• २ कात्तिक २०८२, आइतबार

यमपञ्चक

blog

आए भाष्कर  जो प्रिया  नयनकी  भेटौँ म सन्ध्या भनी 

चिम्ली लोचन ती प्रदीप्त रविले यो ज्योति गुम्ला भनी

बुझ्दैनन्  रविले छ रोष ननिको सन्ध्या परी श्रापमा

जन्म्यो हा यमराज सो बखतमा मान्छे पुग्यो घाटमा ।


खोली आत्मकथा फिराद दिनुहोस् भन्दै झुकी पाउमा

आशीर्वाद मिल्यो पवित्र यमुना जन्मी उहीँ गर्भमा

पापाचार हुँदा सदा मनुजमा खोज्दै पखाल्छे यमी 

मान्छे आयु निली बस्यो यमपुरी त्यो धर्मराजै पनि ।


कौवा दूत बनी गयो यमपुरी सञ्चार भन्दै थियो

बैनी याद दिलाउँदा समयले सम्झेर धेरै रुयो

छुट्टी माग्छ निशुम्भ शुम्भसँग ऊ जाँदैछु एकै दिन

मेरो कर्म तिमी समाल अहिले हुन्छौ र दुःखी किन । 


भैँसीमाथि चढी प्रसन्न मनले आएछ दाज्यै भनी

रम्दै स्वागतमा खुलेर यमुना गर्दै छ अभ्यर्चना 

बैनी पर्छ म जान कर्म थलमा देऊ मलाई  बिदा

भन्छे स्वान पठाउँदा यमपुरी सञ्चार पुग्ला नि त । 


आइन् गौ घरमा रमाहृदयको सन्देश बोकी त्यहाँ 

लक्ष्मीकान्त दीपावली हुन गयो जाज्वल्य धर्ती जहाँ

गौमातासँगमा थियो बयल जो चारौँ नराम्रो  भन्यो

त्यो अर्ती मनमा गमेर यमले पाँचौँ दिनैमा गयो । 


कौवा, स्वान र गौ तथा बयलको पूजा यमीले गरी 

फोर्दै ओखरमा र विघ्न जति छन् दाज्यै हटाएँ भनी 

फुल्छन् फूलहरू अनेक थरका हाम्रा बगैँचा सधैँ

बालौँ दीप यहाँ नराख पटका सल्किन्छ आगो कतै । 


धर्ती कञ्चन यो शरद् छ  हँसिलो  झुल्दै छ मोती धरा

फाल्दै कल्मष ती र स्वान्त सुखमा बग्दै छ त्यो निर्झरा

बज्दा मादल तालले छमछमी नाचेर द्यौसी भनूँ

बैनी, भाइ, दिदी र दाजुसँगमा टीका लगाई  बसूँ ।