ओमसतीयाको अध्यक्षमा एमालेका यादव र उपाध्यक्षमा काँग्रेसकी चौधरी विजयी
रुपन्देहीको ओमसतीया गाउँपालिका एमालेले जितेको छ । गाउँपालिकाको अध्यक्षमा एमाले उम्मेदवार मन्जितकुमार यादव निर्वाचित हुनुभएको हो । उहाँले ४ हजार ८३१ मत प्राप्त गर्दा उहाँका प्रतिद्वन्दी राप्रपाका तिलकसिंह कोईरालाले ३ हजार १३९ मत प्राप्त गर्नुभयो ।
सुरुङ्गा नगरप्रमुखमा गीता चौधरी निर्वाचित
सप्तरीको सुरुङ्गा नगरपालिका प्रमुखमा गीता चौधरी निर्वाचित हुनुभएको छ । कांग्रेसको तर्फबाट उम्मेदर चौधरी प्रमुख पदमा र उपप्रमुखमा रुद्रबहादुर कार्की निर्वाचित भएका छन् ।
लिसंखुपाखरमा माओबादी विजयी
सिन्धुपाल्चोक, जेठ ५ गते । लिसंखुपाखर गाउँपालिकामा नेकपा (माओबादी केन्द्र) का अध्यक्ष पदका उम्मेदवार राजु लामा निर्वाचित हुनुभएको छ । त्यस्सै गरी उपध्यक्षमा भने नेकपा (एमाले) की उम्मेदवार मिठुदेवी लामा निर्वाचित हुनु भएको छ ।अध्यक्ष लामाले तीन हजार ९२५ मत ल्याउनु भएको थियो भने उहाँको निकटतम प्रतिदन्द्धी काँगे्रसका जोगलाल तामाङले तीन हजार १९ मत ल्याउनु भएको छ । एमालेका अध्यक्ष उम्मेदवार सूर्यबहादुर लामाले दुई हजार ७२७ मत ल्याउनु भएको थियो । उपाध्यक्ष निर्वाचित मिठुदेवीले तीन हजार २५१ मत र उहाँकी निकटतम प्रतिदन्द्धी एमाओबादी केन्द्रकी राममाया तामाङले तीन हजार १०६ मत र काँगे्रसकी बबिता योञ्जनले दुई हजार ८३० मत ल्याउनु भएको छ ।
काँग्रेस सभापति शाही सवार गाडी दुर्घटना, तीन जना घाइते
हरिकृष्ण ऐडी मुगु, जेठ ४ गते । काँग्रेस पार्टी मुगुका जिल्ला सभापति ऐनबहादुर शाही सवारी दुर्घटनामा पर्नुभएको छ । सोरु गाउँपालिका ६ बन्जाहा भन्ने स्थानमा शाही सवार गाडी दुर्घटनामा परेको प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिनुभयो ।उहाँकाअनुसार सभापति ऐनबहादुर शाही, कुबेरजंङ शाही र नरबिर शाही सवार गाडी दुर्घटना हुदा घाइते हुनुभएको छ । उहाँहरुलाई माउन्टेन हेलिकप्टरबाट बाँकेको कोहलपुरस्थित मेडिकल कलेजमा उपचारका लागि लगिएको छ प्रहरी नायब उपरीक्षकले जानकारी गराउनुभयो । उहाँहरु जिल्लाको सदरमुकाम गमगढीदेखि सोरु गाउँपालिकाको सदरमुकाम सोरुकोटमा जाँदैगर्दा सोरुको बन्जाहा भन्ने ठाँउमा आज गाडी दुर्घटना भएको थियो । जिल्ला सभापति शाही सवार गाडी लु १ ज १७७२ नम्बरको भएको प्रहरीले जनाएको छ ।
सन्धिखर्क नगरपालिकामा एमालेका मेयर उपमेयर विजयी
