नेपाली समाजमा प्रचलित कुनै पनि किसिमको चाड, पर्वका परम्परामा धर्म र संस्कृतिको विविध पक्ष अन्तर्निहित रहेको हुन्छ । माघ महिनाको सुरुवातको दिन अर्थात् माघ १ गतेका दिन मनाइने ‘माघे सङ्क्रान्ति’ पर्वलाई ‘मकर सङ्क्रान्ति’को नामले पनि चिनिन्छ । भौगोलिक, जातीय र सांस्कृतिक विविधता रहेको नेपालमा एकै दिन पर्ने र एउटै नामको पर्वलाई पनि भिन्नभिन्न भेग र समुदायमा भिन्नभिन्न ढङ्गले मनाउने प्रचलन रहिआएको छ ।
‘सङ्क्रान्ति’को अर्थ ज्योतिषीय दृष्टिकोणमा सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने र यसै दिनदेखि सूर्यको उदय दक्षिणतर्फबाट उत्तरतर्फ प्रवेश गर्ने क्रम आरम्भ हुने गर्दछन् । उत्तरायणको अवधिमा तुलनात्मक रूपमा दिन लामो हुने र तापक्रममा समेत वृद्धि भई गर्मी मौसमको प्रारम्भ हुने गर्दछ । यसरी जुन दिन सूर्य एक राशिदेखि अर्को राशिमा प्रवेश गर्छ त्यस दिनलाई सङ्क्रान्ति भनिन्छ ।
भीष्म पितामहले ५६ दिनसम्म काँडाहरूको शøयामा सुतेर सूर्य उत्तरायण भएको दिन अर्थात् माघ १ का दिन देह त्यागेको महाभारतको कथामा उल्लेख छ भने सोही दिन भगिरथले गङ्गालाई पृथ्वीमा अवतरण गराई सागरमा मिलाएका थिए । त्यसैले माघे सङ्क्रान्तिका दिन प्रयाग र गङ्गासागरमा गरिने स्नानलाई महास्नान भनिन्छ ।
हिमाल, पहाड र तराईमा बसोबास गर्ने सबै जनजातिले माघे सङ्क्रान्तिलाई आआफ्नो परम्परा, भिन्नभिन्न विशेषता र प्रकृतिले मनाउने गरेको पाइन्छ । घिउ, चाकु, तरुल, तिलको लड्डु जसको पौष्टिक खाद्य पदार्थ खाएर मुलुकभर माघे सङ्क्रान्ति पर्व मनाइन्छ ।
नेवार समुदायमा घिउ र चाकु खाने भएकाले नेपाल भाषा (नेवारी)मा ‘घ्यो चाकु सँल्हु’ भनिने यस पर्वमा उपत्यकाका तीन सहरमा घिउ, चाकु, तरुल, तिलको लड्डुलगायत खिचडीका साथै ‘यलय् पलः’ (पाटने पालुङ्ग) खाने चलन रहिआएको छ । यस दिन परिवारमा मूली वा आमाले छोराछोरीलाई तालुमा तेल हालिदिने प्रचलन पनि छ ।
थारु समुदायले माघी पर्व नयाँ वर्षका रूपमा धुमधाम र उत्साहका साथ मनाउँछन् । यस समुदायमा माघी मौलिक संस्कृतिले भरिएको सबभन्दा ठूलो पर्वका रूपमा लिइन्छ । माघे सङ्क्रान्तिका अघिल्लो दिन सुँगुर काट्ने चलन छ । यसलाई ‘जिता मरना दिन’ भनिन्छ भने सङ्क्रान्तिको रातभर गीत गाएर रमाइलो गर्ने गरिन्छ, यसलाई ‘धमार’ भनिन्छ । माघको दोस्रो दिन खिचडी बनाई खाने गरिन्छ । यसलाई उनीहरू ‘खिचरहवा’ भनिन्छ । यस्तै भाइ–भाइमा मन नमिले माघीमा नै अशंवण्डा गर्ने गरिन्छ । यसलाई घर फुटाइ भनिन्छ । यसै दिन थारू समुदायले गाउँको मुखिया चुन्ने काम पनि गर्छन् ।
किराँत समुदायमा माघे सङ्क्रान्तिका दिन नयाँ वर्ष सुरु हुन्छ । किराँती राजा यलम्बरको शासन सत्तासँग इतिहास जोडिएको किराँत संवत् नेपाल संवत्भन्दा ३ हजार ४ वर्ष जेठो रहेको छ । माघे सङ्क्रान्तिलाई किराँत लिम्बूहरूले यले तङ्बेसँगै ककफेवा तङ्नाम भनेर पनि मनाउने गर्छन् । माघ १ बाट उच्च पहाडमा पाइने दुर्लभ प्रजातिको सेतो चाँप फुल्ने भएकाले मकर सङ्क्रान्तिलाई ककफेवा तङ्नाम भनिएको हो । यस दिन लिम्बूहरू परम्परागत वेषभूषामा सजिएर आफन्तकहाँ जाने, धान नाच र च्याबु्रङ नाच्ने तथा मान्यजनका हातबाट वनतरुल पोलेर टीका ग्रहण गर्ने परम्परा रहेको छ ।
