• १७ असार २०८२, मङ्गलबार

नारी सञ्चार गृहको कोषलाई एक लाख सहयोग

blog

झापा, असार १६ गते । सहारा नेपालका प्रबन्ध निर्देशक तथा सामाजिक अभियन्ता महेन्द्रकुमार गिरीले नारी सञ्चार गृहले स्थापना गरेको ‘नारी सञ्चार प्रोत्साहन बहुउद्देश्यीय अक्षयकोष’ मा एक लाख रुपियाँ सहयोग प्रदान गर्नुभएको छ । 

कोषमा हालसम्म ५२ लाख ३० हजार रुपियाँ जम्मा भइसकेको छ । उक्त कोषलाई एक करोड पुर्‍याउने अभियानमा प्रेरणा प्रदान गर्दै गिरीले सोमबार एक लाख रुपियाँ सहयोग गर्नुभएको हो । 

नारी सञ्चार गृहकी कोष वृद्धि तथा परिचालन समितिका संयोजक जोस्ना श्रेष्ठले हालसम्म कोषमा ५२ लाख ३० हजार रुपियाँ जम्मा भएको जानकारी दिनु भयो । 

सञ्चार गृहले २०७५ सालमा २५ लाख रुपियाँको अक्षयकोष स्थापना गरेको थियो। 

सञ्चार गृहकी अध्यक्ष रेजिना गौतमका अनुसार कोष घोषणा हुनु अघिदेखि नै एक करोड रुपियाँको दीर्घकालीन अक्षयकोष बनाउने उद्देश्यका साथ दाताहरूबाट निरन्तर सहयोग प्राप्त हुँदै आएको छ।

कोषाध्यक्ष स्वस्तिका आचार्यका अनुसार गिरीको सोमबारको एक लाखसहित अन्य दाताहरूको दुई लाख १३ हजार रुपियाँ कोषमा जम्मा भइसकेको छ भने पूर्वघोषित २० हजार रुपियाँ संकलनको क्रममा रहेको छ।

नारी सञ्चार गृह २०६९ सालमा स्थापित झापाका महिला पत्रकारहरूको साझा संस्था हो। संस्था महिला तथा अन्य पत्रकारहरूको क्षमता र दक्षता अभिवृद्धि, बालबालिका लक्षित सचेतनामूलक कार्यक्रम सञ्चालन, महिलाको सशक्तिकरण तथा सार्वजनिक सरोकारका विषयमा निरन्तर क्रियाशील रहँदै आएको छ।