• ८ मंसिर २०८१, शनिबार

शालीन विद्रोहबाट राष्ट्रपति बनेकी फरैना

blog

भुइँमान्छेको बाल्यकालदेखि राष्ट्रपतिको भूमिका निर्वाह गर्दासम्मको परिधिभित्र आफ्नो क्षमताले पूर्णाकार प्राप्त गरेको फरैना उपन्यासले कुनै बौद्धिक भूमिका लेखन समावेश नगरी शुद्धरूपमा सत्ताइस खण्डमा विभाजित लेखनलाई दुई सय अट्ठाइस पानामा समापन गरिएको छ । उपन्यासलाई कुनै बौद्धिक भूमिकाको प्रभावमा नपारेर अध्ययन र विश्लेषण गर्न पाठक वर्गप्रति स्वतन्त्रता प्रदान गरिएको छ । यो लेखकको आत्मविश्वास हो ।  

उपन्यासको विचार, भावना, संवेदना तथा अनुभूतिलाई कलात्मक सिर्जनाद्वारा औपन्यासिक आकार दिइएको छ । उपन्यासकारको चेतनामा परेको सामाजिक प्रभावको प्रतिबिम्ब नै फरैना उपन्यास हो । फरैना उपन्यासमा जमिनदारी प्रथाको अराजकतालाई समाप्त गरी नौलो संसार सिर्जना गर्ने लक्ष्यमा केन्द्रित भएमा स्वसत्ता सम्पन्न स्वतन्त्र आफ्नै अस्तित्व स्थापना हुन्छ भन्ने कुरा प्रष्ट देखाइएको छ । सामाजिक चेतनाले फरैनाको अस्तित्वको निर्धारण गरेको छ ।

यहाँ यथार्थलाई गतिशील तत्वका रूपमा स्वीकार गरिएको छ । कमैया प्रथा र जमिनदारी प्रथाको तीव्र आलोचनाले स्थान पाएको छ । फरैना जनताको एउटा दर्पण र जातीय आत्माको दर्पणका रूपमा आएको छ । जहाँ थारू जातिको आन्तरिक जीवनको दर्पण पनि बनेको छ ।

यो उपन्यास कलात्मक रूपमा वस्तुगत गुण र वस्तुगत यथार्थ प्रतिविम्बित भएर वास्तविकताले जन्माएको आशाले महìवपूर्ण उपलब्धि प्राप्त गरेको छ । थारू जातिको भाषा, संस्कार, चाडपर्व आदि सम्बन्धित कुराहरूलाई लेखनको सीमाभित्र सम्मानपूर्ण तरिकाले समावेश गराई संस्कृतिप्रति कुनै बौद्धिक र स्वैरकल्पनाले कुनै विचलन ल्याएको छैन । यी कलात्मक लेखनका आधारमा फरैना उपन्यासले नेपाली साहित्यको प्रचलित धारहरूमा आफूलाई प्रगतिवादी धारामा अगाडि बढाएको छ ।

समाजमा परपीडक बनेर स्वगौरवको प्रतिस्पर्धा गर्ने ग्रामीण जमिनदारहरूको जीवन्त चरित्रले निरक्षर निमुखा वर्गप्रति अधिक शोषण गरेर निजी सम्पत्तिको सञ्चय गर्ने प्रवृत्तिलाई उजागर गरेको छ । साथै आफ्नो शानसौगातमा रमाउने वर्गले समाजमा खनेको ठूलो खाडलले वर्ग विभाजन र वर्ग द्वन्द्व वृद्धि गर्दै लगेर समाजमा विद्रोहको जन्म अनिवार्य गरेको वस्तु यथार्थलाई फरैना उपन्यासमा बुझिने गरी प्रस्तुत गरिएको छ ।

निर्मम, बीभत्स, मनोवैज्ञानिक तरिकाले चारैतिर घेराबन्दी गरेर प्रताडित हुँदा पनि वस्तु यथार्थको ठोस मूल्यलाई बचाउँदै यही घेराभित्र देखिने समस्याको समाधान निश्चित देख्ने फरैनाको अन्तरदृष्टि पीडा, शोषण, असमानताजस्ता कुराले प्रशिक्षित बनेको थियो । 

विद्यमान सेवा सुविधा अधिकारको पहुँच बाहिर रहनु नै फरैनाका लागि उन्मुक्ति र भविष्यको विश्वविद्यालय बनेको थियो । अमानवीय धुत्र्याइबाट निर्मित कमैया, कमलहरी र स्थान विशेष विभिन्न खाले निम्न वर्गको मुक्ति र उत्थानका लागि फरैनाले कुनै दाताका खोजी नगरी आफू र आफै जस्ताहरूको सक्रिय पहलबाट नै समाधानमा पुग्नुलाई अमूल्य परिवर्तन मानिन्छ ।

कतैकतै भाग्यवादको भावले फरैनालाई आफ्नो कर्मवादबाट विचलित बनाउन लाग्दा पनि पुस्तौँदेखि सञ्चित भएर आएका उत्पीडनलाई आफ्नै जीवनकालमा समाप्त पारेर वर्ग समानताको वास्तविक अनुभूति दिलाउने अटल अठोटले ऊर्जाशील बनाउँदै शालीन विद्रोहबाट उनलाई एक नेतृत्वकर्ता बनाइएको छ । शालीन विद्रोहबाट पनि उपलब्धि हासिल गरेर समतामूलक समाज निर्माण हुन्छ भन्ने उदाहरण यो उपन्यासमा फरैनाको माध्यमबाट देखाइएको छ ।

