असाध्य चासो र चिन्ता छ उनलाई आज टिकट मिल्छ कि मिल्दैन ? उनलाई कतै जानु छैन । घरमा नै बसेर टिकटको जोहो गर्नुपर्ने छ । एक मनले भनिरहेछ : घरमा बसेर कसरी टिकट पाइन्छ होला । यस्तो भीड छ । नवीन यात्रा गर्नेहरूको । लस्कर छ, सबै टिकट स्टेसनहरूमा । यहाँ बसेर अनलाइन पनि होला तर कसले हेर्ने र त्यो अनलाइन ?
हो नि, अनलाइन हेर्न त जान्नु प-यो नि ? टिकट काउन्टरमा बसेकाहरू सबैजना सबै प्रविधिमा निपुण होलान् र ? निपुण हुनुपर्छ भन्ने पनि छैन ।
उनी यसो आङ तान्छन् र बाहिर चियाउँछन्, पानी झमझम परिरहेको छ ।
यो पानी पनि कति तुर्केको होला ? कि कस्सेर आउनु भलबाढी आउने गरी कि चाँडो विधो हुनु,
भलबाढीको कल्पनाले उनलाई कतै सडक भत्कने, पहिरो जाने आस पनि पलाएको छ । उनको जीविका नै भलबाढीबाट, पहिरो पुलबाट चल्ने गर्छ । पानी कस्सेर आउनै पर्छ ।
अहं रोकिनु त हुँदैहुँदैन । उनी मनमनै कामना गर्छन्, यो अन्तिम वर्षे महिनाले खुब बाढी पहिरो ल्याउनै पर्छ । अन्यथा मेरो पेसा सङ्कटमा पुग्नसक्छ ।
उनी मनमनै हाँस्छन् र विचार गर्छन् ः मेरो मात्रै पेसा सङ्कटमा पर्दैन, अरूको पनि पर्छ । हामी जस्ताको पेसा सङ्कटमा पर्नुभनेको धेरै ठूलाठालुहरूको पेसामा धमिरो लाग्नु हुनेछ । हाम्रै कारणले धेरैको घरगृहस्थी चलेको छ । छोराछोरीहरूको शिक्षा चलेको छ । पत्नीहरूका गहना बनेका छन् । पतिहरूका लागि सुन्दर सुटहरू बनेका छन् । पाँचतारे होटलहरूको सुखद् यात्रामा लक्का जवान सन्तानहरू मात्रै होइन, पाका बाबुआमा पनि विनिमय भइरहेका हुन्छन् । कतिका सन्तान विदेशमा छन्, कतिले श्रीसम्पत्तिको भण्डार लुकाउन पाएका छन् । हाम्रै कारण त हो नि ? जसका लागि बाढी पहिरो आउनु आवश्यक छ । पुल भत्कनु जरुरी छ । अग्निकाण्ड हुनै पर्छ । विकासे योजनाहरू पूरा हुनुको सट्टा समय थप गर्दै बजेट बढाउनै पर्छ र पो जीवन धान्न सकिने छ । मेरो, मजस्ताको अनि हामीजस्ता सबैको प्रतिदिनको कामना यस्तै हुन्छ ।
उनी आफ्नै कारणले घरगृहस्थी चल्नेहरूका नाम र गाउँ गन्न लाग्छन् । केही दिन पहिले मात्रै दिएको नाम टिप्न बिर्सिएको रहेछ ।
स्मरण हुनासाथ आजसम्मको अन्तिम प्राप्तकर्ताको नाम र ठेगाना आफ्नो अत्यन्त निजी डायरीमा टिप्छन् । जुन डायरीलाई पत्नी र परिवारका सदस्यहरूले समेत थाहा पाएका हुँदैनन् । पत्ता नै पाउँदैनन्, के छ त्यस डायरीमा ।
बाहिर पानी झमझम पर्न छाड्यो । उनी ढुक्क भए । किनकि उनको मनोकामना पूरा हुने गरी पानी दर्किन लागेको थियो । तर पानी दर्किए पनि आज टिकट नलिई भएको छैन । जसरी पनि लाइन बस्न जानुपरेको छ कसरी होला ?
