसकेको थिएँ । श्रीमतीले पैरवी गरिहालिन्, “हेर्नुस् बाबु ! 

यत्रो वर्ष हाम्ले उहाँलाई स्याहार सुसार ग¥यौं... अहिले आएर हामी आमालाई भाग लगाउन्नौँ ।” ऊ बिस्तारै बोल्यो, “हजुरहरूको इच्छा । मैले त हजुरहरूलाई अलि सजिलै होस् भनेर ।” मैले उसको पीठ थपथपाउँदै भनेँ, “तँ चिन्ता नले कान्छा, आमा यतै बस्नुहुन्छ ।” 

अब रक्सी, मासु र मुरई सकिन सकिन लागिसकेको थियो । उसले आमाको कोठातर्फ हेर्दै बिस्तारै भन्यो, “मलाई पनि अलि गारो भएर आएको छ । केटाकेटीहरू बढ्दै र खर्च पनि बढ्दै छ दाइ ।” मैले प्रश्नवाचक दृष्टिले हेरेँ । ऊ भन्दैगयो । “चितवनको आमाको नामको जग्गा भाग लगाउन पाए । मैले श्रीमतीतर्फ हेरेँ । ऊतर्फ लक्षित गर्दै बोलिन्, “आमाको शेषपछि गर्ने कुरा हो यो, जग्गा कतै भागेर जाँदैन क्यारे.. ।” “मैले पनि अहिले नै कहाँ भनेको हो र । शेषपछिको सहमति गर्न खोजेको हुँ ।” उनले धोतीको सप्को मिलाउँदै सोधिन्, “तपाईंले नै भन्नुस् बाबु त्यो जग्गा कसरी बाँड्ने ?” खानपिन सिद्धिसकेको थियो । उसले “खै कसरी ?” भनेर अड्क्यो ।” मैले जोड दिँदै भने “कुरा उठिहाल्यो.. ल तै भन् कान्छा के गरी बाँड्ने ?” 

उनले देवरपट्टि एकनासले हेरिरहेकी थिइन् । ऊ बोल्यो, “मलाई लागेजस्तो भयो.. म अहिले हिँडेँ ।” भनेर जाँदै ढोका खोल्यो । ढोका ड्याम्म लगाउँदै फरक्क फर्की आई भन्यो “ल ठीक छ मै भाग लगाइदिन्छु, ३ कट्ठा जग्गा र आमा ।” ऊ सोफामा लम्पसार पल्ट्यो । एकछिनपछि घुर्न थाल्यो घ्वार् घ्वार् र त्यसैमा आमाको खोकी थपियो... ख्वाङ... ख्वाङ.... ख्वाङ... ख्वाङ... ।”