• १४ पुस २०८१, आइतबार

‘दर्शन, बौद्धिकता र यथार्थको त्रिवेणी

blog

रञ्जना निरौलाको निबन्ध सङ्ग्रह ‘अनुभूतिको अवतरण’ भर्खरै सार्वजनिक भएको छ ।  निरौलाले आफ्नै  जीवनीय अनुभूतिलाई मूल विषयवस्तु बनाएर फरक चिन्तन र विचारपरक भावधारालाई निबन्धमार्फत अवतरण गराएकी छिन् ।

भोगिएका, देखिएका, पढिएका र आँखाले देखेर मस्तिष्कमा गहिरो छाप बनेर बसेका अनेकन दृश्य, घटना, समय, पात्र, मूर्ति, परिवेश आदिलाई सुन्दर शब्द शैलीले सजाएर भावपूर्ण र अर्थपूर्ण अभिव्यक्तिलाई सिर्जनात्मक बनाउने कला साहित्यकारसँग मात्र अन्तरनिहित हुन्छ । यस्तै रञ्जनाका भाव, घटित घटनाहरू, अक्षर, शब्द र वाक्यका सहारा र लेखकको चामत्कारिक लेखनकलाबाट कालजयी निबन्धहरू ‘दर्शन, बौद्धिकता र यथार्थको सङ्गममा अवतरित भएका छन् ‘अनुभूतिको अवतरण भित्र’।

१५ वटा निबन्धहरू सङ्ग्रहित यस सङ्ग्रहका प्रत्येक निबन्ध कविताका अनुच्छेदबाट सम्बोधित छन् र प्रारम्भले कवितात्मक सुरुवात गराउँछन् । ‘शिरीषसँग शब्द संवाद’बाट शुभारम्भ गरेको निबनध सङ्ग्रहले  पारिजातप्रतिको दृष्टिकोण र श्रद्धा पाइन्छ । लेखकलाई गरेको अवमूल्यनप्रति विद्रोह पाइन्छ । वर्तमानका लोकप्रिय र जीवनकै लागि मìवपूर्ण बनेको फेसबुकका निर्माता जुगरलाई सम्बोधन गरेर फेसबुको आदत, उपयोगिता र आत्मरतिको व्यापक विकास भएको तीतो यथार्थ छ । त्यसैगरी संसारलाई तहसनहस बनाउने कोरोनाको अनुभूतिलाई छिँडिभरिको संसारबाट चिहाएर पोखेकी छिन् । 

आध्यात्मिक चिन्तनको चेत, समर्पणमै प्रतिविम्बित छ । प्रतीकात्मक रूपमा मयूरको प्वाँखलाई पृष्ठभूमि बनाएर मनमन्दिरमा विराजित कृष्णमा अर्पित निबन्ध सङ्ग्रहको आवरण पछिको प्रथम पृष्ठदेखि नै एक सय सोह्रऔँ पृष्ठको निबन्ध ‘प्रेमको शिविरबाट’ भन्ने शीर्षकको निबन्धले प्रचुर अध्यात्मको सन्देश दिँदै श्रीकृष्णप्रतिको प्रेमलाई भक्तिमय, रसमय र पठनमय पारेको छ । बङ्करमाथि उभिएको मन लगायतका सबै निबन्धले फरक फरक विषयको उठान गरेका छन् । आक्रोश पोखेका छन्, प्रेमले भिजेका छन्, भेट्टिएका छन् छुटेका छन् आह्वान गरेका छन्, सम्झना गरेका छन् ।  

निबन्धमा बौद्धिकता छ । हार्दिकता छ । दर्शन छ । उच्चस्तरको भाषा शैलीको प्रयोगले कविलाई कुशल निबन्धकारमा स्थापित गराउन महìवपूर्ण भूमिका खेलेको छ । अवतरित भावनाहरू सूक्तिमय छन । अनुभूतिहरू हामीले नै भोगेका तर व्यक्त गर्न नसकेका पाठकका अनुभूति जस्ता छन् । 

आफ्नो लेखनकला, प्रस्तुतीकरण, भाव,  अभिव्यक्ति शिल्प, भाषाको सरलता र सुन्दरतालाई गम्भीरताकासाथ प्रस्तुत गरेका उनका निबन्धहरूमा जीवन छ, जीवनको हरियोपना छ । अनुभूतिहरू हृदयजन्य उद्गारमा अवतरित छन् । 

जीवनका राम्रा नराम्रा पक्ष छन् । सामाजिक विसङ्गतिपूर्ण मनोविज्ञानप्रति खेद छ । चिन्तन छ, चेत छ । दर्शन छ, समयको यथार्थ  चित्रण छ र महìवपूर्ण कुरा अनुभूतिको सहज अवतरण छ निबन्धहरूमा ।

सामाजिक यथार्थ, ऐतिहासिक विम्ब, प्रकृति चित्रण र प्राकृत विम्ब, पौराणिक अध्ययनबाट आफ्नो दृष्टिकोणसहित प्रस्तुत गरिएको विम्ब, विभिन्न परिवेश र आयाम, प्रकृति जीवन, पात्र, प्रवृत्ति, आदिको मानवीकरण, उपमा, दृष्टान्तजस्ता लेखनका माध्यमले सबैजसो निबन्धलाई निबन्धकारले सजीव, सबल र सघन बनाउने काम गरेकी छिन् । निबन्धहरू यथार्थ धरातलबाट उठेका शाश्वत चिन्तनले युक्त छन् ।  

यति हुँदाहुँदै पनि धेरैजसो निबन्धमा शब्दको पुनरावृत्ति पाइन्छ त कतै विरोधाभाष पनि । स्थान, परिवेश, अवस्था र घटनाअनुसार कहीँ कतै भाव पक्ष र विचार पक्षलाई भन्दा वर्णनात्मक कुरालाई अलिक ज्यादा प्रश्रय दिएको अनुभूति भए पनि निबन्धले पाठकलाई यसरी तानिरहन्छ कि पढिरहन मन लाग्छ र पढाइपछि आनन्द दिन्छ । समग्रमा भन्दा उक्त कृति निरौलालाई निबन्धकारको परिचय दिलाउन सक्षम छ । साथै प्रस्तुत कृति नेपाली निबन्धको क्षेत्रमा सुन्दर रङ, छाया, आकृति र तस्बिरजस्तै रहने छ भन्ने विश्वास गर्न सकिन्छ । 

कृतिः ‘अनुभूतिको अवतरण’

विधा: निबन्ध सङ्ग्रह

निबन्धकार: रञ्जना निरौला

विधा: निबन्ध सङ्ग्रह

प्रकाशन: २०७९

प्रकाशक:शिखा बुक्स, बागबजार 

मूल्य : ३५०÷–