• १९ असार २०८१, बुधबार

गुल्मीमा लिची उत्पादनमा कमी

blog

रुरुक्षेत्र गाउँपालिका १ थोर्गामा उत्पादन भएको लिची । तस्बिर : तिलाचन पाण्डे

तिलाचन पाण्डे

तम्घास, असार १७ गते । गुल्मीमा गत वर्षको तुलनमा यस वर्ष लिची उत्पादनमा कमी आएको छ । गत वर्षभन्दा यस वर्ष झण्डै १७ प्रतिशतले लिची उत्पादनमा कमी आएको कृषि ज्ञान केन्द्र गुल्मीले जनाएको छ ।  

यस वर्ष गुल्मीमा पाँच सय ३७ मेट्रिक टन लिची उत्पादन भएको छ भने गत वर्ष ६९७ मेट्रिक टन लिची उत्पादन भएको कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले जानकारी दिनुभयो । लिची उत्पादनको कमी हुनुमा यसवर्ष लामो खडेरी पर्नु मुख्य कारण रहेको उहाँको भनाइ छ । 

यस वर्ष एक करोड चार लाख रुपियाँको लिची उत्पादन भएको अनुमान कृषि ज्ञानकेन्द्र गुल्मीले गरेको छ । वि सं १९९१ सालमा रुरुका स्वर्गीय डिल्लीराम ज्ञवालीले भारतको कलकत्ताबाट लिचीको बिरुवा ल्याएर रोपेपछि गुल्मीमा लिची खेतीको सुरुवात भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । 

हाल रुरुक्षेत्र गाउँपालिका १ र ३ मा व्यावसायिक रुपमा खेती हुँदै आएको छ । त्यस स्थानमा १० देखि एक सय बिरुवासम्म लगाई व्यावसायिक खेती कृषकले गर्दै आएका छन् ।

 जिल्लामा एक सय ४३ जना कृषकले एक सय ८९ हेक्टर क्षेत्रफलमा लिची खेती गर्दै आएका छन् । अहिले यसक्षेत्रमा उत्पादन भएको लिची किसानले न्यूनतम प्रतिकेजी एक सय रुपियाँदेखि एक सय ५० सम्म बिक्री गर्दै आएका छन् ।

पछिल्लो समय रेसुङगा नगरपालिकाको सेउघा, सत्यवती, चन्द्रकोटका केही स्थानमा बिरुवा रोपण गर्न थालेको स्थानीयहरुले जनाएका छन् । लिची खेती विशेषगरी गर्मी हुने स्थानमा हुने गर्दछ ।