यारी सोलार मिनीग्रीडको काम अन्तिम चरणमा
बिद्युत सेवा नभएको उत्तरी नाम्खा गाउँपालिका–५ को यारीमा सोलार मिनीग्रीडको निर्माण कार्य अन्तिम चरणमा पुुगेको छ । ५० किलोवाट क्षमता उक्त योजना जेठ अन्तिमसम्म उक्त मिनीग्रीडबाट बिद्युत उत्पादन गर्ने भएपछि कामलाई तिब्रता दिईएको हो ।
लम्कीचुहाको प्रमुख र उपप्रमुखमा महिला उम्मेदवार विजयी
लम्कीचुहा नगरपालिको प्रमुखमा सुशीला शाही र उपप्रमुखमा जुना चौधरी विजयी हुनुभएको छ ।
हावाहुरीबाट तीनको मृत्यु : आन्तरिक उडान अवरुद्ध
शुक्रबार साँझ आएको हावाहुरीमा परी चितवनमा तीन जनाको मृत्यु भएको छ । यता राजधानीमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार दस वटाभन्दा बढी आन्तरिक उडान अवरुद्ध भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीका अनुसार चितवन महानगरपालिकाको वडा नं. ११, भोजाडमा अटोरिक्सा च्यापिँदा चालक प्रदीप लामा र एक महिलाको मृत्यु भएको छ । बसेनीमा म्याजिक भ्यान च्याँपिदा लोकनाथ न्यौपानेको मृत्यु भएको छ । हावाहुरीका कारण नारायणी पुलमा ट्रक पल्टिँदा दुई जना घाइते भएको प्रहरीले जनाएको छ ।
धनुषामा १२ पालिकाको मत सार्वजनिक, ६ पालिका बाँकी
लक्ष्मी चौधरीजनकपुरधाम, जेठ ६ गते । स्थानीय तह निर्वाचन अन्तर्गत धनुषाको १८ मध्ये १२ वटा पालिकाको मतपरिणाम सार्वजनिक भएको छ । अहिलोसम्म जिल्लाको विदेह नगरपालिका, शहीदनगर नगरपालिका, कमला नगरपालिका, धनुषाधाम नगरपालिकाका, नगराईन नगरपालिका, मितिला नगरपालिका, लक्ष्मिनिया गाउँपालिका, औरही गाउँपालिका, धनौजी गाउँपालिका, जनकनन्दिनी गाउँपालिका, मुखियापट्टी मुसहरनिया गाउँपालिका र बटेश्वर गाउँपालिका परिणाम सार्वजनिक भएको हो ।धनुषाको १८ पालिकामध्ये पाँचवटा पालिकामा नेपाली काँग्रेस, तीनवटा पालिकामा जसपा दुईवटामा नेकपा एमालेका उम्मेदवार निर्वार्चित हुनुभएको छ । विदेह नगरपालिकाको नगरप्रमुखमा दोस्रो कार्यकालका लागि बेचन दास तत्मा निर्वाचित हुनुभएको छ । एमालेका उम्मेदवार दासले ४ हजार ४१२ मत प्राप्त गरी पालिका प्रमुखमा निर्वाचित हुनुभयो । प्रमुख दास यसअघि २०७४ को निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट प्रमुख पदमा निर्वाचित हुनुभएको थियो । शहिदनगर नगरपालिका प्रमुखमा जनता समाजवादी पार्टीका उम्मेदवार र उपप्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार निर्वाचित हुनुभएको छ ।प्रमुखमा जसपाका दिनेशप्रसाद यादव निर्वाचित हुनुभएको छ । उहाँले ५ हजार ७४३ मत प्राप्त गर्नुभएको छ । उपप्रमुखमा कांग्रेसकी सुनिताकुमारी सिंह निर्वाचित हुनुभएको छ । उहाँले ४ हजार ९३१ मत प्राप्त गर्नुभएको छ । यस्तै कमला नगरपालिका प्रमुख र उपप्रमुखमा काँग्रेसका उम्मेदवार निर्वाचित हुनुभएको छ ।