उनीलाई अलिकति सङ्कोच पनि छ । यति ठूलो दाता भएर टिकटको लाइनमा कसरी बस्नू । तर जसरी पनि अघिल्लो यात्रा तय गर्नै छ । मानिसहरूले अघिल्लो यात्रा तय गर्नु नपरे सायद वसाइँसराइको कष्ट पनि झेल्नुपर्ने थिएन होला ? कष्ट र यातना सहनुपर्ने थिएन होला ? भेकमरीदेखि अनेक प्राकृतिक विपत्ति त शून्य हुन्थ्यो होला ?
धत् के अनावश्यक चिन्ताको पोको बोकिरहेको होला मैले पनि ? यी सबै समस्याको तह पुग्ने प्रयास निरर्थक हुने छ ।
उनी समय हेर्छन् बेलुकाको चार बज्न लागेको छ । टिकटको लाइन त अलि हलुका भयो होला ? कतै ढिला भएर नपाइने हो कि ? होइन भोलिसम्म बुकिङ खुला छ । कसरी सकिएला र आजै । उनी मनमनै ढुक्क हुन्छन् । तर आजै जसरी पनि टिकटको लाइनमा पुग्नै पर्छ । अलि रात परोस् । मलाई अँध्यारोमा कसैले पनि ठम्याउन सक्ने छैनन् । हो, बुकिङ काउन्टरका हाकिम भने मसँग प्रसन्न छन् । जति अँध्यारो भए पनि उनैलाई भेट्नुपर्ला । अरू बाहिर बस्नेहरू त सस्तोमा टिकट लिएर महँगोमा बेच्ने दलालहरूको झुन्ड हो । तिनीहरूसँग डिल गर्नु भनेको निकै ठगिनु हो र अन्तिममा टिकट नपाउनु पनि हो ।
बुकिङ काउन्टरका हाकिम अलि बढी सोमरसमा लोभिने गर्छन् । उनको झुन्ड नै त्यस्तै छ । बजारमा केही बोतल नयाँ ब्रान्डका पुराना बोतलहरू बोक्नु ठीक होला । मनमनै विचार गर्छन् र पत्नीलाई जानकारी दिन्छन् ः म टिकट लिन हिँडे । कुरा भएको निकै दिन भयो तर आज वितरण हुनलागे छ ।
पत्नीले शुभकामना दिइन् र सम्झाइन्– टिकटका हाकिमका लागि बोतलसँग केही सितन पनि लैजानु पर्ने हो कि ?
झट्ट उनले सम्झे– हो, केही त नदिई हुँदैन । हाकिम मात्रै खुसी भएर हुँदैन । उनका परिवार, उनका सहयोगी सबै खुसी भएमा मात्र टिकट मिल्ने हो । नत्र अर्कोका नाममा छ भनेर सबैले अड्को थाप्न सक्छन् ।
टिकटको मोल कति तिर्नु पर्ला ? आज भोलि असाध्य महँगी बढेको छ । कुनै दर रेट हुँदैन । मिलाएर बोक्नु पर्ला । उनी निष्कर्षमा पुग्छन् ।
ड्राइभरलाई लैजाऊँ कि आफैँ गाडी चलाऊँ ? मनमा द्विविधा हुन्छ । उनी ड्राइभरका साथमा जाँदा टिकटको दस्तुर, सोमरस आदिका विषयमा सूचना लिक भयो भने के गर्नु ? पत्रकारहरू पछि लाग्ने खतरा छ । तिनीहरूको मुख कसरी थुन्न सकिन्छ ? कुनै साथीलाई लैजाऊँ भने उनीहरू आफैँ च्याँखे थापेर बसेका होलान्, टिकटको लामो लाइनमा । भैगो आफैँ गाडी चलाउँछु ।
