• १९ असार २०८१, बुधबार

२०७४ मा पराजित खाँ अहिले विजयी

blog

गोविन्द शर्मा

बाँके, जेठ ६ गते । बाँकेको जानकी गाउँपालिकामा २०७४ सालको निर्वाचनमा झिनो मतान्तरले पराजित नेपाली काङ्ग्रेसका छब्बन खाँ फराकिलो मतान्तरले अहिले विजयी हुनुभएको छ । निर्वाचन अधिकृतको कार्यालयले शुक्रबार दिउँसो सार्वजनिक गरेको अन्तिम मत परिणाम अनुसार खाँ ६ हजार ६५३ मत प्राप्त गरी अध्यक्षमा विजयी हुनुभएको छ । खाँका निकटतम प्रतिष्पर्धी नेकपा (एमाले) का हिमांशु यादवले ४ हजार ७९७ मत प्राप्त गर्नुभयो । जनता समाजवादी पार्टीका राजिवकुमार कुर्मीले दुई हजार ९३८ मत प्राप्त गर्नुभयो । 

खाँ २०७४ सालमा भएको निर्वाचनमा एमालेका रामनिवास यादवसँग ७४ मतले पराजित हुनुभएको थियो । यादव तीन हजार ८३ मतले विजयी हुँदा खाँले तीन हजार ९ मत पाउनुभएको थियो । अध्यक्ष यादवको निधन भएपछि एमालेले उहाँका ३१ बर्षिय छोरा हिमांशुलाई उम्मेदवार बनाएको हो ।

यसैगरी उपाध्यक्षमा पनि काङ्ग्रेसका रामप्यारी यादव ६ हजार ९०९ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिष्पर्धी पूर्व कार्यवाहक अध्यक्ष एमालेका भूमिसरा धितालले तीन हजार ४५६ र माओवादी केन्द्रका रक्षाराम कुर्मीले दुई हजार २२९ मत पाउनुभयो । जानकीका ६ वडामध्ये वडा नम्बर १ र ३ मा जसपा, २ मा माओवादी केन्द्र र ४,५,६ मा काङ्ग्रेस विजयी भएको छ ।