विशेश्वर यादव ३ हजार ८८७ मत ल्याएर निर्वाचित हुनुभयो । उपप्रमुखमा काँग्रेसकै शिलादेवी मण्डल पुनः निर्वाचित हुनुभयो । उहाँले ३ हजार ८८७ मत हाँसिल गर्नुभयो । ययअघि पनि कमलामा काँग्रेसकै जनप्रतिधि निर्वाचित हुनुभएको थियो । यस्तै, धनुषाधाम नगरपालिका प्रमुखमा भने निवर्तमान प्रमुख र उपप्रमुख निर्वाचित हुनुभएको छ । प्रमुखमा बालेश्वर मण्डल पुनः निर्वाचित हुनुभयो । उहाँले ४ हजार ७१८ मत प्राप्त गर्नुभएको छ । यस्तै उपप्रमुखमा काँग्रेसकै विद्यादेवी भुजेल ४ हजार १२५ मत प्राप्त गरी निर्वाचित हुनुभयो । यस्तैै, काँग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिको गृहपालिकामा पालिका प्रमुखमा काँग्रसेका उम्मेदवार विनयकुमार यादव निर्वाचिन हुनुभएको छ । उपप्रमुखमा एमालेकी राधादेवी यादव निर्वाचित हुनुभएको छ । प्रमुखमा निर्वाचित यादवले ५ हजार ५५६ मत पाउनुभएको छ भने उपप्रमुखमा निर्वाचित राधादेवीले ५ हजार ७३० मत प्राप्त गर्नुभएको छ । यस्तै, मिथिला बिहारी नगरपालिका प्रमुखमा काँग्रेसका महेन्द्र महतो जिवर्नचित हुनुभएको छ । उहाँले ७ हजार ३१ मत पाउनु भएको छ भने उपप्रमुखमा एमालेकी उम्मेदवार सुनिता सिंह बुढाथोकी निर्वाचित हुनुभएको छ । उहाँले ७ हजार ४१४ मत प्राप्त गर्नुभयो । यस्तै, लक्ष्मिनिया गाउँपालिकाको अध्यक्षमा काँग्रेसका भोगेन्द्र मिश्र र उपाध्यक्षमा काँग्रेसकी फूलकुमारी यादवनी निर्वाचित हुनुभयो । प्रमुख मिश्रले ३ हजार ७६५ मत प्राप्त गर्नुभएको छ भने उपप्रमुख यादवनीले ३ हजार ६२८ मत प्राप्त गर्नुभएको हो । त्यस्तै, औरही गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमालेका उम्मेदवार निर्वाचित हुनुभएको छ । अध्यक्षमा उमाशंकरप्रसाद साह निर्वाचित हुनुभएको छ । उहाँ ३ हजार ३२६ मत प्राप्त गरी अध्यक्षमा निर्वाचित हुनुभएको छ । यस्तै उपाध्यक्षमा पुनम साह २ हजार ९४९ मत ल्याएर निर्वाचित हुनुभयो । जिल्लाको पालिकामध्ये १२ पालिकाको मतपरिणाम सार्वजनिक भइसकेको र ७ नगरपालिका र एक उपमहानरपालिकाको परिणाम आउन बाँकी छ । परिणाम आउन बाँकी रहेका पालिकाहरु जनकपुरधाम उपमहानगरपालिका, सबैला नगरपालिका, क्षिरेश्वारनाथ नगरपालिका, गणेशमान चारनाथ नगरपालिका, हंसपुर नगरपालिका र मिथिला बिहारी नगरपालिका हुन् ।
नवलपुरका प्रमुख तथा अध्यक्षले लिए पद तथा गोपनीयताको शपथ
मीना कंडेलकावासोती, जेठ ६ गते । पूर्वी नवलपरासी जिल्लाको आठ वटा स्थानीय तहका नवनिर्वाचित प्रमुख तथा अध्यक्षहरुलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराइएको छ । शुक्रबार मुख्य निर्वाचन अधिकृतको कार्यालय कावासोतीमा जिल्ला न्यायाधीश अर्जुन अधिकारीले नवनिर्वाचित पालिकाका प्रमुख तथा अध्यक्षहरुलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराउनुभयो । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ९ अनुसूची २ अनुसार पालिकाका प्रमुख तथा अध्यक्षहरुलाई शपथ गराउनुभएको हो । वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा निर्वाचित भएको जिल्लाको चार वटा नगरपालिका र चार वटा गाउँपालिका प्रमुख तथा अध्यक्षहरुले शपथ लिनुभयो । सवै पालिकाका प्रमुख तथा अध्यक्षले शपथ लिएपछि शुक्रबार नै आफ्ना स्थानीय तहमा वडा अध्यक्ष तथा सदस्यहरुलाई शपथ खुवाउनुभयो । शुक्रवारदेखि नवनिर्वाचित स्थानीय तहका पदाधिकारीको कार्य सुरु भएको छ । जिल्लाको