हरिवन प्रमुखमा माओवादी विजयी
जिल्लाको हरिवन नगरपालिकाको नगरप्रमुखमा नेकपा (माओवादी केन्द्र)का रमेश बुढाथोकी विजयी हुनुभएको छ ।
हुम्लाको चङ्खेलीमा स्वतन्त्र उम्मेदवार शाही विजयी
जिल्लाकाे चङ्खेली गाउँपालिकाको अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार प्यारीलाल शाही विजयी हुनुभएको छ । उहाँले गठबन्धन तर्फ नेकपा(माओवादी केन्द्र)का उम्मेदवार गोबिन्द शाहीलाई पाँच सय बढी मतान्तरले पराजित गर्दै अध्यक्षमा निर्वाचित हुनुभएको छ ।
मुसीकोटमा काँग्रेस विजयी
जिल्लाको मुसिकोट नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका महेन्द्र केसी र उपप्रमुखमा नेकपा (एकिकृत समाजवादी) का विमल कुमार पुन विजयी हुनुभएको छ ।
गोरखाको सिरानचोक गाउँपालिकामा पुनः कांग्रेस विजयी
सिरानचोक गाउँपालिकामा पुनः नेपाली कांग्रेस विजयी भएको छ । अध्यक्षका उम्मेदवार ज्ञानेन्द्र गुरुङ ५ हजार ४०३ मतका विजयी बन्नु भएको हो । उहाँका निकतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका नवराज पुडासैनीले ४ हजार १६८ मत ल्याउनु भएको छ ।
खोलामा डुबेर एक जनाको मृत्यू
रेखीराम रानापाल्पा, जेठ ५ गते । तिनाउ खोलामा डुबेर एक जना पुरुषको मृत्यु भएको छ । बिहीबार दिउँशो ३ बजेतिर तिनाउ गाउँपालिका–३, स्थित तिनाउ खोलामा फोटो खिच्दै पौडी खेल्ने क्रममा डुबेर रुपन्देही जिल्ला सिद्धार्थनगर नगरपालिका–१० का ३६ वर्षीय कयम अलीको मृत्यु भएको हो । साथीहरूसँगै पौडी खेल्ने क्रममा अचानक खोलामा बेपत्ता भएका अलीलाई प्रहरीको सहायताबाट खोजतलास गरेर भेटिएपछि उपचारका लागि लुम्विनी प्रादेशिक अस्पताल बुटवलमा लगिएको थियो । अस्पतालका चिकित्सकले अलीको मृत्यु भएको घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । घटनाको बारेमा थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो ।
रामधुनी नगरपालिकामा एमालेका उम्मेदवार विजयी
जयकृष्ण यादव इनरुवा, जेठ ५ गते । सनुसरीको रामधुनी नगरपालिकाको प्रमुखमा शंकरलाल चौधरी निर्वाचित हुनुभएको छ । स्थानीय तह निर्वाचनको मतपरिणामअनुसार एमालेका उम्मेदबार रामधुनी नगरपालिकाको प्रमुखमा शंकरलाल चौधरी र उपप्रमुख तारा थापा निर्वाचित हुनुभएको हो ।चौधरीले १३ हजार ७७२ मतसहित विजयी हुनुभयो । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका सुदिप अधिकारीले ११ हजार ४३५ मत ल्याई पराजित हुनुभयो । उपप्रमुखमा एमालेकै थापाले १२ हजार १२८ मतसहित विजयी हुनुभयो । काँग्रेसका उम्मेदबारले १० हजार ४९३ मत ल्याई पराजीत हुनुभयो । रामधुनी नगरपालिकाको वडा नम्बर १, ५, ६ को वडा अध्यक्षमा काँग्रेस र वडा नम्बर २, ३, ७ र ८ को वडा अध्यक्षमा एमाले र वडा नम्बर ९ को वडा अध्यक्षमा नेकपा एसका उम्मेदबार चिर्वाचित हुनुभएको छ ।