उनको निर्णय सही थियो । उनले केही सम्झेझैँ गरे र आफ्नो खास कोठामा गए । साँचो उनी आफैँसँग रहन्छ । कोटको भित्री खल्तीबाट साँचोको झुप्पा निकाले र एउटा चट्ट परेको कालो ब्रिफकेस हातमा बोके ।
उनले यताउति हेरे । पत्नी निकै पर आफ्नै धुनमा थिइन् । अरू सहयोगीहरू लाखापाखा थिए । कसैले देख्ने सम्भावना रहेन ।
अत्यन्त सावधान मुद्रामा उनी सरासर ग्यारेजमा पुगे र पछाडिको सिटमा ब्रिफकेस राखे । अनि पत्नीलाई कराएर जानकारी दिए– ल म टिकट लिन लागँे है ।
पत्नीले शुभकामना दिँदै टाढैबाट स्वीकृतिसूचक टाउको हल्लाइन् ।
उनी अर्थात् इनवुजी । इनवुजी क श्रेणीका ठेकेदार हुन् । उनले आफ्नो गन्तव्यको सपना देखेको धेरै वर्ष भयो । पहिले कसरी पैसा कमाउने उनी त्यसमा मात्रै लागि रहे । पैसाले मात्रै हुँदैन रहेछ । शक्ति पनि चाहिने रहेछ । शक्तिका लागि पद आवश्यक हुन्छ । पद मार्गमा कुद्न त्यसै सकिँदैन । टिकट अनिवार्य हुन्छ । टिकट जताको भए पनि खरिद गर्नैपर्ने हुन्छ ।
बालक हुन् कि युवा अनि परिपक्व जसले जुन रूपमा भए पनि पदमार्गको यात्रा गर्नु छ भने टिकट किन्नै पर्छ । कसैले अलि सस्तोमा टिकट लिन्छन् कसैलाई अलि महँगो पर्छ । टिकट हाकिमको मुड, आवश्यकता र अवस्था आदिले मूल्य तय हुन्छ ।
इनव्जीले लिन खोजेको टिकटको मूल्य निश्चित छैन । तर उनलाई राम्ररी थाहा छ सस्तो छँदैछैन । त्यसैकारण उनले ठेक्कामा प्राप्त लाभांशको निकै मोटा बिटाहरू ब्रिफकेसमा पट्याएर राखेका थिएँ ।
इनव्जी टिकट बिक्रेता हाकिमको कक्षमा सरासर पुगे । उनलाई हाकिमको पीएले राम्ररी चिनेको थियो । सानो ब्रिफकेस, सानो झोला साथमा लिएर पटक पटक आउने क श्रेणीको निर्माण व्यवसायीलाई नचिन्ने त कोही थिएन त्यस कार्यालयमा । उनका लागि सदा ढोका खुला थियो र आज पनि पुग्नासाथ खुल्यो ।
कार्यालयको मूल द्वारमा टिकटका दाबेदारहरूको निकै ठूलो सङ्ख्या पङ्क्तिबद्ध थियो । एकजना अधबैँसे भन्दै थिए– जीवनको अधिकांश भाग टिकट पथमा सकियो ।
अर्का परिपक्व मानिसको चिन्ता थियो– टिकटपथ निर्माण गर्दा अनेक पल्ट जेल बस्नुप¥यो । यातना खेप्नु प¥यो, श्रीसम्पत्ति भएको सबै गुम्यो, परिवार छरपष्ट भए । अब उमेर ढल्किेपछि बलियाबाङ्गाहरूले हामीलाई पछार्दै दौडेका छन् । अब काम नलाग्ने भए रे ती टिकटपथ निर्माण गर्दा सम्पूर्ण वय खर्चनेहरू ।