आठ वटा पालिकामध्ये दुई वटा पालिकामा नेपाली कांग्रेस र छ वटा पालिकामा नेकपा एमालेले विजयी हासिल गरेको छ । जिल्लामा पाँच दलीय गठबन्धन गरी निर्वाचनमा होमिएका भएपनि कावासोती र देवचुली नगरपालिकामा एमालेले जितेको छ । गठबन्धन गरी निर्वाचनमा होमिएको भएपनि मतदाता शिक्षामा कमी भएका कारण दुई नगरपालिकामा एमालेले विजयी हासिल गरेको छ । शपथ ग्रहण गरेपपछि नगरपालिकाको प्रतिनिधित्व गर्दै कावासोती नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख विष्णु भुषालले जनताले दिएको मतको कदर गर्दै उहाँहरुको अपेक्षाअनुसार कार्य गर्नुपर्ने बताउनुभयो । नगरको समग्र विकासका लागि चुनिएका प्रतिनिधि मात्र नभई सबैले हातेमालो गर्दै अगाडि बढ्नुपर्ने बताउनुभयो ।
एक जनालाई एमबीबीएस पढाउने गाउँपालिका अध्यक्षको घोषणा
सन्तोष राउतसोलुखुम्बु, जेठ ६ गते । दोस्रो कार्यकालका लागि पदभार ग्रहण गर्दै सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका अध्यक्ष असीम राईले आफूले पालिका अध्यक्षको हैसियतले प्राप्त गर्ने सेवा सुविधालाई चिकित्सक उत्पादनका लागि खर्च गर्ने घोषणा गर्नुभएको छ ।अघिल्लो कार्यकालमा लोकप्रिय काम गरेका कारण जनताले अर्को कार्यकालका लागि विजय गराएपछि अध्यक्ष राईले पालिकाभित्रका जेहेन्दार गरिब परिवारका विद्यार्थीमध्येबाट एमबीबीएस अध्ययनका लागि सहयोग गर्ने घोषणा गर्नुभएको हो । स्थानीयस्तरकै जनशक्तिबाट चिकित्सक उत्पादन गर्ने यस्तो निर्णयले पालिकामा अघिल्लो कार्यकालमा राईले निर्माण थालेर अन्तिमचरणमा पुगेको सुविधा सम्पन्न अस्पतालमा दक्ष चिकित्सकको व्यवस्थाका लागि सहज हुने स्थानीयको बुझाई छ ।त्यस्तै, उहाँले पालिकाबासीको सहजताका लागि वातावरणमैत्री विद्युतीय बस सञ्चालन गर्ने र त्यसकालागि ठाउँ ठाउँमा चार्जिङ स्टेशन निर्माण गर्ने अर्को महत्वकांक्षी निर्णय समेत गर्नुभएको छ । पछिल्लो समय अत्यधिक बढिरहेको पेट्रोलियम पदार्थको मूल्य र वातावरणलाई समेत प्रदूषित बनाएको भन्दै अध्यक्ष राईले अबको कार्यकालको पहिलो काम नै विद्युतीय गाडी सञ्चालनलाई जोड दिइने बताउनुभयो ।गाउँपालिकाको सबै वडा तथा टोलमा सडक विस्तार भइसकेको र केही सडकलाई आवश्यकताअनुसार स्तरोन्नति गर्दै विद्युतीय बस सञ्चालनका लागि पालिका तयार रहेको उहाँले दाबी गर्नुभयो ।
हुम्लाका नवनिर्वाचित गाउँपालिकाका अध्यक्षहरुलाई शपथ
राजन रावतहुुम्ला, जेठ ६ गते । सातमध्ये छ वटा गाउँपालिकाका नवनिर्वाचित अध्यक्षलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराइएको छ । उहाँहरुलाई मुुख्य निर्वाचन अधिकृत एवम् जिल्ला न्यायाधीश जगतबहादुुर पौडेलले शपथ खुवाउनुुभयो । मुुख्य निर्वाचन अधिकृत पौडेलले नवनिर्वाचित सातवटा गाउँपालिकाका अध्यक्षमध्ये छ जनाको पद तथा गोपनीयताको शपथ खुवाउने कार्य सम्पन्न भएको बताउनुुभयो । शुक्रबार शपथ लिनुुहुने अध्यक्षमा नाँम्खा गाउँपालिकाका प्रेम लामा, सिमकोट गाउँपालिकाका बिजय भण्डारी, खार्पुनाथका कर्णबहादुुर रावल, सर्केगार्डका ठानबहादुुर रोकाया, अदानचुुलीका मोहनबिक्रम सिंह