• १६ कात्तिक २०८२, आइतबार

नेपाल संवत् ऐतिहासिक, सामाजिक र सांस्कृतिक पक्ष

blog

नेपालमा ठकुरी राजा राघभदेवको समयमा नेपाल सवंत् स्थापना भएको इतिहास छ । त्यो समयलाई इस्वी संवत् ८७ अक्टोबर २ तारिख गणना गरिएको छ । १४ औँ शताब्दीको मध्यकालमा पशुपतीनाथलाई समर्पित गरी संवत् सुरु गरिएको इतिहासकारहरूको मत छ । पशुपतिनाथलाई समर्पित गरिएकाले यो संवत् धार्मिक कार्यहरूसँग पनि गाँसिएको छ । तत्कालीन समयमा राजकाजको व्यवहारमा समेत प्रयोग गरिन्थ्यो । त्यही कारणले जनमानसमा पनि स्वाभाविक रूपमा स्थापित भएको हो ।

२ अक्टोबर ८७ देखि १७६ मल्ल शासनकालसम्म नेपाल संवत् सरकारी संवत् थियो । त्यस बेला शाही आदेशमा नेपाल संवत् उल्लेख गरिन्थ्यो । त्यसबेलाको मुद्रामा पनि यही संवत् उल्लेख गरिएको छ । बौद्ध र हिन्दु धर्मका पुस्तक र ग्रन्थहरूमा अनि कानुनी लिखत कागजातहरूमा यही संवत् उल्लेख भएको छ । 

सन् २०२३ नोभेम्बर ११ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल संवत्लाई सरकारको दस्ताबेजमा लेखिने सार्वजनिक उद्घोष गरेका थिए । नेपाल सरकारले सरकारी कामकाज र दस्ताबेजहरूमा विव्रmम संवत् र नेपाल संवत् दुवै प्रयोग गर्ने निर्णय गरेको छ । विकिपिडिया र गुगलले समेत यो संवत्लाई नेपालको ऐतिहासिक संवत् मानेर उल्लेख गरेको छ । नेपालका अन्य सञ्चारमाध्यमहरूले पनि विव्रmम संवत्, ग्रेगोरियन संवत् र नेपाल संवत्लाई समान रूपमा लेख्ने गरेका छन् । नेपाल संवत्लाई यसरी विभिन्न कालखण्डमा सरकारी र सामाजिक स्तरमा स्थान दिएर नेपाल संवत्को ऐतिहासिकता प्रामाणिक पुष्टि भइसकेको छ । यसलाई नेपालको मौलिक संवत्को रूपमा स्थापित गरिएको छ । 

२०१५ सालको आम निर्वाचनपछि गठन भएको श्री ५ को सरकार गृह मन्त्रालयको आदेशमा अब उप्रान्त काठमाडौँ उपत्यकालाई मात्र नेपाल नभन्ने आदेश जारी भएको थियो । यसरी नेपाल शब्दलाई व्यापकता प्रदान गरिएको थियो । सुरुमा नेपाल भन्नाले नेपाल मण्डल र त्यसपछि काठमाडौँ उपत्यकालाई जनाउने प्रचलन थियो । विभिन्न कालखण्डमा बनेका सरकारहरूको समयमा पनि नेपाल संवत् नै उल्लेख हुनु यसको खास विशेषता पनि हो । यसमा निहित जनउपकार, जनहित र मानव कल्याणको मूलभूत सिद्धान्त नै हो । 

कछला महिना अर्थात् कार्तिक कृष्णपक्ष द्वितीयाको दिनलाई नयाँ वर्ष न्हुदं सुरु हुने दिन मानिन्छ । यो दिन नेवार समुदायले म्हपूजा गर्छन् । यही दिनबाट नेपाल संवत् सुरु गरिनुको आधार धार्मिक, सामाजिक र सांस्कृतिक पक्ष पनि हो । शुद्ध चित्तले मन, वचन र कर्मलाई आत्मसात गर्न आफ्नै भौतिक शरीरलाई पूजा गरिनु पर्छ भन्ने मान्यता छ । यो दिन पवित्र मानिन्छ । नेपाल संवत्का प्रणेता शङ्खधर साख्वाले यो दिनमा नेपाल संवत् सुरुवात गर्न राजासँग अनुरोध गरेका थिए । वास्तवमा यसको आधार चाहिँ मानव कल्याण नै हो । जगत् हिताय जगत् सुखाय मूल उद्देश्य थियो । यस हिसाबले विचार गर्दा नेपाल मण्डलमा बसोबास गर्ने सबै समुदायमा चित्त शुद्धिका लागि धार्मिक विधिविधान अपनाउने सांस्कृतिक परम्परा नेपाल संवत् सुरु हुनु अगाडिदेखि नै प्रचलनमा थियो । नेपाल मण्डलमा बसोबास गर्ने सबैले नेपाल संवत्लाई आफ्ना बहीखाता, चिना, टिपनलगायत लिखत दस्ताबेजहरूमा नेपाल संवत् नै लेख्ने गरेका छन् । तत्कालीन नेपाल मण्डलमा प्रचलित स्वनिग अर्थात् कान्तिपुर, भादगाउँ र ललितपुरमा नेवार राजाहरूले शासन गरिरहेको बेला नेपाल संवत्को सुरुवात भएकाले यो संवत्लाई अद्यापि नेवार समुदाय बहुल स्थानहरूमा नै बढी हर्ष उल्लासका साथ मनाइने भएकाले सङ्कुचित अर्थमा लिइन्थ्यो तर अहिले यसले नेपालको राष्ट्रिय गौरव र पहिचान स्थापित गरेको छ । 

