• १७ असार २०८२, मङ्गलबार

जनता जागरुक र सचेत हुनुपर्छः मुख्यमन्त्री कँडेल

blog

सुर्खेत, असार १६ गते । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले जनता जागरुक र सचेत भएपछि मात्र मुलुकको समुन्नति सम्भव हुने बताउनुभएको छ । विकासको मूल आधार जनचेतना भएको उल्लेख गर्दै उहाँले जनताको सक्रिय सहभागिताबिना कुनै पनि योजना सफल नहुने बताउनुभयो । 

वीरेन्द्रनगर नगरपालिका–११ मा स्थानीयवासीसँग भेटघाट तथा अन्तक्र्रिया गर्दै मुख्यमन्त्री कँडेलले राज्यले योजना बनाएर मात्र विकास हुने नभई त्यसको कार्यान्वयनमा जनताको प्रत्यक्ष संलग्नता आवश्यक रहेको बताउनुभयो । 

उहाँले भन्नुभयो, “रातो किताबमा योजना आएरमात्र पर्याप्त हुँदैन, जबसम्म जनता त्यसको निगरानी, साथ र सहभागितामा उत्रदैनन्, तबसम्म विकासको गति अपेक्षित रूपमा अगाडि बढ्दैन ।” 

जनताले विकास निर्माणका विषयमा सजग भई योजना निर्माणदेखि कार्यान्वयनसम्मको प्रत्येक चरणमा निगरानी गर्नुपर्नेमा मुख्यमन्त्री कँडेलले जोड दिनुभयो । मुख्यमन्त्री कँडेलले भन्नुभयो, “राजनीतिज्ञ, कर्मचारी र जनप्रतिनिधिसँगै अब जनता पनि प्रत्यक्ष रूपमा विकास प्रक्रियाको हिस्सा बन्नुपर्छ ।”