गणेश खनालअर्घाखाँची, जेठ ४ गते । सन्धिखर्क नगरपालिकाको मेयर र उपमेयर पदमा नेकपा (एमाले) का उम्मेदवार कृष्णप्रसाद श्रेष्ठ र मिश्रा आचार्यको बिजयी हुनुभएको छ । गठबन्धनका तर्फबाट काग्रेसका मेयर पदकी उम्मेदवार शान्ता भण्डारी र उपमेयरमा गठबन्धन तर्फबाट नेकपा (माओवादी केन्द्र) का राजेन्द्र भुसाल पराजित हुनुभयो । ६ स्थानीय तह रहेको जिल्लामा मालारानी गाउँपालिकामा एमालेका उम्मेदवार दलबहादुर भट्टराई, उपाध्यक्षमा दिपा प्रोखरेल, छत्रदेव गाउँपालिकामा काग्रेसका चन्द्रमान श्रेष्ठ, एमालेबाट मनि पन्थि विजयी हुनुभएको छ । त्यस्तै, छत्रदेव गाउँपालिकामा एमालेका टेकराज गैरे अध्यक्ष, उपाध्यक्षमा नर्मदा पौडेल, भुमिकास्थान नगरपालिका जनमोर्चाका झविलाल थापा र उपमेयरमा माओवादीका बालकृष्ण बजान्डे विजयी हुनुभएको छ । सितगंगा नगरपालिकामा मतगणना जारी रहेको छ ।
खैरहनी नगरपालिकामा मेयर काँग्रेस, उपमेयरमा एमाले विजयी
शालिग्राम नेपाल चितवन, जेठ ४ गते । चितवनको खैरहनी नगरपालिकामा गठवन्धनबाट नेपाली काँग्रेसका उम्मेदवार शशीकुमार खनिया निर्वाचित हुनुभएको छ । उहाँले नेकपा (एमाले) का उम्मेदवार लालमणि चौधरीलाई ८५० मतले पराजित गर्दै निर्वाचित हुनुभएको हो । खनियाले १४ हजार ५४५ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिष्पर्धी चौधरीले १३ हजार ६९५ मत प्राप्त गर्नुभयो । नगरपालिकाको उपमेयरमा एमालेका उम्मेदवार कविता उप्रेती विजयी हुनुभएको छ । उप्रेतीले १४ हजार १६४ मत प्राप्त गरी विजयी हुनुभयो । उहाँको निकटतम प्रतिष्पर्धी गठवन्धनबाट माओवादी केन्द्रका उपमेयरका उम्मेदवार लक्ष्मी ढकाल ९ हजार ६७० मत प्राप्त गर्नुभयो । खैरहनी नगरपालिका वडा १ मा काँग्रेसका नवराज भुसाल, वडा २ मा काँग्रेसका रोहीणीप्रसाद उप्रेती, वडा ३ मा काँग्रेसकै पूर्णवहादुर गुरुङ, वडा ४ मा एमालेका वेदवहादुर अधिकारी, वडा ५ मा एमालेका छत्रनाथ सुेवेदी निर्वाचित हुनुभयो ।त्यस्तै, वडा ६ मा एमालेका कमलप्रसाद न्यौपाने, वडा ७ मा एमालेका मनेजर महतो, वडा ८ मा काँग्रेसका शंकर कँडेल, वडा ९ मा एमालेका वन्धुराम महतो, वडा १० मा काँग्रेसका चन्द्रविक्रम चौधरी, वडा ११ मा एमालेका दीपेन्द्रकुमार दरै, वडा १२ मा काँग्रेसका केदारनाथ पन्त र वडा १३ मा एमालेका कुलप्रसाद भुसाल निर्वाचित हुनुभयो । यसअघि खैरहनी नगरपालिकाको मेयरमा एमालेका लालमणि चौधरी, उपमेयरमा एमालेकै सुनिता थपलिया निर्वाचित हुनुभएको थियो ।
पुनः मतदान भएको चङ्खेलीमा ८६ प्रतिशत बढी मत खस्यो
राजन रावतहुुम्ला, जेठ ४ गते । पूनः मतदान कार्य भएको चङ्खेली गाउँपालिका–२ को महादेब मावि मतदान केन्द्रमा ८६ दशमलव ३७ प्रतिशत मत खसेको छ । बिबादपछि पुनः मतदान कार्य भएको सो केन्द्रमा शान्तिपुर्ण मतदान कार्य सम्पन्न भएको हो ।