अर्का अलि बौद्धिक जस्ता भलाद्मी यो सुनेर गम्भीर स्वरमा भन्दै थिए– समयको खेल हो– नियतिको निर्माण हो र भविष्यको पदचाप हो । बिरुवा रोप्ने, मल पानी गर्ने, कीटाणुबाट वृक्षलाई जोगाउनेको पीडा टुप्पोमा पुगेर फलमा झुन्डिनेहरूले कसरी बुझ्न सक्छन् र ? तपार्इंहरू वृक्षरोपकहरू चिन्ता गर्नुहुन्छ ? चित्त नबुझे माथिको फलको लोभ परित्याग गर्नुहोस्, यो वृक्ष हुर्काउन गरेको यातनालाई अप्रिय सपना भनेर भुल्नुहोस् र नियतिका भरमा अर्को यात्रा आरम्भ गर्नुहोस् । यहाँ लामबद्ध हुनुको कुनै अर्थ छैन ।
उनी भन्दै थिए माथि फल टिप्ने बङ्कर झुन्ड तयार छ, यता ब्रिफकेसको यात्रा जारी छ । ऊ हेर्नुहोस् त इनव्जीको साथमा के छ ? टिकटको मूल्य हुनुपर्छ त्यहाँ । तपाईंको यातनाको सानो पोकोभन्दा त्यो ब्रिफकेस निकै सशक्त, शक्तिशाली छ ।
सबैले सुने उनको कुरा । बोल्ने साहस थिएन मौन थिए । आफ्नो यात्राका लागि टिकट पाउन सकिने लोभ र आसमा तिनीहरू कहिले ढोकातिर पुलुक्क हेर्थे कहिले भित्र हाकिमको कक्षबाट बाहिरिने पीए वा अरू सहयोगी र टिकटार्थीहरूको अनुहार नियाल्थे ।
कोही टिकट हातमा बोकेर रमाउँदै भन्थे– मैले त सजिलै पाएँ । केही पनि गर्नु परेन, हाकिमको निगाहमा नै मिल्यो ।
यसो भन्दै भीड पार गरे पनि उनीसँग केही घण्टा पहिलेको ब्रिफकेस साथमा नभएको देख्नेहरू भने हाँस्तै थिए ।
केही सुन्दरीहरूको प्रवेश अकस्मात् भयो हाकिमको कक्षमा । लाममा बसेका विचरा टिकटपथका यात्रीहरू कोही केही बोलेनन् । कसलाई के भन्नु र ? सभ्य, पढालिखा, धन सम्पत्तिले परिपूर्ण यी तन्नेरीहरूप्रति हाकिम अलि बढी नै दयालु छन् भन्ने सुनेका छन् । केही दिनदेखि आफ्नो बास नै यतै बनाएका र कष्टपूर्ण यात्रा पार गरी आएका यी पथिकहरू मुखामुख गर्छन् र मुस्कुराउँछन् मात्रै ।
इनव्जी पङ्क्तिलाई चिर्दै सरासर भित्रतिर पसे । आफूले चिन्नेहरूलाई हात उठाएझैँ गरे । तर शिर निहु¥याएनन् । अरूले बरु शिर झुकाउँदै नमस्कार गरे । शिर झुकाउनुपर्ने थिएन उनलाई । अरूको शिर झुकाउने तागत भएकाहरूको स्वभाव पनि हो यो ।
उनी हाकिमको कक्षमा पुगे । भित्र सुन्दरीहरूको भीड थियो । टिकटपथका हाकिम बडो रसपूर्णशैलीमा कुरा गरिरहेको थिए । अरूसँग निकै आक्रामक रूपमा बोल्ने हाकिम मस्किँदै, मुस्कान छर्दै बोलिरहेका थिए । उनले इनवजीलाई एकछिन अर्को कोठामा बस्न सङ्केत गरेर भने– टिकटपथ निर्माण गर्न उहाँहरूको निकै महìवपूर्ण योगदान छ । पहिले उहाँहरूको व्यवस्था गरी हालौँ हुन्न ?