सुरूङगा नगरपालिका प्रमुखमा चौधरी विजयी
ललिता साहवोदेवर्साइन (सप्तरी), जेठ ५ गते । सप्तरीमा पहिलोपटक नगरपालिका प्रमुखमा महिला उम्मेदवार विजयी हुनुभएको छ । स्थानीय तह निर्वाचन अन्तर्गत विहीवार आएको परिणामअनुसार सुरूङगा नगरपालिका प्रमुखमा नेपाली काँग्रेसकी गीता चौधरीले जित हात पार्नुभएको हो । चौधरी सात हजार दुई सय ९२ मत ल्याउँदा एकीकृत समाजवादीका रामनारायण चौधरीले चार हजार, एक सय १७ र जनता समाजवादीका साबीर अलीले तीन हजार छ सय ६८ मत मात्र ल्याउनुभयो । नगर उपप्रमुखमा नेकपा एमालेका सलीमकुमारी पासवान, माओवादी केन्द्रका शिवकुमार राम र एकीकृत समाजवादीका सुनिताकुमारी मुखियालाई हराउँदै कांग्रेसका रुद्रबहादुर कार्की निर्वाचित हुनुभयो । कार्कीले ६ हजार दुई सय ७५ मत ल्याउँदा एमालेकी पासवानले दुई हजार एक सय तीन, माओवादी केन्द्रका रामले दुई हजार चार सय ६७ र एकीकृत समाजवादीकी सुनीता कुमारी मुखियाले तीन हजार नौ सय ९८ मत ल्याउनुभयो । योसँगै सप्तरीको इतिहासमा पहिलो महिला प्रमुख चौधरी पहिलो बन्नुभएको छ ।
वीरेन्द्रनगरको प्रमुख र उपप्रमुख दुवैमा एमालेका उम्मेदवार विजयी
मुना हमालसुर्खेत, जेठ ५ गते । वीरेन्द्रनगर नगरपालिकाको प्रमुख र उपप्रमुख दुवैमा एमालेका उम्मेदवार विजयी हुनुभएको छ । नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धनलाई हराउँदै एमालेका उम्मेदवार विजयी हुनुभएको हो । नगर प्रमुखमा एमालेका मोहनमाया ढकाल (भण्डारी) र उपप्रमुखमा निलकण्ठ खनाल विजयी हुनुभएको छ । प्रमुखमा ढकालले १६ हजार ३८ मत ल्याउँदा उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका उपेन्द्रबहादुर खड्काले १५ हजार ४८४ मत ल्याएर पराजित हुनुभयो । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार उपप्रमुखमा निलकण्ठ खनालले २० हजार ३६४ मत ल्याएर विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रकी शान्ति ढकालले ११ हजार ५३३ मत ल्याएर पराजित हुनुभयो । एमालेले यस पटक वीरेन्द्रनगरमा काँग्रेसको गढ भत्काउँदै विजयी हासिल गरेको छ । एमालेले अघिल्लो निर्वाचनमा प्रमुखमा हारेको थियो । प्रमुख ढकाल अघिल्लो निर्वाचनमा उपप्रमुखमा निर्वाचित हुनुभएको थियो । यसपटक उहाँलाई एमालेले प्रमुखको उम्मेदवार बनाएको थियो । यसपटक गठबन्धनलाई हराउँदै नगरको १६ वडामध्ये ११ वटा वडासहित प्रमुख र उपप्रमुखमा एमालेले जितेको छ । काँग्रेसले पाँच वटा वडा जितेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार वडा नं २ मा एमालेबाट गजबहादुर बुढा, वडा ३ मा विनोदसिंह विष्ट, वडा नं ४ मा शेरबहादुर के सी, वडा नं ५ मा लोकवहादुर