बिहान ७ बजेबाट सुुरु भएको मतदान कार्यमा मतदाताको उत्साहपुर्वक सहभागिता जनाउँदै मतदान कार्य सम्पन्न भएको छ । प्रमुुख जिल्ला अधिकारी सीता परियारकाअनुुसार पूनः मतदान भएको महादेब मावि मतदान केन्द्रमा ७८० मत खसेको छ । मतदाताको उलेख्य सहभागिता रहेको उहाँले बताउनुभयो । मतदान कार्य ६ बजेर ४० मिनेट जाँदासम्म भएको उहाँले बताउनुुभयो । कुुल खसेको मतमा ३९५ पुुरुष र ३८५ महिलाले मतदान गर्नुभएको छ । मतदान कार्य बेलुुका ५ बजेसम्म हुनुुपर्नेमा मतदाताहरु सो समयभित्र मतदानस्थलमा प्रवेश गरेकाकारण समय लम्बिएको छ ।उक्त मतदान केन्द्रमा ९०३ जना मतदाता रहनुुभएको छ । बैशाख ३० गते मतदानमा ३९० जनाले मात्र मत खसेको थियो । कम मत खसेको भन्दै गठबन्धन दलहरुले पुनः मतदान गर्नुपर्ने माग गरेका थिए । त्यसपछि निर्वाचन आयोग पुनः मतदान गर्ने निष्कर्षमा पुुगेको थियो । सो मतदान केन्द्रमा सुुरक्षा ब्यवस्था कडा पारिएको थियो । मतदान कार्य शान्तिपूर्ण रुपमा सम्पन्न भएको सुरक्षा निकायले जनाएको छ ।
इच्छाकामना गाउँपालिकामा एमालेका उम्मेदवार निर्वाचित
शालिग्राम नेपाल चितवन, जेठ ४ गते । चितवनको एक मात्र इच्छाकामना गाउँपालिकाको अध्यक्षमा एमालेका उम्मेदवार दानबहादुर गुरुङ र उपाध्यक्षमा एमालेकै माया सिलवाल निर्वाचित हुनु भएको छ । चण्डीभन्ज्याङका स्थायी बासिन्दा गुरुङले नेपाली कांग्रेसकी अध्यक्ष उम्मेदवार गीताकुमारी गुरुङलाई फराकिलो मत अन्तरले पछाडि पार्दै विजयी हुनुभएको हो ।एमालेका दानबहादुरले छ हजार ११० मत ल्याउँदा कांग्रेसकी गीताकुमारीले चार हजार ६०८ मत ल्याउनुभयो । वुधबार वडा नम्बर ७ को मतगणना सकिएसँगै विजय घोषणा गरिएको छ ।सरकारी विद्यालयको प्रधानाध्यापक बनेका दानबहादुर पेन्सन पाक्न चार वर्ष मात्रै बाँकी रहँदा स्थायी जागिर छाडेर चुनावी मैदानमा उत्रनु भएको हो । एमाले निकट शिक्षक संगठन चितवनको निवर्तमान जिल्ला अध्यक्षसमेत रहनुभएका गुरुङ सो क्षेत्रमा निकै लोकप्रिय नेताका रुपमा चिनिनुहुन्छ । अध्यक्षका प्रतिस्पर्धी गीताकुमारी पनि शिक्षा क्षेत्रबाट नै राजनीतिमा आउनु भएको हो । त्यसैगरी उपाध्यक्षमा एमालेकी माया सिलवालले पाँच हजार ३४४ मत प्राप्त गर्दै विजयी हुनुभयो । मुग्लिनकी स्थायी बासिन्दा उहाँले माओवादी केन्द्रका प्रताप गुरुङलाई ३०० मतले पछााडि पार्दै निर्वाचित हुनुभयो । प्रतापले पाँच हजार ४४ मत ल्याउनुभयो । यसअघि २०७४ सालमा कांग्रेसले विजय हासिल गरेको इच्छाकामनामा अहिले एमालेले राम्रो मत ल्याएको हो । गाउँपालिकाको वडा १ को अध्यक्षमा माओवादी वडा २, ३, ४ र ५, ६ मा एमाले विजयी भएको छ । वडा नम्बर ७ मा कांग्रेसले विजय हासिल गरेको छ ।
भेरी र बारेकोटमा एमाले, छेडागाडमा काँग्रेस बिजयी