इनवजीले सहमति नजनाउने कुरै थिएन । तर पनि उनले भने– बाहिर पनि टिकट मार्गबाट आएका हौँ भन्नेहरूको ठूलो पङ्क्ति बसिरहेको छ । उहाँहरू फुत्त पस्नुभयो भने मलाई अलि कठिन होला हजुर ।
टिकट पथका हाकिमले भने केही छिन धैर्य गर्नुहोला । फरक पर्ने छैन । ती बाहिर बस्नेहरू त थकित, गलित दरिद्र भइसकेका छन् । उनीहरू रस निचोरेर फालेको उखुको खोस्टा सरह हुन् । चिन्ता नलिनुहोस् । तिनीहरूमा मसम्म आउनसक्ने तागत नै छैन । तागत हुनेहरू त सरासर आइरहनुभएको छ । तपाईं आउनुभयो, उहाँहरू त बल बाँधेर नै आउनुभएको छ ।
निर्देशित अर्को कोठामा इनव्जी जानुभयो । तर त्यहाँ अरू पनि केही थिए । सामान्य भलाकुसारी पछि टिकट मार्गबारे कुराकानी सुरु भयो । सबैका हातमा ब्रिफकेस थिए । तर इनव्जीको जत्रो कसैको देखिँदैन । उहाँहरू पनि लाइनमा नबसी आउनु भएको रहेछ । उनीहरूको टिकटपथको यात्रा इनव्जीको भन्दा सबैको फरक रहेछ । सबैको टिकटपथ फरक भएको हुनाले सबै सन्तुष्ट थिए ।
केही छिनपछि नै टिकटार्थी सुन्दरीहरूको हाँसो, धन्यवाद, आभारी जे भने पनि मान्ने जस्ता अनेक शब्दस्वरहरूसँगै हलचल सुनियो । उनीहरू जसरी भित्र पसेका थिए त्यसरी नै बाहिरिएको पदध्वनि स्पष्ट सुनिन्थ्यो ।
इवन्जीलाई टिकटपथका हाकिमले भित्र बोलाए । इनव्जी घुँडासम्म टाउको निहु¥याउँदै उपस्थित भए ।
के कति छ ? टिकटपथको यात्रा त्यसै हुँदैन । तपाईं त तिर्नसक्ने मानिस हो । कुनै दुःख गर्नुभएको छैन । टिकटपथ निर्माणमा योगदान नहुनेहरूका लागि अलि फरक व्यवस्था गरेको छु ।
इनव्जी विस्तारै भन्छन्– तीन छ हजुर । गएको साल पनि हजुर आफैँले गरेको टिकट यात्रामा केही चढाएको थिएँ । अहिले हजुरका अन्य टिकटपथका सहयात्रीहरूका लागि अलग्गै शुल्क दिनेछु । तर यो चाहिँ मेरो टिकटका लागि मात्रै हो ।
हाकिमले केही छिन विचार गरे र ढोका बन्द गर्न इनव्जीलाई इसारा गरे । इनव्जीले इसाराअनुसार ढोका बन्द गरेपछि हाकिमले निर्देश दिए, मेरो छेउमा बस्ने सहयोगी हो तर आफूलाई यो टिकटपथको वरिष्ठ भन्नेगर्छ । उसले विरोध गर्नसक्छ । अरू धेरै टिकटपथका यात्रीहरूको लस्कर छ । तिनीहरूसँग मिलेर उत्पात गर्नसक्छ । के गर्ने होला ?
इनव्जी असमञ्जसमा परे । यसो विचार गरे घरमा त केही होला । मलाई पनि टिकटपथको यात्रामा निस्किँदा केही खाना खाजा अरू यसो साथीहरूसँग रामरमिता गर्नै पर्ने हुन्छ । हुन्छ भन्ने कि हुँदैन भन्ने ?