शाही विजयी हुनुभएको छ । यस्तै, एमालेबाट वडा नं ८ मा टीकाराम शर्मा, वडा नं ९ मा ऋषि गिरी, वडा नं १० मा डिलबहादुर रखाल, वडा नं ११ मा खिमलाल देवकोटा, वडा नं १२ मा चुडामणि चपाई, वडा नं १४ मा देवबहादुर रोकाय र वडा नं १६ मा डण्डबहादुर विश्वकर्मा विजयी हुनुभएको छ । सोहीअनुसार वडा नं १ मा काँग्रेसका दिनेश खत्री, वडा नं ६ मा जनकबहादुर रावल, वडा नं ७ मा ध्रुव कुमार चपाई, वडा नं १३ मा दीपेन्द्रराज कोइराला र वडा नं १५ मा कृष्णबहादुर थापा विजयी हुनुभएको छ ।
सिरानचोक गाउँपालिकाको अध्यक्षमा गुरुङ, उपाध्यक्षमा देवकोटा
नरेन्द्र ढकालगोरखा, जेठ ५ गते । सिरानचोक गाउँपालिकामा पुनः नेपाली कांगे्रस बिजयी भएको छ । अध्यक्षका उम्मेदवार ज्ञानेन्द्र गुरुङ ४ हजार ६३० मतका बिजयी बन्नुभएको हो । उहाँका निकतम् प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका नवराज पुडासैनीले ३ हजार ५३५ मत ल्याउनुभयो । पुडासैनीलाई १ हजार ९५ को फराकिलो मतान्तर हराउँदै गुरुङ बिजयी बन्नुभएको सिरानचोक गाउँपालिका निर्वाचन अधिकृत डोलनाथ न्यौपानेले जानकारी दिनुभयो । वडा २ थालाजुङका निवर्तमान वडाध्यक्ष रहनुभएका गुरुङ लोकप्रिय मत ल्याएर बिजयी बन्नुभयो । ४१ वर्षे युवा गुरुङ यसअघिका वडा अध्यक्षमध्येबाट अध्यक्ष, प्रमुखमा टिकट पाउने एकमात्र व्यक्ति हुनुहुन्छ । स्नात्तोतर गर्नु भएका उहाँ राम्रा योजनाकार समेत मानिनुहुन्छ । नेकपा (एमाले) बाट अध्यक्षका प्रत्यासी देबराज श्रेष्ठले १ हजार ५४५ मत ल्याउनु भएको छ । यसैगरी जनता समाजवादी पार्टीका चित्रबहादुर गुरुङले ४८६, राष्ट्रिय प्रजातन्त्र पार्टीका जयप्रकाश बगालेले १२८, मंगोल नेशनल अर्गनाइजेसनका यमबहादुर गुरुङ, ८९ र राष्ट्रिय नागरिक पार्टीका सन्तबहादुर बिश्वकर्माले १० मत पाउनुभयो । त्यसैगरी उपप्रमुखमा पनि कांग्रेसका उम्मेदवार रीता देबकोटा बिजयी हुनुभएको छ । ४ हजार १ सय ४ मत ल्याएर उहाँ बिजयी हुनुभयो । उहाँका निकटम् प्रतिस्पर्धी माओवादी केन्द्रकी उम्मेदवार पूर्णकुमारी ढकालले ३ हजार २ सय ४६ मत ल्याएर पराजित हुनुभयो । यसअघि पनि उपाध्यक्ष रहनु भएकी उहाँ दोस्रो कार्यकालका लागि निर्वाचित हुनभयो । एमालेकी शशिकला देवकोटाले १ हजार ८४४, जनता समाजवादी पार्टीकी शोभा सुनारले ६५२, मंगोल नेशनल अर्गनाइजेसनकी पञ्चमायाँ गुरुङले १७५, राष्ट्रिय प्रजातन्त्र पार्टीकी सीता पोखरेलले १४४ र राष्ट्रिय नागरिक पार्टीकी दिपमायाँ बिकले २५ मत ल्याउनुभयो । ८ वटा वडामा रहेको सिरानचोक गाउँपालिकामा वडा नं. १, २, ३, ४, ८ गरी ५ वटा वडामा कांग्रेस बिजयी भएको छ । वडा ५, ६, ७ मा माओवादी केन्द्रले जित हासिल गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।