• १४ पुस २०८१, आइतबार

संयोग (लघुकथा)

blog

बराहताल गाउँपालिकाको बाह्रौँ गाउँसभाले गाउँपालिकाका प्रशासकीय अधिकृत किशुनदेव लुइटेललाई उत्कृष्ट कर्मचारीका रूपमा सम्मानित गरेपछि उनको सामाजिक सञ्जाल फेसबुक पूरै रङ्गियो । उनका सहकर्मी पूर्वचिनारुहरूले व्यङ्ग्यात्मक टिप्पणी पनि गरे भने घरपरिवार आफन्तजनले बधाई पनि दिन भ्याए । उनी २४ (घ) अनुसार बढुवा भएर बराहताल गाउँपालिकामा पुगेका थिए र झन्डै एक वर्षको कार्यकाल पनि पूरा गरिसकेका थिए । दुर्गम क्षेत्रको अङ्क जोडेर छिट्टै बढुवा हुने उनको ठूलो धोको थियो र माथिल्लो पदमा पुगेर अवकाश लिने तीव्र लालसा हुनु पनि स्वाभाविक नै थियो ? 

भोलिपल्टका राष्ट्रिय दैनिक अखबारहरूमा फोटोसहित सनसनीपूर्ण रूपमा उनै किशुनदेव लुइटेलसम्बन्धी यस्ता समाचारहरू छापिए हाल : बराहताल गाउँपालिकाका प्रशासकीय अधिकृत किशुनदेव लुइटेललाई यसअघि कार्यरत कार्यालयहरू अध्यागमन कार्यालय त्रि. अ. वि., यातायात कार्यालय इटहरी, जिल्ला प्रशासन कार्यालय र श्रम सहायता कक्षमा कार्यरतरहँदा अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिगोसहित विशेष अदालतमा मुद्दा दायर गरेको छ  ।

उत्कृष्ट कर्मचारीको सम्मान  र भ्रष्टाचारको बिगोसहितको आरोपको संयोग एकैसाथ परेपछि किशुनदेव लुइटेल भने बडो बिलखबन्दमा परेका छन् ।  

मेचीनगर झापा, हाल : कपन बालुवाखानी ।