आफ्नो प्रश्नले इवन्जी अप्ठ्यारोमा परेको अनुभव गर्दै हाकिम साहवले नै गाँठो फुकाउने काम गरे । उनले भने– अहिले तिनका बिटालाई छ भाग लगाउनुहोस्, बराबरका भाग हुनुपर्छ । त्यसमध्येको एक भाग त्योे मेरो सहयोगी वरिष्ठ पुरानोलाई दिनुहोला र भन्नुहोला टिकटपथको यात्राका लागि हजुरको साथ सहयोग जरुरी भयो । तपाईंबाहेक मेरो कोही पनि छैन । टिकट पाइएन भने टिकटपथको यात्रामा निस्कन पाउदिनँ ।
हाकिमले ख¥याउँदै भने, ‘मसँग भेट भएको, परिचय भएको जानकारी उसलाई नदिनू । भेट भएको कुरा पटक्कै नबताउनू । चिनेजस्तो पनि नगर्नू ।’
हाकिमको सुझावअनुसार इनव्जीले झोलाका नोटलाई छ भाग लगाए र पाँच भाग हाकिमलाई जिम्मा दिए । अनि एक भाग बोकेर उनी अर्को कोठातिर लागे । टिकटपथको कार्यालयमा वरिष्ठको आफ्नै गुट र गुनासा छन् । उनी आफूसँग निकटहरूसँग साउती गर्दै थिए । तर झोलासहित कोठामा प्रवेश गरेका इनव्जीलाई देख्नासाथ साउती बन्दभयो र सबैको ध्यान अर्कातिर मोडियो ।
हजुर म इनव् । विस्तारो आफ्नो परिचय दिँदै खाली कुर्सीमा उनी बसे । वरिष्ठका आँखाको सङ्केत पाएर उनले यताउति हेरे । वरिष्ठका साउती सहयोगीहरू बाहिर निस्केपछि इनव्जीले भने, हजुर टिकटपथको यात्राका लागि यो यसो हजुरलाई सानो भेट... ।
वरिष्ठका त्रिनेत्र चमक्क भए । तैपनि बानीअनुसार भने, ‘के हो त्यो ? किन लेर आको ? मलाई के काम छ यसको ? त्यो उता टिकटपथको हाकिमलाई दिनु र तिमीले टिकट यात्राको अवसर पाउनेछौ । नत्र केही हुँदैन ।’
इनव्जीले उनको नक्कली कुरालाई बुुझिरहेका छन् । दुई हात जोड्दै भने, ‘मेरो यो टिकटपथको कार्यालयमा हजुरबाहेक कोही पनि छैन । हाकिमसँग त देखादेख पनि भएको छैन । अरू मानिसहरूलाई चिन्ने त कुरै भएन । पहिलो पटक आएको छु हजुर । टिकटपथ निर्माताहरू धेरै छन् । उनीहरू पनि होलान् ।’ तर ती बूढा निस्तेज भए । उनीहरूसँग टिकटपथको यात्रामा लाग्ने खर्च पनि छैन । बरु हजुरसँग त्यस्ता आसामुखीहरू छन् भने मेरो यो सानो भेटले सहयोग पुग्छ । हजुर कसो गरौँ ?
अत्यन्त विनम्र, शालीन इनव्जीको प्रश्न सुनेका वरिष्ठ सहयोगीले सोधे कति छ ?
