• १९ असार २०८१, बुधबार

देउवा–ओली भेट हुनासाथ सत्ता समीकरण फेरिँदैन : सांसद सापकोटा

blog

नेकपा(माओवादी केन्द्र)का सांसद माधव सापकोटा

काठमाडौँ, असार १७ गते । नेकपा(माओवादी केन्द्र)का सांसद माधव सापकोटाले प्रमुख दुई ठुला दलका शीर्ष नेताहरुबिच भेट हुनासाथ सत्ता समीकरण नफेरिने बताउनुभएको छ ।

सोमबार प्रतिनिधि सभा बैठकमा बोल्नुहुँदै सांसद सापकोटाले नेपाली कांग्रेस र नेकपा(एमाले)का शीर्ष नेताहरुको भेट हुनासाथ सत्ता समीकरण उलटफेर नहुने बताउनुभएको हो । उहाँले सत्तापक्ष र प्रतिपक्ष दलका नेताहरुका बिचमा संवाद हुनासाथ सत्ता गठबन्धन परिवर्तन नहुने बताउनुभयो । उहाँले नेताहरु भेट हुनासाथ सत्ता समीकरण बदलिने भाष्य बनाउँदा यसले स्थिरताको मानसिकता नदिने बताउनुभयो ।

‘‘दुई दिनका राजनीतिक घटनाक्रम र समाचारहरुलाई नजिकबाट नियाल्यौँ भने अहिले सिङ्गै राजनीति तरङ्गित भएको छ । एउटा दलका नेता र अर्को दलका नेता अथवा सत्तापक्षको दलका नेता र प्रतिपक्षका दलका नेताका बिचमा संवाद हुँदा वित्तिकै सत्ता गठबन्धनमा उलटफेर आउने भयो भनेर ठुला–ठुला ब्यानर न्यूजहरु हामीले पढ्न पाउछौँ ।,’’ सांसद सापकोटाले भन्नुभयो, ‘‘मलाई त्यस्तो के लाग्दैन भने तुरुन्तै दुईजना नेताहरु बस्न वित्तिकै पुरै सत्ताको समीकरण उलटफेर हुने । सत्ताको समीकरण नै बदलिने त्यस्तो परिस्थितिका रुपमा हाम्रो जे भाष्य बनाउने, विश्लेषण बिना नै निष्कर्षमा पुग्ने जे परिपाटी छ । यसले समग्र समाजमा स्थिरताको मानसिकता दिँदैन । त्यसमा सत्यता छ मलाई त्यस्तो पनि लाग्दैन । तरपनि राजनीतिक दलका नेताहरुका बिचमा संवाद हुने कुरा सकारात्मक हो र राम्रो हो ।’’

सांसद सापकोटाले शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउनुपर्नेमा सबै राजनीतिक दललाई ध्यानाकर्षण गराउनुभयो ।