पाँचथरको फिदिम, शिलौती, लब्रेकुटी, काबेलीसँगै ताप्लेजुङ, तेह्रथुम र धनकुटासहित विभिन्न स्थानमा किराँत नयाँ वर्षका अवसरमा लिम्बू समुदायले खुसी साटासाट गरिरहेका छन् ।
मगर समुदायमा माघे सङ्क्रान्ति छोरी चेलीबेटीहरूको पर्वका रूपमा मनाइन्छ । यस दिन चेलीबेटीहरूलाई पूजा गर्ने गरिन्छ । पूजा गर्नका लागि जम्मा गरिएको चामल, फलफूल, तरुल, रोटी आदिलाई मिश्रा भनिन्छ । माघे सङ्क्रान्तिका दिन दाजुभाइले चेलीवेटीहरूलाई भेला गराएर मिश्रा चढाई पुज्ने परम्परा छ भने यस समुदायमा बालकहरूले धनुकाँड खेल्ने चलन पनि छ ।
मैथिली समुदायले ‘तिला सङ्क्रान्ति’का रूपमा मनाउँछन् । उनीहरू यस पर्वलाई वाचा बन्धनका रूपमा समेत मनाउने गरेको पाइन्छ । यस दिन परिवारका अग्रज र आमा–बाबुले आफ्ना सन्तानलाई सक्खर र तिलको लड्डु खुवाई उनीहरूबाट बुढेसकालमा सेवा गर्नुपर्ने वचन, वाचा लिन लगाउने गर्दछन् ।
यसै दिनदेखि कन्याहरू सुयोग्य वर प्राप्तिको कामना गरी तुसारी पर्व मनाउन थाल्छन् भने विवाहित महिला पृथ्वी पर्व मनाउने गर्छन् । यस पर्वमा नवविवाहित दुलहाको घरबाट दुलहीको माइतमा तिल र चिउराको कोसेली र जाडोमा लगाउने लुगा पठाइदिने परम्परा पनि छ ।
भक्तपुरको टौमढी टोलस्थित तिलमाधव नारायणस्थानमा ठूलो मेला लाग्छ । नारायणलाई घिउ, चाकु र तिल चढाउने परम्परा रहेको छ भने तिलमाधव नारायणको मन्दिरमा चढाइएको घिउ सन्तान नभएका महिलाले शुद्ध भई खाएमा सन्तान प्राप्ति हुने विश्वास गरिन्छ । काभ्रे, पनौतीमा पनि माघ महिनाभरि मकर मेला लाग्छ ।
माघे सङ्क्रान्तिको दिन नेपालको पूर्वदेखि पश्चिमसम्मको विभिन्न नदी, घाटका किनार एवं दोभान र त्रिवेणीहरूमा स्नान गर्नेहरूको भीड हुने गर्दछ । यस दिन झापाको प्रसिद्ध धार्मिक नदी कन्काईमा सङ्क्रान्तिदेखि पाँच दिनसम्म रमाइलो मेला लाग्ने र किराँत परम्परा एवं संस्कृति अनुरूप धान नाच देखाइने प्रचलन छ ।
बराहक्षेत्रमा पनि यस दिन हजारौँ हिन्दु धर्मावलम्बीको भगवान् विष्णुको पूजा आराधना गर्छन् । माईखोला र जोगमाई खोलाको दोभानमा लाग्ने उक्त मेलामा समेत हजारौँ भक्तजनको घुइँचो लाग्ने गर्दछ भने सो मेलामा विभिन्न परम्परागत नृत्यसमेत हेर्न पाइन्छ । यस्तै पश्चिममा रिडीको रुरु क्षेत्रमा तीन दिनसम्म भव्य मेला लाग्ने गर्दछ । गुल्मी, पाल्पा र स्याङ््जा जिल्लाको सङ्गमस्थलबाट बग्ने पवित्र कालीगण्डकी नदी र गण्डकीको तीरमा अवस्थित पुरानो हृषिकेशव मन्दिरमा मेला लाग्ने गर्दछ ।
सोही दिन एसियाकै सबैभन्दा ठूलो मानिएको शालिग्राम भएको स्थान सेतीखोला र कालीगण्डकी नदीको दोभानको शिला रहेको मोदी वेणीघाटमा समेत स्नान गर्नेहरूको ठूलो भीड हुने गर्दछ । यता चितवनको देवघाटमा देवघाटमा तीन दिन मेला लाग्छ भने मेलासँगै गलेश्वर आश्रममा लक्ष्यहवनसमेत गरिन्छ ।
आध्यात्मिक र भौतिक दृष्टिले समेत सबैभन्दा महìवपूर्ण संस्कृति मकर सङ्क्रान्तिलाई केवल धार्मिक दृष्टिकोणबाट मात्र मकर सङ्क्रान्तिको विवेचना गर्नु उपयुक्त होइन धर्म भनेको अनुभवसिद्ध विज्ञान हो भन्नुमा अत्युक्ति नहोला । तसर्थ यस्ता पर्वले धार्मिक सांस्कृतिक सद्भाव बढाउने र सामाजिक रीतिरिवाजको जगेर्ना गर्नुका साथै आपसी भाइचारा कायम राख्न महत्वपूर्ण भूमिका खेलेको हुन्छ ।