उनले अङ्क बताइदिएपछि केहीछिन मौन हुनपुगे वरिष्ठ । उनले केही गम्भीर मुद्रामा भने– मेरो मात्रै केही लाग्दैन । टिकटपथको हाकिमले अवरोध सिर्जना गर्नसक्छ । यसो गर, जति छ पाँच भाग लगाउनु र तीन भाग यहाँ छाड्नु बाँकी दुई भाग हाकिमको हातमा दिनु र भन्नु तिमीबाहेक मेरो कोही पनि छैन । उनले मेरा बारेमा सोधे भने भन्नु कुनै पनि चिनजान छैन र भेटेको पनि छैन ।
गज्जव रहेछन् वरिष्ठ । कति भलाद्मी र बाठा ? इनव्जीले यिनी निकै चतुर छन् भन्ने सुनेका थिए । तर उनी त गज्जब रहेछन् मनमनै गुन्दै इनव् आफ्नो घरतिर अन्तिम दुई भागको ब्याग जोगिएकोमा प्रसन्नतापूर्वक फर्किए ।
घरमा पुग्नासाथ टिकटपथका मुख्य हाकिमलाई टेलिफोन सम्पर्क गरेर भने– हजुर मैले उहाँलाई भेटेर बुुझाएँ । हजुरको निर्देशनअनुरूप मैले सबै कुरा मिलाएर गरेको छु ।
अर्को दिन टिकटार्थीहरूले तिरेको शुल्क, आफन्त, परिवारका सदस्य, अनि यदाकदा आफ्नो शरीरको रसास्वादन गराउने मित्र, निरन्तर दिवाराति साँझबिहान केही नभनी ढोकामा उभिएर सेवा गर्न तयार, आफ्नो पक्ष र विपक्षमा नारा जुलुस गर्नसक्ने हैसियतवालाहरूको नामका साथ टिकटपथको कार्यालयमा बैठक बस्यो । टिकटपथका मुख्य हाकिमले कुरा सुरु गरे र नामहरू वाचन गरे । त्यसमा इनव्जीको नाम परेको थिएन । वरिष्ठको पारो चढ्यो ।
उनले भने, मेरा एकजना मात्रै मानिस छन् । उनी टिकट पाउन योग्य छन् । उनको नाम समावेश नगर्ने हो भने म यी सबै नामसहित बैठकको निर्णय बहिष्कार गर्नेछु ।
टिकटपथका हाकिमले बडो शान्त स्वरमा सोधे– को हो त्यो नाम प्रस्ताव गर्नसक्नु हुनेछ । मलाई पहिले नै थाहा दिएको भए समावेश गर्न सजिलो हुने थियो ।
वरिष्ठ सहयोगीले विस्तारै भन्नुभयो– इनव्जी ।
हाकिमले सोधे– कस्ता हुन् ? तपाईंले चिन्नुभएको छ ? के योगदान गरेका हुन् र किन टिकटपथमा यात्रा गर्न चाहिरहेका हुन् ? कहिलेदेखि तपाईंसँग उनको सङ्गत छ ?
वरिष्ठले निकै भावुक हुँदै भने– ती मेरा खास मानिस हुन् । लामो समयदेखि मेरो साथमा काम गरिरहेका छन् । मेरा सहयोगी भएर उनले टिकटपथको कठिन मार्ग तय गरेका हुन् । मैले नहेरे उनका कोही पनि छैनन् । मेरा यिनै एक जना हुन् जसलाई मेरातर्फबाट टिकट दिनै पर्छ ।
हाकिम मनमनै मुसुक्क मुस्कुराए । तर प्रत्यक्षमा अलि कठोर भएझैँ भने– उनलाई टिकट दिने हो भने मेरा अरू चारजना यात्रीहरू छन्, उनीहरूलाई पनि टिकट मिलाउनुपर्छ । हुन्छ कि हुँदैन ?
वरिष्ठ सहयोगी तत्काल राजी भए । इनव्जीको टिकटपथको यात्रा सहज भयो । यो खबर सुन्नासाथ इनव्जी हाकिमको घरमा पुगर आभारसहित पुनः जरुरी मूल्य जोहो गर्ने वचन दिए । हाकिमपत्नीका लागि हार बोकेर गएका थिए ।
उनको सहयोगबिना बाँकी यात्रा सहज हुँदैन भन्ने उनले राम्ररी बुझेका छन् ।
इनव्जी अहिले मज्जासँग यात्रामा लागेका छन् । भलै गन्तव्य कहाँ पुगेर टुङ्गोमा पुग्ने हो, निश्चित भएको छैन र उनलाई थाहा पाउनुपर्ने कुनै चिन्ता पनि छैन ।
बूनपा–१०, कपन, नारायणचोक, काठमाडौँ ।