• १४ पुस २०८१, आइतबार

टुप्लुक्क टोकियो पुगेपछि..

blog

स्रष्टा गिरीका रहरै रहरमा रमेको यात्रा विवरण– टुप्लुक्क टोकियोभित्र पसेपछि थाहा हुन्छ रहर पूरा गर्न गरेका सङ्घर्ष, मिहिनेत, प्रतीक्षा, निराशा र अप्रत्यासित मौकाले दिने खुसीको मूल्य । सबैभन्दा गहन कुरा लेखकीय स्वधर्म–इमानदारी । 

स्रष्टा गिरी पनि जापानको वैभवबाट लोभिएका छन् र बुनेका छन् जापान सपनाको कुसुमे रुमाल । पुस्तक पढ्दै जाँदा सुरुमा अलिकति यात्रा विवरण मात्र भएजस्तो लागे पनि पछिल्ला शीर्षकहरूले जापानको कला, संस्कृति, मानवीय स्वभाव, जापानीको मिहिनेत, त्यहाँ भएको विकास, नेपालीको सङ्घर्ष गाथा जान्न मदत गर्दछ । गिरीका लागि जापान कस्तो सपना थियो भन्ने कुरा जापान जान पाउने आशामा गरिएका सङ्घर्षले बताउँछ पहिलो शीर्षकमै । कुनै पनि कुरा सतहमा प्राप्त हुँदैन भन्ने ज्ञान बाँडेको छ जापान सपनाले । 

उमिहोतारु, यान्त्रिक पार्किङ, टोकियो वे आक्वा लाइन, योकोहामा ल्यान्डमार्क टावरजस्ता मानवनिर्मित संरचनाको भर्खर जापान जाऊँ र आफू पनि हेरौँ लाग्नेगरी बयान गरेका छन् स्रष्टा गिरीले । जापानीहरू खुला आँखाले सपना देख्ने र ती सपना पूरा गर्न दिलोज्यानले लाग्ने गर्दा रहेछन् भन्ने कुराको प्रमाणका रूपमा लिन सकिन्छ जापानको द्रूत मानव तथा यान्त्रिक विकासलाई । आधुनिकीकरणको उच्च नमुना हेर्न विश्वलाई लालायित बनाएको छ जापानले । जापानमा एक साता रहँदा त्यहाँ भ्याएजति, देखेजति कुराको वर्णनले यी कुरा अनुमान लगाउन गाह्रो पर्दैन । 

जापानी साहित्यकार युकिमो मिसिमा सङ्ग्रहालय भ्रमणको क्रममा हामीलाई जापानी साहित्यको नेपाल प्रवेशदेखि अमेरिका र जापानी मौसमको चर्चाका साथमा युकिमो मिसिमा को थिए र उनी किन प्रख्यात भए भन्ने कुराको जानकारी दिन्छ । 

जापानीहरूको आत्महत्या दर विश्वका उच्च १० भित्र त पर्दैन तर जापानीहरूको मृत्युको मुख्य कारण भने आत्महत्या नै हो । त्यसकारणले पनि आत्महत्या गर्ने विशेष स्थान नै रहेको होला आत्महत्याको जङ्गल । पुस्तकभित्र यो शीर्षक रहस्यमयी लाग्छ । 

स्रष्टा गिरीको जापान भ्रमणको मूल ध्येय साहित्यिक नै रहेछ– भानुजयन्ती मनाउने र सूर्योदयको देशमा आफ्नो कृति लोकार्पण गर्ने । उनले एक साताको बसाइमा आफ्नो पुस्तकको लोकार्पण त गरे नै; त्यहाँ हुने साहित्यिक कार्यक्रमको झल्को पनि दिएका छन् भानुजयन्ती र कानागावा साहित्यिक साँझको वर्णनबाट । 

हाइकु सम्राट माचुओ वासो सङ्ग्रहालयको भ्रमणकथा पढ्दा नेपाली साहित्यिक धरोहरहरूको पनि त्यसरी नै व्यवस्थान गर्न सके हुन्थ्यो भन्ने लाग्छ । टोकियो विश्वविद्यालय पुग्दा त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन पनि त्यसरी नै गर्न सकिन्छ नि भन्ने लाग्छ । बुद्धको विशाल मूर्ति स्थापना गरिएको कामाकुरा क्षेत्रको यात्रामा पुग्दा बुद्धभूमिमा जन्मिएर पनि बुद्ध नाम उच्चारणबाहेक केही गर्न नसकिएको गुनासो लाग्छ । हिरोसिमा क्षेत्रको वर्णनले ऐतिहासिक महìवका वस्तुको संरक्षण कसरी गर्नुपर्छ भन्ने बताउँछ ।  

जीवनले तय गरेजस्तो सहज कहाँ छ र समय ! भूमिका लेखक जयदेव गौतमले भनेजस्तै चञ्चले स्वभावका गिरीले हतारमा यात्रा गरेका छन् र कतिपय जानै पर्ने ठाउँ छुटाएका छन्, हेर्नैपर्ने कुरा छुटाएका छन् । तर हतारमा पनि हरेक कुराको स्वाद लिएका छन् र दिएका छन् । पुस्तक सरसर्ती पल्टाउँदा दैनिकी टिपोटजस्तो लाग्न सक्छ । कतिपय कुरा विवरणात्मक लाग्न सक्छन् । तर त्यसभित्रका शीर्षक, उपशीर्षक पढ्दै जाँदा आफू त्यहीँ पुगेको आभास दिलाउँछ, आफूलाई त्यहीँ पाइन्छ । छोटो समयमा बीभत्सताबाट आधुनिकतातर्फ जापानले मारेको फड्को बुझ्न सहज बनाउँछ । अझ गहन रूपमा हेर्दा संस्कार, सत्कार, सरसफाइ, संवद्र्धन र संरक्षणमा जापान कति धनी रहेछ भन्ने बुझिन्छ टुप्लुक्क टोकियो पढेपछि । 

कृति : टुप्लुक्क टोकियो

विधा : यात्रा संस्मरण

लेखक : गोविन्द गिरी प्रेरणा

प्रकाशक : बीएन पुस्तक संसार प्रालि

प्रकाशन : २०७८

पृष्ठ : १२०

मूल्य :रु. २५०।–

Author

पुष्पा खनाल