नेपाली सुगम सङ्गीतको क्षेत्रमा वर्तमान समयमा अत्यन्तै सक्रिय, लोकप्रिय सङ्गीतकार सन्तोष श्रेष्ठद्वारा लिखित फरैना उपन्यासलाई अध्ययनका हिसाबले यो उपन्यास लेखनको विषय नेपाली समाजमा भएको विभेदलाई केन्द्र बनाइएको छ । नेपालको मध्यपश्चिमको दाङ उपत्यकाभित्र पर्ने एक थारू गाउँ झिङ्नी र त्यहीँ गाउँका जमिनदार परिवारबाट हुने गरेका सामाजिक विभेद कसरी लैङ्गिक, सामाजिक र वर्गीय विभेदका रूपमा विस्तार भएर मुलुकभरी गाँजिएको छ भन्ने कुरालाई कथाका रूपमा प्रस्तुत गरिएको छ ।

उपन्यासकारले आफ्नो लेखन कलालाई गीत, कविता, भाषणजस्ता विविध विधाले छिमल्दै छिमल्दै लगेर राजनीतिक रूपमा विस्तार गरेका छन् । पात्र छनोटका दृष्टिले एक कमैया प्रथाभित्रकी छोरी जसलाई कम्लरी भनेर चिन्ने प्रचलन छ । कमैयाकी छोरी फरैना उपन्यासको मूल पात्र बनेकी छिन् । ऊनी एक कमैया प्रथा भित्रकी प्रतिनिधि पात्र हुन् । जसले आम नेपाली समाजमा रहेका विविध विभेदको प्रतिनिधित्व गरेकी छिन् । सामाजिक, लैङ्गिक र वर्गीय विभेदभित्रका मसिना कुरालाई उपन्यासकारले सरल भाषाबाट गम्भीर कुरालाई साङ्केतिक रूपमा उठाएको पाइन्छ । उपन्यासको केन्द्रीय पात्र फरैनाले गरेको त्रिकोणात्मक सङ्घर्ष र द्वन्द्वबाट सम्हालिँदै सम्हालिँदै एक राष्ट्रपतिसम्मको भूमिका प्राप्त गर्न उनले झेल्नुपरेको समस्या र समाधानका दुवै कुरा कलात्मक तरिकाले प्रस्तुत भएको छ ।

लिपिबद्ध कुरालाई साहित्यिक बनाउने कुरा लिपिकारमा निहित हुन्छ । लेखनलाई मूर्त रूप दिएर पाठकको मूल्याङ्कनमा कस्तो प्रभाव पर्ने भन्ने विषय स्वयं कृतिको विषयसँग सम्बन्धित रहन्छ । लेखन विज्ञानको प्रारम्भदेखि साहित्यको रूपमा आएका सम्पूर्ण कलालाई विधागत तरिकाले विभाजन गरी साहित्यको यात्रालाई सहजता दिने काम भएसँगै आफ्ना सैद्धान्तिक मान्यताको निर्माण पनि स्वयं लेखन प्रक्रिया र प्रवृत्तिसँगै मिलेर आएका छन् । हाल साहित्यका सम्पूर्ण विधामा शास्त्रीय मान्यताको परिधिभित्र रहेर मात्र अगाडि बढेको पाइँदैन । वर्तमान समयमा विविध कुराको प्रवाभले साहित्य लेखनले आफ्ना शास्त्रीय मान्यताभन्दा केही अगाडि सरेर आफ्ना विधागत चरित्रमा पनि केही परिवर्तन ल्याएको छ ।

साहित्यमा साना शब्द सङ्केतदेखि विशाल ग्रन्थहरू समावेश छन् । समय, वातावरण, विश्व परिस्थिति, चेतना आदिबाट प्रभावित वा प्रताडित जुन अवस्थामा पनि सिर्जना गरिने प्रचलन प्रबल रहेको छ । 

यसै सन्दर्भको निरन्तरतामा हालसालै नेपाली साहित्य बजारमा फरैना उपन्यास प्रकाशित भएको छ । वंशाणुगत गुण वातावरणीय प्रभाव, स्वअध्ययन, रुचि वा रुझानबाट व्यक्ति साहित्यमा प्रवेश गरेको हुन्छ । एकाएक लेखक वा सर्जक बन्ने सम्भावना न्यून रहन्छ । कुनै कुराको लामो साधनाबाट खारिनु र असल लेखक वा सर्जक बन्नु नियमित नियम नै हो । यस कृतिका कृतिकार नेपाली सुगम सङ्गीतका पछिल्लो समयमा स्थापित चर्चित सङ्गीतकार हुन् । कुन प्रेरणाका कारण उपन्यास लेखनमा आए भन्ने कुरा उपन्यासभित्र उनको भनाइबाट प्रष्ट बुझिन्छ ।

प्रकृति सौन्दर्य चेतनाका दृष्टिले फरैना उपन्यास शोभायमान बनेको छ । चैत महिनाको गर्मीदेखि ऋतुचक्र पार गर्दै सूर्यास्त समयसम्मको अनुकूल चित्रणले कथावस्तुलाई सन्तुलित सहयोग पु-याएको छ । पात्रगत प्रवृत्तिमा पनि पीडक र पीडित तर्फका मूल पात्रहरूको अपेक्षाकृत उपस्थिति रहेको छ  । सिर्जनाको सुन्दरतालाई जोगाउँदै सामाजिक विषयको यथार्थलाई अन्तध्र्वनित गर्नु फरैना उपन्यासको विशेषता हो ।