शङ्खधर साख्वाले तत्कालीन ज्वोतिष विद्यामा आस्था विश्वास राखेर लखुतीर्थबाट ब्रह्ममुहूर्तमा ल्याइएको बालुवा सुनमा परिणत भएपछि त्यसको सदुपयोग गर्न ऋणमोचन गरिदिने मनसाय राखेका थिए । राजाको अनुमति लिएर ऋणमोचन गरिदिएको हुनाले त्यही दिनदेखि नेपाल संवत् सुरु भएको हो । राजा र आमजनताबिच समन्वय गर्न शङ्खधर साख्वाले महìवपूर्ण भूमिका निर्वाह गरेको हुनाले नेपाल संवत्को थालनी भएको हो । 

प्रत्येक वर्ष म्हपूजाको दिन नयाँ वर्ष सुरु हुन्छ । यो दिन हर्ष उल्लासपूर्वक सांस्कृतिक वाद्यवादनसहित नागरिकहरू भेला भएर नगर परिव्रmमा गर्ने चलन त्यसबेलादेखि नै भयो । संसारका विभिन्न मुलुकमा आफ्नै सांस्कृतिक परम्परा अनुसार आफ्नै मुलुकको नयाँ वर्ष मनाउने चलन छ । एक देशको संवत्लाई डायस्पोरा अर्थात् विदेशमा बस्ने मानिसहरूले आआफ्नो देशको चलन अनुसार मौलिक सांस्कृतिक परम्पराका रूपमा मनाउने गरेका छन् । नेपाल संवत्लाई अमेरिका, बेलायत, भारत आदि मुलुकमा बसोबास गर्ने प्रवासी नेपालीहरूले पनि नेपाली सांस्कृतिक बाजागाजाका साथ उल्लासमय वातावरणमा नयाँ वर्ष मनाउने गरेका छन् । 

नेपालमा प्रत्येक वर्ष राजधानी काठमाडौँमा नेपाल संवत् नयाँ वर्ष मनाउन जनस्तरबाट न्हु दं समारोह समिति गठन हुने गरेको छ । यो दिन राजधानीमा उल्लासमय वातावरण देखिन्छ ।  २०४६ सालमा नेपाली कांग्रेसका नेता गणेशमान सिंहको नेतृत्वमा भएको जनआन्दोलन सफल भएपछि तत्कालीन अन्तरिम प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको सरकारले नेपाल संवत्लाई राष्ट्रिय संवत्को मान्यता दियो । नेपाल संवत्का प्रणेता शङ्खधर साख्वालाई पनि औपचारिक रूपमा पूर्ण सम्मान दिन थालियो । भक्तपुर जिल्लास्थित थिमी नगरपालिकामा अरनिको राजमार्गमा शङ्खधर साख्वाको सालिक निर्माण गरियो । सरकारी सञ्चारमाध्यम रेडियो नेपाल, नेपाल टेलिभिजन र गोरखापत्रमा नियमित राख्न थालियो । यसरी नेपाल संवत् ११४५ सम्म आइपुग्दा विभिन्न कालखण्डमा भएका सरकार र जनस्तरमा समाहित व्यापक जनसमर्थनबाट अब उप्रान्त अझै यसले व्यापकता पाउँदै जाने छ । जनतामा विकसित राष्ट्रिय स्वाभिमान, चेतना र जागरणको फलस्वरूप यो संवत्ले अझै झाँगिँदै जाने अवसर पाइरहने छ ।  

Author

केदार शाक्य