र ताँजाकोटका लालकेश जैसी रहनुुभएको छ । निर्वाचित अध्यक्षहरुलाई प्रमाणपत्र समेत मुख्य निर्वाचन अधिकृत पौडेलले प्रदान गर्नुभयो । सो कार्य भएपछि औपचारिक रुपमा निर्वाचित अध्यक्षहरुको पदवहाली भएको छ । सो कार्यक्रममा निर्वाचित अध्यक्षहरुको तर्फबाट खार्पुनाथ गाउँपालिकाका अध्यक्ष रावलले अब नयाँ जिम्मेवारी काँधमा आएको र जनताको पक्षमा काम गर्ने प्रतबद्धता ब्यक्त गर्नुभयो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सीता परियार, संबिधान सभाका सदस्य रीता शाही, सुुरक्षा निकायका प्रमुख, नाम्खा र खार्पुनाथ गाउँपालिकाका निर्वाचन अधिकृत लगायतको उपस्थिति रहेको थियो । बिहीबार राती मात्र मतगणनाको परिणाम सार्वजनिक भएको चङ्खेली गाउँपालिकाका निर्वाचित अध्यक्ष प्यारीलाल शाही भने मौसम बिग्रेको र हेलिकोप्टरका लागि इन्धन नभएको कारण उडान नभएपछि कार्यक्रममा उपस्थित हुन सक्नुु भएन । उहाँ बिहान हेलिकोप्टरबाट सिमकोट आउने कार्यक्रम थियो । यसैबीच पद तथा गोपनीताको शपथ लिएपछि सिमकोट गाउँपालिकाका अध्यक्ष भण्डारीले पनि गाउँपालिकाका उपाध्यक्ष, वडा अध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र अन्य सदस्यलाई शपथ खुवाउनुुभयो ।
२०७४ मा पराजित खाँ अहिले विजयी
गोविन्द शर्माबाँके, जेठ ६ गते । बाँकेको जानकी गाउँपालिकामा २०७४ सालको निर्वाचनमा झिनो मतान्तरले पराजित नेपाली काङ्ग्रेसका छब्बन खाँ फराकिलो मतान्तरले अहिले विजयी हुनुभएको छ । निर्वाचन अधिकृतको कार्यालयले शुक्रबार दिउँसो सार्वजनिक गरेको अन्तिम मत परिणाम अनुसार खाँ ६ हजार ६५३ मत प्राप्त गरी अध्यक्षमा विजयी हुनुभएको छ । खाँका निकटतम प्रतिष्पर्धी नेकपा (एमाले) का हिमांशु यादवले ४ हजार ७९७ मत प्राप्त गर्नुभयो । जनता समाजवादी पार्टीका राजिवकुमार कुर्मीले दुई हजार ९३८ मत प्राप्त गर्नुभयो । खाँ २०७४ सालमा भएको निर्वाचनमा एमालेका रामनिवास यादवसँग ७४ मतले पराजित हुनुभएको थियो । यादव तीन हजार ८३ मतले विजयी हुँदा खाँले तीन हजार ९ मत पाउनुभएको थियो । अध्यक्ष यादवको निधन भएपछि एमालेले उहाँका ३१ बर्षिय छोरा हिमांशुलाई उम्मेदवार बनाएको हो ।यसैगरी उपाध्यक्षमा पनि काङ्ग्रेसका रामप्यारी यादव ६ हजार ९०९ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिष्पर्धी पूर्व कार्यवाहक अध्यक्ष एमालेका भूमिसरा धितालले तीन हजार ४५६ र माओवादी केन्द्रका रक्षाराम कुर्मीले दुई हजार २२९ मत पाउनुभयो । जानकीका ६ वडामध्ये वडा नम्बर १ र ३ मा जसपा, २ मा माओवादी केन्द्र र ४,५,६ मा काङ्ग्रेस विजयी भएको छ ।
तुलसीपुर उपमहानगरपालिकामा कांग्रेसको अग्रता
तुलसीपुर उपमहानगरपालिकामा जारी मत गणनामा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसले अग्रता लिएको छ । पछिल्लो मत परिणामअनुसार गठबन्धनको तर्फबाट नगरप्रमुख पदमा कांग्रेसका गेहेन्द्र गिरीले सात हजार ६८७ मत प्राप्त गर्नुभएको छ । नेकपा (एमाले) का टीकाराम खड्काले सात हजार ४८६ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालय तुलसीपुरले जनाएको छ ।