वासुदेव शर्मा जाजरकोट, जेठ ४ गते । जाजरकोटको भेरी नगरपालिकमा दोस्रो कार्यकालका लागि पुनः नेकपा (एमाले) का चन्द्रप्रकाश घर्ती निर्वाचित हुनुभएको छ । छेडागाड नगरपालिका प्रमुखमा गठबन्धनबाट नेपाली काँग्रेसका रत्नबहादुर खडका विजयी हुनुभएको छ ।त्यस्तै, बारेकोट अध्यक्षमा एमालेबाट बीरबहादुर गिरि निर्वाचित हुनुभएको छ । सत्ता गठबन्धनका उम्मेदवार गगनबहादुर खडकालाई फराकिलो मतान्तरले पराजित गर्दै उहाँ बिजयी हुनुभएको हो । अन्तिम मतगणनाको परिणामअनुसार एमालेका चन्द्रप्रकाश घर्तीले पाँच हजार २१० मत ल्याएर बिजयी हुनु भएको छ । उहाँका निकटतम प्रतिद्धन्दी माओवादी केन्द्रका गगनबहादुर खडकाले चार हजार १८८ मत प्राप्त गर्नुभएको छ । घर्तीले खडकालाई १ हजार २२ मतको अन्तरले पराजित गर्नुभयो । २०७४ सालको स्थानीय तह निर्वाचनमा काग्रेसलाई पराजित गर्दै उहाँ बिजयी हुनुभएको थियो । नगरप्रमुख र उपप्रमुख दुवै एमालेले जितेको थियो । यसपाली उपप्रमुखमा सत्ता गठबन्धनबाट काग्रेसकी सीता गौतम ६ हजार ४६८ मतका साथ बिजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्धन्दी एमालेकी साबित्रि चन्दले पाँच हजार ६०३ मत प्राप्त गर्नुभयो । यस्तै, छेडागाड नगरपालिकाको प्रमुखमा गठबन्धनको तर्फबाट काग्रेसका रत्नबहादुर खडका बिजयी हुनुभएको छ । उहाँले एमालेका लालबहादुर महतारालाई पराजित गर्दै नगरप्रमुखमा बिजयी हुनुभएको हो । खडकाले आठ हजार ६०५ मत प्राप्त गरी जिय हुनुभयो । उहाँका निकटतम प्रतिद्धन्दी एमालेका महताराले चार हजार ९१८ मत प्राप्त गर्नुभयो । महताराले २०७४ को स्थानिय तह निर्वाचनमा खडकालाई पराजित गर्दै नगर प्रमुखमा विजय हुनु भएको थियो । उपप्रमुखमा सत्ता गठबन्धनकै चन्द्रबहादुर थापा निर्वाचित हुनुभयो । थापा सात हजार ४६१ मत ल्याएर विजय हुनुभयो । उहाँका निकटतम प्रतिद्धन्दी एमालेकी अन्जु थापाले पाँच हजार ४३६ मत प्राप्त गर्नुभयो । १३ वडा रहेको छेडागाडमा काग्रेसले ४, माओबादी केन्द्रले ४, एमालेले ४, समाजवादीले १ वडामा बिजयी बनेको छ । बारेकोटमा एमालेका बीरबहादुर गिरी बिजयी हुनुभएको छ । काग्रेसका निर्बतमान अध्यक्ष महेन्द्रबहादुर शाहलाई एक सय ९ मतले पराजित गर्दै गिरी बिजयी हुनुभएको हो ।गिरीले तीन हजार ९५४ मत प्राप्त गरी बिजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्धन्द्धी काग्रेसका शाहले तीन हजार ८४५ मत प्राप्त गर्नुभयो । उपाध्यक्षमा माओवादी केन्द्रका नरबहादुर गिरी बिजयी हुनुभयो । गठबन्धनका उपाध्यक्षका उमेदवार गिरीले तीन हजार ६६३ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिद्धन्दी एमालेकी गीता सिहले तीन हजार ४०१ मत प्राप्त गर्नुभयो । भेरीमा एक उपप्रमुखसहित काग्रेस ७, माओबादी केन्द्र ४, एमालेले २ वटा वडा अध्यक्ष जितेको छ ।