• १३ साउन २०८१, आइतबार

सुन्दर चित्र (लघुकथा)

blog

धेरै बेरदेखि एउटा विद्यार्थी एकोहोरिएर चित्र कोरिरहेको थियो । 

बडो मग्न भएर चित्र कोरिरहेको देख्दा विशेष प्रकारको हो कि जस्तो भान हुन्छ । चित्र बनाउन सिध्याएर एक एक गर्दै सबैजसो विद्यार्थी उठेर गइसके तर त्यो विद्यार्थी भने अझै चित्र कोर्नमा दत्तचित्त देखिन्थ्यो ।  

चित्र कोर्ने समय सकिए पनि त्यो विद्यार्थी उठेर नआएपछि शिक्षक आफैँ उसको नजिक गयो । त्यत्रो समय लगाएर कस्तो चित्र बनाएछ भनेर कापीमा गहिरिएर हेर्न थाल्यो । चित्र देखेर शिक्षक छक्क प-यो । चित्रमा खासै त्यस्तो कुनै आकारप्रकार थिएन । केरमेर केरमेरको गुजुल्टो र यत्रतत्र रङको टाटो मात्र थियो । सबैलाई देशको सुन्दर चित्र लेख्न लगाएर प्रतियोगिताको आयोजना गरिएको थियो ।

‘के बनाएको ? खै, देशको नक्सा ?’ 

‘सर, यही त हो देश ।’ विद्यार्थीले सहज उत्तर दियो ।

‘यसमा खै कहाँ छ  हिमाल, पहाड र तराई ? कहाँ छ स्वच्छ हरियाली खेत र आकाश ?’ शिक्षकले सोध्यो ।

‘सुरुमा सबै राम्रो र प्रष्ट थियो सर । हिमाल पहाड र तराई पनि राम्रै्र थियो । तर पछि ठूलाबडा र नेताहरूले केके गरेर यस्तो बनाइदिए ।’ विद्यार्थीको जवाफ थियो ।

‘अनि खै त तिनीहरू ?’ 

‘ती फेरि जित्नका लागि चुनावमा गएका छन् ।’ विद्यार्थीको उत्तर आयो । 

 

भक्तपुर